विराट र देवदत्तको विस्फोटक ब्याटिङ, गुजरातलाई ५ विकेटले हराउँदै आरसीबीको पाँचौँ जित
सारांश
- इन्डियन प्रिमियर लिग २०२६ को खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ।
- विराट कोहलीले ८१ र देवदत्त पडिक्कलले ५५ रनको उत्कृष्ट पारी खेल्दै टोलीको जित सुनिश्चित गरेका छन्।
काठमाडौँ । इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गरेको छ । २०६ रनको विशाल लक्ष्य पछ्याएको आरसीबीले १८.५ ओभरमा ५ विकेट गुमाउँदै ७ बल बाँकी छँदै जित हासिल गर्यो ।
आरसीबीको जितमा विराट कोहली र देवदत्त पडिक्कलले उत्कृष्ट पारी खेले । कोहलीले ४४ बलमा ८१ रनको योगदान दिए भने पडिक्कलले २७ बलमा ५५ रनको विस्फोटक इनिङ्स खेले । त्यस्तै, अन्त्यमा क्रुनाल पाण्ड्याले १२ बलमा अविजित २३ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए । गुजरातका लागि राशिद खानले २ विकेट लिए पनि टोलीको हार टार्न सकेनन् ।
यसअघि पहिले ब्याटिङ गरेको गुजरात टाइटन्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २०५ रनको बलियो योगफल तयार पारेको थियो। गुजरातका लागि साई सुदर्शनले सानदार ब्याटिङ गर्दै ५८ बलमा १०० रनको शतकीय पारी खेलेका थिए। त्यस्तै कप्तान शुभमन गिलले ३२ र जोस बटलरले २५ रन जोडेका थिए। आरसीबीका लागि भुवनेश्वर कुमार, सुयस शर्मा र जोस हेजलवुडले १–१ विकेट लिएका थिए ।
यो जितसँगै रोयल च्यालेन्जर्स बेंगलुरुले ७ खेलबाट १० अंक जोड्दै तालिकामा आफ्नो स्थिति बलियो बनाएको छ । पराजित गुजरात टाइटन्सको भने समान ७ खेलबाट ६ अंक मात्र रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण