आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

सेना र नेतृत्वविरुद्ध दुष्प्रचार गर्नेलाई कारबाहीको चेतावनी

शुक्रबार, ११ वैशाख २०८३, १७ : ०७
शुक्रबार, ११ वैशाख २०८३

सारांश

  • नेपाली सेनाले आफ्नो संस्था र नेतृत्वविरुद्ध भइरहेको भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • सेनाले तथ्यहीन सामग्री फैलाउने अराजक गतिविधिमा संलग्नलाई प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ।
  • आम नागरिकलाई सेनाको आधिकारिक स्रोतबाट मात्र सूचना लिन र भ्रामक समाचारको पछि नलाग्न आग्रह गरिएको छ।

काठमाडौं । नेपाली सेनाले विगत केही समयदेखि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सेना तथा सैनिक नेतृत्वलाई जोडेर सम्प्रेषण भइरहेका सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

जङ्गी अड्डाले शुक्रबार एक अपिल जारी गर्दै सेनाको विरुद्धमा फैलाइएका तथ्यहीन र कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भन्दै यस्ता गतिविधि नगर्न र नगराउन सचेत गराएको हो।

सेना र यसको नेतृत्वलाई लिएर भइरहेका उच्छृङ्खल तथा अराजक गतिविधिहरूको नियमित निगरानी भइरहेको उल्लेख गर्दै जनसम्पर्क तथा सूचना निर्देशनालयले त्यस्ता कार्यमा संलग्न व्यक्तिहरू प्रचलित कानुनको दायरामा आउने स्पष्ट पारेको छ। 

आधारहीन र द्वेषपूर्ण समाचार तथा टिका-टिप्पणीहरूले संस्थाको मर्यादामा आँच पुऱ्याउने हुँदा त्यस्ता भ्रामक सामग्रीलाई विश्वास नगर्न समेत सेनाले सर्वसाधारणलाई आग्रह गरेको छ।

आधिकारिक सूचनाका लागि नेपाली सेनाले आफ्नै प्रेस विज्ञप्ति, आधिकारिक सामाजिक सञ्जाल र वेबसाइटलाई मात्र आधार मान्न सुझाएको छ। साथै, कुनै पनि विषयमा थप स्पष्ट हुन परेमा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयसँग समन्वय गर्न अनुरोध गरेको छ।

नेपाली सेनाको अपिल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप