इन्धन र डलरको दोहोरो मार: तरकारीको मूल्य ३०० प्रतिशतसम्म बढ्यो
सारांश
- पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ।
- कालीमाटी बजारमा केही तरकारीको मूल्यमा ३०० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ भने खाद्यान्नको मूल्य पनि बढेको छ।
- बजार नियन्त्रण गर्न विभागले अधिकतम खुद्रा बिक्री मूल्यको कार्यान्वयन र सघन बजार अनुगमन गरिने जनाएको छ।
काठमाडौँ । नेपाली उपभोक्ताका लागि गएको चैत महिना निकै कष्टकर देखिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सार्वजनिक गरेको ‘आर्थिक वर्ष २०८२/८३ को चैत महिनाको मूल्य विश्लेषण प्रतिवेदन’ले बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको देखाएको छ ।
विशेषगरी पेट्रोलियम पदार्थमा भएको निरन्तरको मूल्यवृद्धि र अमेरिकी डलरको मजबुत विनिमय दरका कारण ढुवानी र आयात महँगो हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको भान्छामा परेको विभागले जनाएको छ ।
विभागको प्रतिवेदनअनुसार चैतमा सबैभन्दा बढी मूल्यवृद्धि तरकारी बजारमा देखिएको छ । विभागले कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्य विवरणलाई आधार मान्दा केही तरकारीको मूल्यमा ३०० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ ।
विभागका अनुसार स्थानीय काउलीको मूल्यमा ३०४.७६ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी हाइब्रिड घिउ सिमीको मूल्य ३०० प्रतिशत र स्थानीय घिउ सिमीको मूल्य २६६.६७ प्रतिशतले बढेको छ ।
फर्सी र ब्रोकाउलीको मूल्यमा पनि क्रमशः २०० र १८७ प्रतिशतको वृद्धि देखिएको छ । मौसमी प्रभाव र ढुवानी खर्चमा भएको वृद्धिका कारण तरकारीको मूल्य नियन्त्रण बाहिर गएको प्रतिवेदनको निष्कर्ष छ । यद्यपि, निगुरो, च्याउ, तोफु र तामा जस्ता वस्तुको मूल्य भने स्थिर रहेको पाइएको छ ।
चैतमा इन्धनको मूल्यमा भएको भारी वृद्धि महँगीको मुख्य कारक बनेको छ । प्रतिवेदनअनुसार फागुन र चैतको अवधिमा मात्रै पेट्रोलियम पदार्थको मूल्य ६ पटक समायोजन गरिएको छ ।
चैत २६ गतेसम्म आइपुग्दा पेट्रोलको मूल्य प्रतिलिटर २१९ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य २०७ रुपैयाँ पुगेको थियो । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ थियो ।
हवाई इन्धनको मूल्यसमेत बढेर १७८५ रुपैयाँ पुगेको छ । इन्धनको यो मूल्यवृद्धिका कारण ढुवानी भाडा र उत्पादन लागत बढ्न गई बजारमा सबै खाले वस्तुको मूल्य महँगिएको विभागले जनाएको छ ।
अमेरिकी डलरको विनिमय दरमा आएको उतारचढावले पनि महँगी बढाउन भूमिका खेलेको छ । चैत १६ गते अमेरिकी डलरको खरिद दर १५१.४१ रुपैयाँ र बिक्री दर १५२.०१ रुपैयाँ पुगेर रेकर्ड कायम गरेको थियो ।
नेपालको अधिकांश खाद्यान्न र औद्योगिक कच्चा पदार्थ आयातमा निर्भर रहने भएकाले डलरको भाउ बढ्दा आयातित वस्तुहरू महँगो हुन पुगेका हुन् । प्रतिवेदनले डलरको अस्थिरताले बजारमा ‘इम्पोर्टेड इन्फ्लेसन’ (आयातित मुद्रास्फीति) सिर्जना गरेको उल्लेख गरेको छ ।
खाद्यान्नतर्फ पनि चैत महिनामा मूल्य बढेको देखिएको छ । प्रतिवेदनका अनुसार विभिन्न सहरहरूमध्ये काठमाडौँ उपत्यकामा खाद्यान्नको मूल्य तुलनात्मक रूपमा बढी छ । सोना मन्सुली चामलको औसत मूल्य प्रतिकिलो ९५ रुपैयाँ, बासमती चामल १८५ रुपैयाँ र जिरा मसिनो चामल १०२ रुपैयाँसम्म पुगेको छ । मासको दाल प्रतिकिलो १९० रुपैयाँ र मुसुरोको दाल १८५ रुपैयाँ पुगेको छ । चिनीको मूल्य प्रतिकिलो १०० रुपैयाँ कायम हुँदा तेलको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ ।
विभागले बजार मूल्य बढ्नुमा माग र आपूर्तिबिचको असन्तुलन, इन्धनको मूल्यवृद्धि, र बिचौलियाको प्रभावलाई मुख्य कारण मानेको छ । प्रतिवेदनमा भनिएको छ, ‘खाद्यान्नजन्य वस्तु उत्पादन हुने समयमा मूल्यवृद्धि घट्नुपर्नेमा उल्टै बढ्नु चिन्ताको विषय हो । यसमा बिचौलियाले गर्ने अस्वाभाविक मूल्य निर्धारणले पनि काम गरेको देखिन्छ ।’
बजार नियन्त्रण र उपभोक्ता हित संरक्षणका लागि विभागले आगामी दिनमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) को अनिवार्य कार्यान्वयन गरिने जनाएको छ । साथै सघन बजार अनुगमन, सूचना प्रविधिको प्रयोग र स्थानीय उत्पादनमा जोड दिइने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यक्रमस्थलबाटै यसरी पक्राउ परे एमाले उपाध्यक्ष पौडेल
-
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
जलवायु संकटको चक्रव्यूहमा नेपाल, इतिहासकै गम्भीर संकट
-
रास्वपा महाधिवेशन : आज निर्वाचन प्रक्रिया अघि नबढ्ने
-
२० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर नै चोरी !
-
व्यापार घाटा १५.६७ प्रतिशतले बढ्यो, १५७ मध्ये १२३ देशसँग घाटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण