मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

एमनेस्टी इन्टरनेसनलको यूथ मेला पोखरामा सुरु

शनिबार, १२ वैशाख २०८३, ०० : ३०
शनिबार, १२ वैशाख २०८३

काठमाडौँ । शुक्रबारदेखि कास्कीको पोखरामा एमनेस्टी इन्टरनेसनल नेपाल (एमनेस्टी नेपाल) को यूथ मेला सुरु भएको छ । यूथ मेलाअन्तर्गत १८औँ संस्करण आजदेखि सुरु भई यही वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय यूथ मेलामा एमनेस्टी नेपालमा आबद्ध विभिन्न युवा सञ्जाल, समूह र व्यक्तिगत सदस्यताको प्रतिनिधित्व गर्दै मुलुकभरका १०० भन्दा बढी २५ वर्षमुनिका युवा सदस्यहरूले सहभागिता जनाएका एमनेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिए ।

मानवअधिकार अभियानमा युवा नेतृत्वलाई प्रोत्साहित गर्ने प्रतिबद्धताबाट निर्देशित हुँदै यस वर्षको यूथ मेला ‘जलवायु न्याय र नागरिक स्वतन्त्रता: न्यायपूर्ण भविष्यका लागि युवाको सरोकार’ भन्ने विषयवस्तुमा केन्द्रित हुने उनले बताए ।

अन्तरक्रियात्मक सत्र र कार्यशालामार्फत सहभागीले मानवअधिकारसम्बन्धी आफ्नो बुझाइलाई सुदृढ गर्ने जनाउँदै निर्देशक थपलियाले जलवायु न्याय, नागरिक स्वतन्त्रता, सङ्कुचित हुँदै गएको नागरिकस्थललगायत महत्त्वपूर्ण मुद्दाहरूका विषयमा छलफल हुनुका साथै ती विषय सम्बोधनका लागि व्यावहारिक पैरवी सीप हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युवा नेतृत्वमा गत भदौमा भएका प्रदर्शन, जलवायु सङ्कट, डिजिटल अधिकार, सङ्क्रमणकालीन न्याय र यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिका अधिकारलगायत नेपालमा विकसित हुँदै गइरहेका मानवअधिकार परिदृश्यसँग सम्बन्धित हुने आयोजकले जनाएको छ ।

यस कार्यक्रममा इरानमा जारी द्वन्द्वमा केन्द्रित हुँदै मध्यपूर्वमा चलिरहेको मानवअधिकार सङ्कटतर्फ ध्यान आकर्षित गर्ने गरी एउटा सार्वजनिक एक्सन आयोजना गरिने निर्देशक थपलियाले जानकारी दिए ।

एमनेस्टी इन्टरनेसनलको विश्वव्यापी अडानअनुरूप तयार गरिने एक्सनले गैर सैनिकहरूको सुरक्षा, अन्तर्राष्ट्रिय मानवअधिकार र मानवीय कानुनको पालना, सोको उल्लङ्घन हुन नदिन जबाफदेहिता र द्वन्द्वको बीचमा मौलिक स्वतन्त्रताको रक्षाका लागि आह्वान गर्ने उनले विश्वास व्यक्त गरे ।

सन् २००६ देखि एमनेस्टी इन्टरनेसनल नेपालले युवा अभियन्ताको शिक्षा, प्रेरणा एवं परिचालनको एउटा मञ्चको रूपमा यूथ मेलालाई आयोजना गर्दै आइरहेको छ । नेपालभरिका ५० वटा यूथ नेटवर्क र समूहबाट वार्षिक रूपमा १०० भन्दा बढी सहभागी हुने यो मेला युवा लक्षित महत्त्वपूर्ण कार्यक्रम हो । मेलामा हालसम्म एक हजार ५०० भन्दा बढी युवाले सहभागिता जनाएका एमनेस्टी नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप