शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विकासको नाममा गरिबीको व्यापार

आइतबार, १३ वैशाख २०८३, १३ : ३८
आइतबार, १३ वैशाख २०८३

यो लेख ०५३ सालमा अंग्रेजीमा लेखेकी हुँ । नेपाली इतिहास र समाजको अध्ययन भन्ने पत्रिकाको विकाससम्बन्धी विशेषाङ्कको चिनारीका रूपमा यो लेख लेखिएको हो । त्यस अङ्कमा परेका लेखहरू जलविद्युतको विकास, महिला विकास, आइएनजीओहरूद्वारा सामुदायिक विकासलाई अघि बढाउने काम, विदेशी सहयोगका असरहरू आदि कुरामा केन्द्रित थिए ।

प्रत्येक लेखले एक न एक प्रकारको बरबादीको कथा सुनाएको थियो, जहाँको पानी जफत गरेर बिजुली निकालिन्छ, त्यस भेगका जनताले बिजुली बाल्न पाउने कुरा त परै जाओस्, बरु उनीहरू झन्–झन् गरिब हुन्छन् । महिलासम्बन्धी समस्यालाई लिएर गरिने सोधखोजले खोजी गर्ने संस्थाको मात्र ‘सशक्तीकरण’ गर्छ र उनीहरूलाई नै धनी बनाउँछ । सामुदायिक विकासले समाजमा रहेका मुख्य असमानताहरूलाई हुँदै नछोइकन विष्ट–बराजुहरूको हैकमलाई झन् बलियो बनाउँछ ।

अनि करोडौँ करोडको विदेशी सहयोगको खोलोले खाली अर्काको मुख ताक्ने बनाइदिएको छ र अभिजात वर्गलाई झन्–झन् धनी बनाइदिएको छ । बितेका पाँच वर्षमा यस प्रकारका बरबादीहरू अझै थपिएका छन् ।

मैले यस लेखमा ‘विकासे’ कार्यकलापहरूबाट किन यस्ता बरबादी पैदा भएका हुन् भन्ने कुरा देखाउन खोजेकी छु । यस्ता नतिजाहरू स्वाभाविक हुन् भन्ने मेरो तर्क छ ।

किन ? के नेपाल गरिब र पिछडिएको हुनाले विकासको नाममा त्यस्ता बरबादी भएका हुन् ? विकासेहरू कुरा यस्तै हो भनेर भन्छन्, तर वास्तविक कारण अर्कै छ । त्यो के हो भने अचेल चलनचल्तीमा ल्याइएको विकास एउटा त्यस्तो कारखाना हो, जसले आफ्नो फाइदाका लागि गरिबीको व्यापार गर्छ । यसले चुपचाप र शिथिल बनाउने नियतले उनीहरूका चित्तमा अलिकता आशा जन्माउन खोज्छ र, त्यो आशा झुटो पनि हुन्छ ।

यसले थिचोमिचो गर्ने व्यवस्थाभित्र सानातिना सुधार ल्याउन कोसिस गर्छ र आफूले राम्रो काम गरेको ठान्छ, तर यी सानातिना सुधारले थिचोमिचो गर्ने व्यवस्थालाई नै बलियो बनाउँछ । यसकारण आलोचकहरू यस्ता सुधारलाई ‘सुधारवादी’ काम भन्ने गर्छन् ।

अचेल चलनचल्तीमा रहेको विकास दुई अर्थमा पुँजीवादी व्यापार हो । पहिलो, यो त्यस्तो व्यापार हो, जसले गरिबीलाई बेचेर विकासे कारखानाका लागि नाफा कमाउँछ । दोस्रो, यतिखेर यो विश्व पुँजीवादी व्यवस्थालाई जोगाउने कारखाना हो । पुँजीवादले गरिबी र धन दुवै उत्पन्न गर्छ । यो पुँजीवादको एउटा गाँठी कुरो हो । किनभने धेरै मनिसहरूलाई निचोरेर थोरै मानिसका लागि सम्पत्ति थुपारेरमात्र यो चल्न सक्छ ।

यस व्यवस्थालाई टिकाउनका लागि पुँजीवादले कङ्गाल बनाएका धेरै मानिसहरूलाई विकल्प खोज्ने कामबाट वञ्चित गर्नु जरुरी हुन्छ ।

विकासे कारखानाले अनेक उपायबाट यो काम गर्छ । जस्तो कि यसले अर्थ व्यवस्थालाई जेनतेन भरथेग गरेर सत्तामा रहेको अभिजात वर्गलाई भ्रष्ट बनाइराख्न मद्दत गर्छ र तिनलाई ‘कमिसन’ खाएर भुँडी फुलाउन मौका दिन्छ । यसले मध्यम वर्गको घेरोलाई फराकिलो बनाउँछ, जुन मध्यम वर्गले आफ्नै देशवासीहरूको गरिबीबाट राम्रो खाइजीविकाको बन्दोबस्त मिलाउन सक्छ ।

साँच्चै नै ‘गरिबी उन्मूलन’ भयो भने उनीहरूको कामधन्दा खत्तम हुन्छ । त्यसकारण यथास्थितिलाई कायम राख्ने उनीहरूको तुच्छ स्वार्थलाई बलियो पार्ने काम गरिन्छ । गरिबहरूलाई व्यक्तिगत ‘सशक्तीकरण’ र आर्थिक उन्नतिका सपना बाँडिन्छ र उनीहरूलाई माथिबाट चुहुँदै आफूसम्म आइपुगेको थोरै सुविधा हात पार्नका लागि आपसमा लुछाचुँडी गर्नुपर्ने अवस्थामा राखिन्छ ।

यसरी विकासे कारखानाले कङ्गाल पारिएका र विभाजित गरिएका जनता भएको ‘जनआधार’लाई कायम राख्न खोज्छ । पुँजीवादको अस्तित्व र उसको विस्तार यिनै कङ्गाल पारिएका र विभाजित गरिएका जनतामाथि टिकेको हुन्छ । सकस परेको समयमा जनताहरू आफ्ना काम जसरी तसरी धान्नेमात्र गर्छन् र, साँच्चै भन्ने हो भने आम जनताका निम्ति प्रायः सधैजसो सकस परेको समय नै हुन्छ ।

यस्तो स्थितिमा तिनले आफैँ समाजमा ठुल्ठुला परिवर्तन गर्ने कुरा असम्भव जस्तै लाग्न सक्छ । यद्यपि वास्तविक परिवर्तन ल्याउने कोसिस नगर्ने हो भने साह्रै सकस परेको समयमात्रै रहनेछ । एकातिर आज नै कसरी बाँच्ने होला भन्ने पूरै ध्यान दिनुपर्ने स्थिति छ भने अर्कोतिर आजका मात्र समस्यालाई ध्यान दिने हो भने भोलि जस्ताको त्यस्तै हुनेछ र पर्सि पनि ।

वास्तविक परिवर्तन ल्याउने कोसिस नगर्ने हो भने साह्रै सकस परेको समयमात्रै रहनेछ । एकातिर आज नै कसरी बाँच्ने होला भन्ने पूरै ध्यान दिनुपर्ने स्थिति छ भने अर्कोतिर आजका मात्र समस्यालाई ध्यान दिने हो भने भोलि जस्ताको त्यस्तै हुनेछ र पर्सि पनि ।

यसरी माकुराको जालोमै परेको जस्तो स्थितिमा मरीमरी काम गरिरहने जनताका सामु किसिम किसिमका मन्त्र जप्नेहरू आइपुग्छन्– पण्डित, विष्ट–बराजु, राजनीतिक दलका भोट खोज्ने कार्यकर्ता, सरकारी कर्मचारीहरू । अनि आ–आफ्ना दर्शनअनुसार आ–आफ्ना किसिमका शब्दमा एउटै कुरा भन्छन्– हामीलाई मान, सब ठिकठाक हुन्छ ।

कस्तो लाग्छ भने ती मन्त्र जप्नेहरूका स्वार्थ र उद्देश्य के हुन्छन् भन्ने बुझ्न अधिकांश जनताले आफ्ना भारी एकछिनसम्म पनि बिसाउनु पर्दैन । हुनत कुनै दिन साँच्चिकै जनपक्षमा लागेका राजनीतिककर्मीहरू त्यहाँ पुग्नेछन् र तिनको व्यवहारले नै तिनीहरूको चिनारी समेत दिनेछ, तर केही समयअघि एउटा नौलो जीव उक्त मन्त्र जप्नेहरूको लाममा आइपुगेको छ, जो अहिलेचाहिँ देशव्यापी रूपले गाउँगाउँसम्म विस्तार भइसकेको छ । त्यो जीव हो, विकासकर्मी ।

विकासकर्मीहरूका स्वार्थ र उद्देश्यहरू कसरी नाप्न सकिएला त ? व्यक्तिहरूको कुरा गर्दा यत्रो ठुलो समूहमा कोही राम्रा त कोही बदमास हुनु स्वाभाविक छ, तर व्यक्तिगत आधारमा मात्र तिनीहरूको कामलाई जाँच्न सकिँदैन । कारण के हो भने अंग्रेजीमा एउटा उखान छ, ‘नर्क जाने बाटो राम्रो मनसायले बनाइएको हुन्छ ।’ भनाइ के भने पुग्ने त एकदमै नराम्रो ठाउँमा हो, तर जाने बाटो भने राम्रै विचार राखेर बनाइएको छ ।

व्यक्ति राम्रो भए पनि उसले पुर्‍याउने त भड्खालोमै हो । विकासकर्मीहरू असल वा खराब व्यक्ति भएर तपाईंको गाउँमा आइपुग्ने होइनन् । तिनमा जे जति राम्रो वा नराम्रो मनसाय भए पनि तिनका पछाडि संस्था छन् र ती संस्था र संस्थाको उद्देश्यका वरिपरि घुम्दन् ।

कस्तो लाग्छ भने नेपालको विकासे संसारमा सधैँ नै आफ्नो किसिमको सकसपूर्ण अवस्था कायम रहने गरेको छ । गर्नुपर्ने कामहरूको लिखित सूची र प्रतिवेदनका रास दिनदिनै थपिन्छन् । जनताका आँगनमै तत्काल आउन लागेका सङ्कटहरू त्यसमा लेखिन्छन् । पूरा नभएका लक्ष्यहरूका चाङहरूले ती सबैलाई छोप्छ ।

नेपालको यस विकासे संसारलाई त्यसमा लागेर काम गरिरहेका विकासकर्मीहरू र त्यसभन्दा बाहिर रहेर त्यसलाई आलोचनात्मक रूपबाट हेरिरहेका वृद्धिजीवीहरूले फरक–फरक रूपले हेर्ने गरेका छन् । ‘काम गर्ने तौरतरिका’ वा सैद्धान्तिक कमजोरीहरू औँल्याउने आलोचकहरूलाई उनीहरूमा यथार्थवादी दृष्टिकोणको अभाव छ भनी आरोप लगाउन सकिन्छ ।

विकासकर्मीहरूका दृष्टिमा यस्ता आलोचकहरू व्यावहारिक नालीबेलीहरूको बयान गर्ने कामको भासमा जाकिएका अथवा सैद्धान्तिक चिन्तनको कुहिरोमा हराएका अव्यावहारिक मानिस लाग्न सक्छन् । यी दुवै स्थितिमा उनीहरू विकासकर्मीको दृष्टिमा सामाजिक रूपान्तरणका निमित्त ‘स्पष्ट’ मार्ग निर्देशन गर्नमा रुचि नराख्ने वा त्यसका लागि असमर्थ देखिन सक्छन् ।

विकासकर्मीका दृष्टिमा विकाससम्बन्धी आलोचनात्मक विश्लेषणहरू ‘साह्रै राम्रोमा बेकम्मा र चुत्थोमा परजीवी’ खालका लाग्छन्, जसले जरुरी आवश्यकता पूरा गर्ने मनशाय भएका कामहरूलाई अध्ययनका लागि प्रयोग त गर्छन्, तर त्यस्ता प्रयत्नहरूलाई सहयोग भने कति पनि पुयाउँदैनन् ।

नेपालको विकासे संसारमा सधैँ नै आफ्नो किसिमको सकसपूर्ण अवस्था कायम रहने गरेको छ । गर्नुपर्ने कामहरूको लिखित सूची र प्रतिवेदनका रास दिनदिनै थपिन्छन् । जनताका आँगनमै तत्काल आउन लागेका सङ्कटहरू त्यसमा लेखिन्छन् । पूरा नभएका लक्ष्यहरूका चाङहरूले ती सबैलाई छोप्छ ।

अर्कातिर आलोचकहरूका दृष्टिमा विकासकर्मीहरू चाहिँ हाटहुटे तरिकाले सतही सर्वेक्षण गर्ने भाडाका टट्टुजस्ता देखिन सक्छन्, जुन सर्वेक्षणहरूका आधारमा प्रमुख सामाजिक हस्तक्षेपहरू गर्ने लक्ष्य राखिएको हुन्छ । यस प्रकारका अनुसन्धान र यिनको नतिजास्वरूप बन्ने सामाजिक कार्यक्रमहरू तिनले लेखाजोखा र परिवर्तन गर्न खोजेको यथार्थबारे एकदमै ज्ञान नभएजस्ता देखिन सक्छन् ।

आलोचकहरूका दृष्टिमा विकाससम्बन्धी अध्ययन र आयोजनाहरू साह्रै राम्रोमा अगतिलो किसिमले ढाँचा निर्माण गरिएका चुत्थोमा अनैतिक खालका लाग्न सक्छन्, जसले गरिबी र आवश्यकताहरूलाई घटाउनुको सट्टा तिनका जरामा मलजल हाल्ने काम नै गर्ने गर्छन् ।

विकास वास्तवमा जनजीवनको उत्थानका लागि हुने हो भने विकासे संस्कृति स्वयंले निरन्तर रूपबाट आत्मविकासको दिशामा अघि बढ्नु पर्छ । यही विचार लिएर विकासे कारखानाका यी भित्री र बाहिरी पक्षबिचको अनुत्पादक स्थितिबाट निस्केर अगाडि बढ्नु पर्छ भन्ने मनशायले नै मैले यो लेख लेख्ने प्रयास गर्न खोजेकी हुँ ।

जटिल सामाजिक संरचनाहरूलाई न त पूर्ण रूपमा भित्रबाट न त पूर्ण रूपमा बाहिरबाट नै बुझ्न सकिन्छ । हामी यी दुईको भिन्नभिन्न दृष्टिकोण बुझ्ने मानसिक प्रयासबाट नै बढी जानकारी हासिल गर्न सक्छौँ । यस प्रकारको प्रयास केवल बौद्धिक कसरत मात्र चाहिँ होइन ।

मानिसहरू विकासको फल कहिले पाक्ला र खाउँला भनेर बाटो हेर्दै दिनदिनै मर्ने गर्छन्, अनि प्रायःजसो विकासको फल आइपुगेपछि त्यस फलको बालीकै सिकार हुने गर्छन् । विकासवालहरूले आफैँ यी हताशाजनक स्थितिहरूको पहिलो प्रकरण औँल्याउनको निमित्त तथ्याङ्कहरूको चाङ उपलब्ध गराउँछन् । अनि थप विकासे कार्यकलापहरू आवश्यक भएको कुरा औँल्याउछन् । दोस्रो प्रकरणबारे चाहिँ उनीहरू चुपचाप रहन्छन् । अनुसन्धान कार्यमा संलग्न रहेको बखतमा नन्द श्रेष्ठका अगाडि औँलो ठड्याउँदै तराईका एकजना किसानले ‘म विकासको सिकार भएँ हजुर, मलाई मद्दत गर्नोस्’ भनेजस्ता कुराबारे चाहिँ हामी कमै सुन्न पाउँछौँ ।

सबैभन्दा सैद्धान्तिक ग्रन्थदेखि लिएर मूल्याङ्कन प्रतिवेदनका व्यावहारिक भाषासम्मका विकासे वार्ताहरू विकासको प्राप्तकर्ता वा लक्षित मानिसका असल खराब वा उदासीनतापूर्ण अनुभवहरूप्रति विकासे बुद्धिजीवी र विकासकर्मीहरू दुवैथरीले सजिलै आँखा चिम्लिने गरेका छन् ।

विकासका उपभोक्ताहरू मूलतः न त उनीहरू आफैँद्वारा छनोट गरिएका हुन्छन्, न त उनीहरूका सामु आइलाग्ने विकास आयोजनाहरू र कार्यक्रमहरूबारे प्रायः उनीहरूले केही बोल्ने मौका नै पाउँछन् । अनि त्यस्ता आयोजना र कार्यक्रमहरूको जे जसरी बयान गरिएको हुन्छ, त्यसमा उनीहरूको रायले एकरत्ति पनि ठाउँ पाउँदैन । विकासे संसारको यस स्थितिमा निकट भविष्यमा परिवर्तन आउने सम्भावना देखिँदैन ।

त्यसैले विकासको नाममा र ‘जनता’ को नाममा जे जे भन्ने र गर्ने गरिएको छ, त्यसको मिहिन पाराले जाँच गर्नु जरुरी छ । जुन स्रोतहरू मार्फत् विकासे रकम प्रवाहित हुन्छ र जसका शब्दहरूद्वारा विकास के हो भन्ने परिभाषित हुने गर्छ, उनीहरूको मूलभूत दायित्व आफ्ना विश्वास र व्यवहारहरूको निरन्तर रूपबाट जाँच हुनुपर्ने थियो, जुन हुँदैन ।

अनि सामाजिक यथार्थहरूलाई प्रस्तुत गर्नु, सामाजिक परिवर्तनका उपायहरूको तर्जुमा गर्नु विकासको नाममा के गरिँदैछ भन्ने कुराको निरन्तर रूपबाट जाँच गर्नु । त्यहाँभित्र भइरहेका खराब कुराहरू र स्रोतहरूको दुरुपयोगको लेखाजोखा गर्नु र वैज्ञानिकताको छाप ठोकेर यी दुवै आलोचकहरूको मूलभूत जिम्मेवारी हुनुपर्ने हो, यो पनि भइरहेको छैन ।

हैन, के हो त यो विकास भनेको ? उत्तर थुप्रै छन्, तर ती सबै एकनासका छन् । जस्तो कि विकास सामाजिक उत्थान, कल्याण तथा उत्पादकत्वमा वृद्धि, आधुनिकीकरण, सशक्तीकरण आदि आदि । सारांशमा विकास भनेको जाती कुरा हो । त्यसकारण यस्तो विकास बढी गाउँमा धेरै मात्रामा हुनु जरुरी छ । यसरी आम र सकारात्मक पदावलीमा विकासलाई परिभाषित गर्दा अथवा अझ ठोस रूपले स्वास्थ्य, वातावरण तथा रोजगारीका अवस्थाहरूको अझ राम्रो स्थिति, शैक्षिक अवसर आदि इत्यादि भनी यसलाई परिभाषित गर्दा यस सम्बन्धमा सहमत नहुने मानिस कमैमात्र फेला पर्लान् ।

तर विकासे संसारले गर्न खोजेको विकास ठ्याक्कै त्यस्तो छैन । यो त एक कारखानाको रूपमा, बहुराष्ट्रिय कारखाना र नेपालको सबभन्दा ठुलो कारखानाको रूपमा आएको छ । हामीले त यस विकासलाई एक पुँजीवादी उद्योगका रूपमा, एक राष्ट्रको सीमापार गरी अरू राष्ट्रसम्म फैलने पुँजीवादी उद्योग तथा विश्वव्यापी पुँजीवादीको धन वैभव तथा क्रूरता दुवैलाई नेपालमा भित्र्याउने प्रमुख क्षेत्रका रूपमा परिभाषित गर्नुपर्ने हुन्छ ।

यस दृष्टिबाट हेर्दा विकास सम्बन्धमा गरिएका प्रयासका फूलबुट्टाहरू र यथार्थबिचका खाडलहरूका सम्बन्धमा र नेपालमा सन् १९५० को दशक (राणाकालको अन्त) देखि सुरु भएको विकास प्रक्रियाले आफ्ना बाचा पूरा गर्न विफल भएको विषयमा गरिने चर्का विलापबारे अलि राम्ररी सुझबुझ प्राप्त गर्न सकिन्छ ।

यसरी परिभाषित गरेको खण्डमा हामी विकासे संसारमा जुटेका थुप्रै विकासकर्मीबिचका भेद खुट्याउन थाल्नेछौँ र निरन्तर रूपबाट नयाँ नयाँ शब्दहरू र कार्ययोजनाहरूको निर्माण हुँदाहुँदै पनि सामाजिक उत्थान र सुअवसर जुटाउन ‘सकारात्मक परिभाषाहरू’ को सापेक्षतामा विकासे अभ्यासको क्षेत्रमा जरुवा खालका र महामारीजस्ता समस्या किन रहिरहेका हुन् भन्ने कुरा देख्न थाल्नेछौँ ।

कहिलेकाहीँ विकासे कारखानाभित्रबाट विकाससम्बन्धी आलोचनाहरूलाई विकासकर्मीहरूका ठोस सरोकारहरूदेखि टाढा रहेकोमात्र होइन, विकासप्रति वैरभाव राख्ने प्रकृतिका समेत पनि ठान्ने गरिन्छ, तर हाल प्रचलित विकाससम्बन्धी कठोरभन्दा कठोर आलोचना समेत पनि मानिसको आयु दर बढाउने, शिक्षालाई बढी मानिसहरूको पहुँचभित्र पुर्‍याउने, बढी स्वस्थ वातावरण निर्माण गर्ने वा विकाससम्बन्धी अन्य आम सार्वजनिक उद्देश्यहरूका विपरीत रहेका भने छैनन् ।

तर विकासको संरचनाले नै ती कुरा जनतामा पुर्‍याउनै सक्दैन । विकासे कारखानाको कठोर आलोचना हुनुको खास कारण के हो भने राष्ट्रभरि फैलने पुँजीवादी कारखानाका रूपमा विकासको कारखानाका सङ्गठनात्मक ढाँचाहरूले सामाजिक समानता र जनताको जीवनस्तरमा सुधार ल्याउनेजस्ता आफ्ना सार्वजनिक लक्ष्य विपरीत काम गर्छन् ।

यस कोणबाट हेर्दा माथि ‘सकारात्मक’ र आम अर्थहरूमा परिभाषित गरिएको विकास अरू नै उद्देश्यहरूका लागि निर्माण गरिएको पुँजीवादी यन्त्रको अनौठो सहउत्पादन हो । कुनै पनि पुँजीवादी उद्योगजस्तै विकासे कारखाना पनि नाफा पैदा गर्ने धन्दामा र आफ्नै प्राण धान्नलाई सुनिश्चित तुल्याउने काममा लागि परेको छ । अनि कुनै पनि पुँजीवादी कारखानाका जस्तै यी लक्ष्यहरूबाट प्राप्त हुने फलका रूपमा सामाजिक असमानता नै फेरि उत्पादन हुने गर्छ ।

विकासे कारखानाले आफूलाई सामाजिक कल्याणको भेषमा प्रस्तुत गर्ने हुनाले अर्थात् व्यापारको रूप लिनुको सट्टा विदेशीका हातबाट सुरु गरिँदा यसले गरिब राष्ट्रहरूलाई सहयोगको भेष धारण गर्छ र नेपालीका हातबाट सुरु गरिँदा भने व्यापारको रूपमा नभई आत्मसुधारको भेष धारण गर्छ । यसका प्रशंसामा गरिने फूलबुट्टा र यसको नाफाबिचका खाडलहरू अरू थुप्रै पुँजीवादी उद्योगहरूका खाडलभन्दा पनि फराकिला हुन्छन् ।

विकासे कारखानाभित्र यसको प्रकृतिविरुद्ध सङ्घर्ष गरिरहेका नेपालीहरू नभएका होइनन् । कतिपय नेपाली के कुरामा विश्वास गर्छन् भने विकासे यन्त्र बिग्रेको मात्र हो । यसलाई मर्मत गर्न नयाँ पार्टपुर्जा भए पुग्छ, ती पार्टपुर्जा चाहे बाहिरबाट झिकाइएका होऊन् वा स्वदेशमै बनाइएका होऊन्, तर अरू केही मानिसहरू चाहिँ विकासे यन्त्र बिग्रेको पटक्कै होइन र यसबाट स्पष्ट रूपमा जे कुरा प्राप्त गर्ने सार्वजनिक र बाहिरी लक्ष्य राखिएको हो, त्योभन्दा एकदमै फरक लक्ष्य प्राप्त गर्ने काममा यसले राम्ररी काम गरिरहेको छ भन्ने विचारमा सहमत हुन सक्छन् ।

विकासे कारखानाले आफूलाई सामाजिक कल्याणको भेषमा प्रस्तुत गर्ने हुनाले अर्थात् व्यापारको रूप लिनुको सट्टा विदेशीका हातबाट सुरु गरिँदा यसले गरिब राष्ट्रहरूलाई सहयोगको भेष धारण गर्छ र नेपालीका हातबाट सुरु गरिँदा भने व्यापारको रूपमा नभई आत्मसुधारको भेष धारण गर्छ । यसका प्रशंसामा गरिने फूलबुट्टा र यसको नाफाबिचका खाडलहरू अरू थुप्रै पुँजीवादी उद्योगहरूका खाडलभन्दा पनि फराकिला हुन्छन् ।

संगठित रूपबाट प्रयास गर्न नपाए यस विकासे यन्त्रलाई चिरफार गर्न, यसका पार्टपुर्जाहरूको जाँच गर्न, यसलाई तोड्न र योभन्दा अर्को अति राम्रो उपाय खोज्न सम्भव हुँदो हो ।

विकासे यन्त्रलाई विशेष नयाँ ढाँचामा ढाल्ने कामका निमित्त सुनको जलप लगाएको खोटो टकजस्तो पञ्चायती विचारधाराको सक्कली रूपको भण्डाफोर गर्न अर्थात् यसका प्रशंसामा गरिएका फूलबुट्टा र यथार्थबिच रहेको खाडललाई ढाकछोप गर्ने ‘जाली यथार्थ’ को भण्डाफोर गर्न संगठित रूपले काम गर्दै यसको प्रतिरोध गर्नेहरूको सामूहिक विरोधको आवश्यकता छ जस्तो मलाई लाग्छ ।

यसस्तरको प्रयास अर्थात् विकासे कारखानाको यथास्थितिलाई आधारभूत रूपले अनुचित ठहर गर्ने प्रयास आर्थिक, सांस्कृतिक र राजनीतिक गरी जीवनका हरेक क्षेत्रमा हुनु जरुरी छ । निर्दलीय पञ्चायती प्रजातन्त्रलाई ढालेपछि बढी समतामूलक समाज निर्माण गर्ने अजङ्गको काम सुरु होला र त्यस निम्ति मुलुकका स्रोतहरू र प्रतिभाहरूलाई उपयोगमा ल्याउने उपायहरूको खोजी गर्ने काम पनि साँच्चै नै इमानदारीका साथ सुरु होला भन्ने जनताका ठुल्ठुला आशा थिए ।

‘एकदमै राम्रो’ र बढी सच्चा खालको भनी कल्पना गर्ने गरिएको प्रजातन्त्र देखेर कतिपय मानिस हाल ज्यादै निराश भएका छन्, तर पञ्चायत ढालेर आएको यो प्रजातन्त्र विकासे पाङ्ग्राहरूमा जेलिएको विकासे प्रजातन्त्र हो, र यो त्यस्तो अपाङ्ग प्रजातन्त्र हो जसले सामाजिक उन्नतिको निमित्त भरपर्दो प्रयास गर्न सक्दैन ।

अब यहाँ विकासे संस्कृतिका फूलबुट्टाहरू र विकासे कारखानाका वास्तविकताबिच रहेका खाडलहरूको ऐतिहासिक विकाससम्बन्धी केही प्रस्थापनाहरूको चर्चा गर्नु उचित हुनेछ । प्रत्येक प्रस्थापनाले विकास संस्कृतिका विभिन्न पक्षहरूको व्यापक पहिचान गर्न खोजेको छ, तर यस कुराको व्यापक छलफल र गहिरो जाँच हुनु पर्छ भन्ने मलाई लाग्छ । यी प्रस्थापनाहरूले एकसाथ के कुरामा जोड दिएका छन् भने यस विकासे यन्त्रलाई जतिसुकै मर्मत गरे पनि यसले आफ्ना उद्देश्यको रूपमा दाबी गरेझैँ बहुसंख्यक जनताका लागि बढी न्याय र उत्तम सामाजिक अवस्थाहरूको सिर्जना गर्न सक्दैन ।

किनभने यी उद्देश्यहरू पूरा गर्ने हेतुले विकासे यन्त्रको यो ढाँचा तयार पारिएको हुँदै होइन । बरु त्यसको उल्टो, विश्वव्यापी पुँजीवादी उद्योगको रूपमा यसले एकातिर राष्ट्रिय स्तरमा सार्वभौमिकतालाई दाउमा राख्ने छ भने अर्कोतिर अझ बढी स्थानीय स्तरमा चाहिँ सत्ताका दलालहरूको एउटा सानो समूहलाई धनाढ्य बनाइरहने छ । जसको नाममा विकासे कारखानाले आफ्नो धन्दा सञ्चालन गर्ने गर्छ, ती प्रत्यक्ष उपभोक्ताहरू अर्थात् जनताहरूले चाहिँ विकास यन्त्रमा जुटेकाहरूले सहायतारूपी डलरलाई निचोरेर स्थानीय स्तरमा मुनाफा र शक्ति कुम्ल्याइसकेपछि बाँकी रहने छोक्रामात्र हात पार्छन् ।

तीन एकीकरण

विद्यालय जाने प्रत्येक बालकले के कुरा सिक्छ भने पृथ्वीनारायण शाह नेपाल राज्यका संस्थापक हुन् । उनले नेपालको क्षेत्रीय एकीकरण गरे र वर्तमान नेपाललाई एउटै प्रशासनिक हालहुकुमको छातामुनि ल्याए । यसलाई हाम्रो पहिलो एकीकरण भनौँ । विद्यालय जाने प्रत्येक नेपाली बालकले के पनि सिक्छ भने भानुभक्त आचार्यले बाल्मिकी रामायणलाई सरल नेपालीमा उल्था गरी नेपालको भावनात्मक एकीकरण गरे ।

भानुभक्तको रामायणमार्फत् नेपाली भाषा फैलियो र एक भाषा र एक संस्कृतिको सूत्रमा उनिने भावना मुलुकभरि व्याप्त भयो । यसलाई दोस्रो एकीकरण भनौँ । अमरसिंह र बलभद्र जस्ता अरू वीरहरूको गाथा गाउने गरिएता पनि नेपालको राष्ट्रवादी इतिहासमा यी बाहेक अरू एकीकरणहरूको चर्चा भएको छैन । राज्य र राष्ट्रको निर्माण प्रक्रिया पूरा भएको छ र यी दुई महापुरुषहरूलाई दन्त्य कथाका महानायक बनाउने क्रम टुङ्गिएको छ ।

अर्थात् पृथ्वीनारायण शाहले हाल एउटै केन्द्रीय प्रशासन अन्तर्गत रहेको नेपालको सबै भूखण्डहरूलाई एक सूत्रमा उनेर राज्यको निर्माण गरे भनिन्छ भने उता भानुभक्तले चाहिँ यस भूखण्डका जनतालाई एकीकृत गर्ने सांस्कृतिक पहिचान प्रदान गरी यसलाई राष्ट्रमा परिणत गरे भन्ने तर्क गरिन्छ ।

पहिलो र दोस्रो एकीकरणलाई प्रभावकारी प्रभुत्ववादको उदाहरणका रूपमा हेर्न म उचित ठान्छु । अर्थात् पहिलो राजनीतिक तथा प्रशासनिक प्रभुत्वबाट र दोस्रो सांस्कृतिक प्रभुत्वबाट । अठारौँ शताब्दीको आखिरीतिर गोर्खाका राजा पृथ्वीनारायण शाहले सैन्य बलको सहाराले अरू थुप्रै स–साना राजनीतिक राज्य र अधिराज्यहरूमाथि आफ्नो नियन्त्रण जमाए र तिनलाई आफ्नो हालहुकुमले कज्याए ।

बीसौँ शताब्दीको सुरुतिर हिन्दु धर्म र नेपाली भाषाका पण्डितहरूले भानुभक्तलाई प्रयोग गरी राष्ट्रिय नेपाली संस्कृतिको रूपमा एउटै सांस्कृतिक परम्परालाई बढावा दिने वा आविष्कार गर्ने काम गरे । यी दुवै प्रक्रियामा स–साना समूह सत्ता र प्रभाव क्षेत्रका दलाल बने र समयको क्रममा सत्तामा यस्ता खेलाडीहरू फेरिएता पनि पञ्चायतकाल र त्यसपछि पनि यी प्रक्रिया भने जारी छन् ।

अब म तेस्रो एकीकरणबारे केही कुरा उठाउँछु । विद्यालयमा यस एकीकरणले पनि सम्मानजनक स्थान पाएको छ तर एकीकरणको नामले चाहिँ होइन । यो हामीकहाँ आधुनिकता आउने मेसो सुरु भएदेखि यता बितेका ४० वर्षमा बाँकी विश्वसँग नेपालको एकीकरण हुन थालेको विषयसँग सम्बन्धित छ । यस कथाको नायक पृथ्वीनारायण वा भानुभक्त जस्तो कुनै व्यक्ति नभई विकास आफैँ हो ।

वास्तवमा ‘तेस्रो एकीकरण’ निकै नै सुनाइएको कथा हो, तर यो कथा पहिलो र दोस्रो एकीकरणहरूको जस्तो राज्य र राष्ट्र निर्माणसम्बन्धी कथा नभई प्रगतिको रूपमा सुनाइएको कथा हो ।

यस प्रकार तेस्रो एकीकरणलाई पृथ्वीनारायण शाहको नेपालको उत्तराधिकारको रूपमा मात्र प्रस्तुत नगरी झन् महान् चीजको रूपमा अर्थात् नेपालको मुक्तिदाताका रूपमा समेत प्रस्तुत गरिएको छ । सन् १९१६ को सुगौली सन्धिद्वारा ज्यादै नै साँघुरिएको सिमानाभित्र नेपाललाई राणाहरूले एक शताब्दीसम्म एकलासे झ्यालखानमा कैद गरेपछि नेपालको पहिलेको गौरवलाई फेरि जगाउने कथा यस एकीकरणले हामीलाई सुनाउँछ ।

यस अनुसार भूखण्डलाई फैलाउने कामद्वारा नभई राष्ट्रहरूको विश्व समुदायमा प्रवेश गरेर, आधुनिक युगमा प्रवेश गरेर एक ‘विकसित’ राज्य प्राप्त गरी यो उद्देश्य पूरा गरिन्छ ।

राजनीतिक र प्रशासनिक दृष्टिले तेस्रो एकीकरणको निमित्त नयाँ आधुनिक रूपहरू (जस्तो कि संसदीय संरचना, निजामती नोकरशाही, संयुक्त राष्ट्र सङ्घको सदस्यता, इत्यादि) को खाँचो पर्न गयो । तर एकीकरणको माध्यम वा रूपमा मुठीभर मानिसले केन्द्रबाट देशमाथि नियन्त्रण कायम गर्ने र बाँकी विश्वसँग यसका सम्बन्धहरूलाई समाल्ने साधन स्वरूप नै यी रूपहरूलाई प्रयोग गरियो । त्यसकारण यसका लक्ष्यहरू ठ्याक्कै विगतका शासकहरूका जस्तै रहन गए । अझ त्यसमाथि शासन सञ्चालन गर्ने रूपहरूलाई ‘आधुनिकीकरण’ गरिए ।

यसरी नेपालको राजनीतिक प्रणालीलाई यूरोपेली राजनीतिक प्रणाली सहर बन्ने प्रतिस्पर्धामा सामेल गराई राज्यको स्वयत्ततामा कटौती ल्याउन खोजेजस्तो झल्किएता पनि राणा शासनपछिको राजनीतिक ढाँचा (मुख्यतः पञ्चायत) लाई रैथाने प्रतिभाकै एक दृष्टान्तका रूपमा र स्वायत्तताकै चिह्नका रूपमा प्रस्तुत गर्न सकिन्छ ।

जस्तो कि पञ्चायती विचारधाराका दुई जना कालीगढले भनेका छन्, ‘नेपालको पञ्चायत प्रणाली अन्तर्राष्ट्रिय स्तरमा रैथाने मार्काको प्रजातन्त्रको खोजी गर्ने कामकै एक अङ्ग हो ।’ त्यसपछिका वर्षहरूमा कमभन्दा कम वास्तविक स्वायत्तता दिई विकासे यन्त्रका शक्तिहरू दरिला हुँदै जाने क्रममा नेपालको आधुनिक राज्यका विलक्षणता, स्वाधीनता र सांस्कृतिक विशिष्टता जस्ता कुरा एकनासले बढ्दै गए ।

दोस्रो (भानुभक्तीय) एकीकरण अर्थात् सांस्कृतिक भावनात्मक एकीकरणसँग तेस्रो एकीकरणको सम्बन्ध झन् जटिल छ । साधारणतः विकासलाई आयात गरिने वस्तुको रूपमा हेर्ने गरिएको छ, जस्तो कि कठोर बन्देजका साथ विश्वबाट अलग्याइएको राणाकालीन नेपालका सिमानाहरूलाई खुला गरेपछि ‘विकसित’ विश्वबाट आइपुगेका भौतिक वस्तुहरू, वैज्ञानिक विधिहरू र सोचाइका नयाँ तरिकाहरू आदि ।

केही दशकयता नेपालमा विकासे आयातहरू झन् बढी मात्रामा ओइरिएका छन् भन्ने कुरा अकाट्य हो । ‘तपाईं जहाँ भए पनि’ (नेपालको कुना काप्चामा समेत) टुबोर्ग भन्ने विज्ञापन एउटा उदाहरण हो । यस्ता आयातहरूलाई सम्हाल्ने र तिनलाई विलक्षण रूपले नेपाली उपजहरूमा ढाल्ने अर्थात् नेपाली रूपको ‘आधुनिकता’मा ढाल्ने प्रयासको जाँच गर्ने काम थोरैमात्र भएको छ । पञ्चायतीकालको बदनाम मन्त्रअनुसार विकास भनेपछि त्यो आधुनिक हुनु पर्थ्यो, तर त्यो ‘हावापानी र माटो सुहाउँदो’ पनि हुनु पर्थ्यो ।

यो तेस्रो काममा आधुनिकीकरणकर्ताहरू अर्थात् सुरुमा तेस्रो एकीकरणलाई राग अलाप्नेहरूले दोस्रो एकीकरणका स्रोतहरूबाट अर्थात् भानुभक्तद्वारा स्थापित हुन गएको एउटै नेपाली सांस्कृतिक परम्पराबाट सामग्री प्राप्त गरे । त्यसको साथसाथै जनताभित्रका भिन्नताहरूमा केन्द्रित हुने उदयीमान मानवशास्त्रबाट पनि सामग्री प्राप्त गरे । नेपालको नक्सामा ‘वैज्ञानिक’ ढाँचाहरूको एउटा शृङ्खलाको रेखाङ्कन हुन थाल्यो ।

जात विभाजनको सबलता भूगोल र पर्यावरणसँग सम्बन्धित हुन गयो, जुन कुरा तराई क्षेत्रमा सबभन्दा बलवान थियो र जतिजति उचाइतिर गयो, यो सबलता त्यति नै कमजोर हुँदै गयो । नेपाली समाज ‘बहुजातीय समाज’ हो भन्ने कुरा मानियो तर भिन्नताहरू हुँदाहुँदै पनि सबै नेपाली ‘जन संस्कारित समूहमुखी धर्ममा आबद्ध’ भएको मानियो ।

तेस्रो एकीकरणको प्रमुख सांस्कृतिक अभिभारा त्यो नमुना गाउँबाट आधुनिक राज्यका नागरिकहरूको निर्माण गर्नु हुन गयो, जुन गाउँलेका थोरै निजी भावना हुन्छन् र त्यसैगरी थोरै निजी आकाङ्क्षा हुन्छन् । यस प्रक्रियामा निजी विवेकको प्रयोग गर्नका निमित्त ऊसँग विकल्पहरू थोरै हुन्छन् । यस सन्दर्भमा ऊ पूर्ण व्यक्ति हुँदैन ।

नेपाली जनताको यसरी चरित्र चित्रण गर्ने कामबाट एकसाथ अनेक कार्य पूरा भए । पहिलो कुरा, आधुनिकीकरणको बाटोको किटानी गर्ने पूरापूर अधिकार र दायित्व ती ठालुहरूका हातमा राखियो, जसले मोहसिन र राणाले झैँ अरू नेपालीहरूका जीवनका अवस्थाहरूलाई बडो चमत्कारपूर्ण ढङ्गले ओझेलमा पारेका थिए । दोस्रो कुरा, निर्दलीय राजनीतिक व्यवस्था ठिक छ भन्ने कुरा सिद्ध गर्नका लागि संस्कृतिमा आधारित तर्क जुटाइयो ।

यो एउटा त्यस्तो तर्क थियो, जसले पश्चिमा व्यक्तिवादलाई आफूभित्र नगाभी बरु नेपाली संस्कृतिको निमित्त रैथाने भनी दाबी गरिएका समूहमुखी पहिचानहरूबाट सामग्री जुटाउने गर्थ्यो । तेस्रो कुरा, सरदर नेपाली गाउँले दृष्टिविहीन र अज्ञानको अवस्थामा पहिचानविनाको जीवन बाँचिरहेका छन् भन्ने तर्कका आधारमा उनीहरूलाई अमान्छेका रूपमा चित्रण गर्दै यसले विकासको लागि ‘एकनासे लक्षित समूह’ पैदा गर्‍यो र एक जातिको एक भाषा र एक संस्कृति अरू जातिहरूमाथि थोपर्ने कुरालाई उचित ठहर्‍यायो ।

त्यसो गर्ने क्रममा राष्ट्रको सांस्कृतिक विविधता र बहुजातीय बनोटबारे बोक्रे कुरा गर्न चाहिँ छाडिएन ।

समयको क्रममा पञ्चायती राजमा देशभित्र विकासको आयात, वितरण र असरहरूलाई साँच्चै व्यवस्थित तुल्याउनु पर्छ भनी तर्क गर्नेहरूको बलबुता सुस्त हुँदै जाँदा स्वायत्तता र विलक्षणको सबुतका रूपमा अघि सार्न सकिने विलक्षण नेपाली संस्कृति अरूहरूमाथि थोपर्ने प्रयासहरूको गति चाहिँ तीव्र हुँदै थियो । हामी यस कोणबाट गाउँ फर्क राष्ट्रिय अभियान र पञ्चायती संस्कृतिका दलालहरूमा अन्य आयोजनाहरूको पछिल्तिर रहेको उत्प्रेरणाबारे पुनर्विचार गर्न सक्छौँ ।

तेस्रो एकीकरण जनआन्दोलनपछिको नेपालमा निरन्तर रूपले फस्टाइरहेको छ । यसको केन्द्रीय समस्या अर्थात् ‘अविकसित’ भनी कल्पना गर्ने गरिएका गाउँलेहरूलाई आधुनिक राष्ट्र÷राज्यका नागरिकमा विकसित गर्नु रहेको छ । यद्यपि ती गाउँलेहरूमा सांसारिक बुद्धिमता हुन्छ भन्ने गरिन्छ । यस कार्यको केन्द्रीय उपकरणको रूपमा विकास पनि कायमै छ ।

पञ्चायतीकालमा एकातिर नेपाली संस्कृति र सामाजिक संरचनालाई बुझ्न पश्चिमी जगतमा प्रचलित सिद्धान्त र तौरतरिकाहरू ग्रहण गर्ने र अर्कातिर प्रथम दुई एकीकरण रहेको हिन्दु पण्डित्याइँ र ‘राष्ट्रवादी’ इतिहास ग्रहण गर्ने कुरामा हानथाप चलेको थियो भने आजको विकास झन्डै पूर्ण रूपले पश्चिमा विज्ञानका शब्दअनुसार सञ्चालित भएको छ ।

तर विकासे संस्कृति र समाजलाई केवल बाहिरबाट ल्याइएको वस्तुको रूपमा मात्र नभई विशिष्ट नेपालीपन भएको चीजको रूपमा विकसित गरिने इच्छा प्रकट गरिएता पनि विकासको बयान र विश्लेषण गर्ने पदावलीहरू र विकास योजनाको तर्जुमा र कार्यान्वयनसम्बन्धी ढाँचाहरू चाहिँ उही विदेशबाट ल्याइएको ‘विकासे’ विज्ञानकै छन् ।

पञ्चायतीकालमा एकातिर नेपाली संस्कृति र सामाजिक संरचनालाई बुझ्न पश्चिमी जगतमा प्रचलित सिद्धान्त र तौरतरिकाहरू ग्रहण गर्ने र अर्कातिर प्रथम दुई एकीकरण रहेको हिन्दु पण्डित्याइँ र ‘राष्ट्रवादी’ इतिहास ग्रहण गर्ने कुरामा हानथाप चलेको थियो भने आजको विकास झन्डै पूर्ण रूपले पश्चिमा विज्ञानका शब्दअनुसार सञ्चालित भएको छ ।

विकासे कारखानामा आज हामी जे देख्छौँ, त्यसलाई ‘तथ्याङ्कहरूको आत भनी नामकरण गर्न सक्छौँ । तथ्याङ्कको रूपमा रहेको ज्ञान आधुनिक राज्यको ज्योतिष बन्न पुगेको छ, अनि विकासे पण्डितहरूचाहिँ आधुनिक जमानाका दरबारिया ज्योतिषी बन्न पुगेका छन् । काठमाडौँमा बसेर ग्रामीण क्षेत्रबाट लिइएका अङ्कगत तथ्याङ्कहरूका गोटी चाल्दै ‘जनता’को अवस्था यस्तो रहेको हो भन्ने सुझबुझको आविष्कार गर्दै देशको दुःखद् स्थितिको परिकल्पना गरिन्छ ।

अनि काठमाडौँमा नक्कली चित्र अर्थात् विकासे भाषामा सुधारको योजना तर्जुमा गर्ने ‘आधार तथ्याङ्क’ को निर्माण गरिन्छ । त्यसपछि यो तथ्याङ्क निर्यात गरिने मूल्यवान वस्तु बन्दछ । सहायता रकम दिने ठुलाठुला विदेशी केन्द्रहरूमा पठाएपछि उक्त तथ्याङ्क थप सहायता प्राप्त गर्ने साधन बन्न पुग्छ ।

सामाजिक अवस्थाहरूबारे ज्ञानलाई के कसरी प्रस्तुत गर्ने, कुन ज्ञानलाई वैधता दिने जस्ता विकासे उद्योगका आफ्नै खास नियम छन् र यसलाई चानचुने कुरा ठान्न मिल्दैन, तर साँचो के हो भने नेपालबारे बढी कुरा जान्ने नेपालीहरू कोही मुख बाँधेर बस्ने गरेका छन्, कोहीले सम्झौता गरेका छन् वा अरू आतङ्क फैलाउने काममा भित्री इच्छासाथ सामेल हुने गरेका छन् ।

विकासको संसारमा तथ्याङ्कगत ज्ञानको प्रभुत्व रहने गरेको छ, जुन तथ्याङ्क कपोकल्पित हुन्छ र काम चलाउन नभई हुँदैन । विकासे यन्त्रमा राम्ररी तेल घस्न र सहायताका रूपमा प्राप्त हुने डलरको दैनिक चारो आउने क्रम जारी राख्ने खासखास किसिमका राष्ट्रिय तथ्याङ्क (जीएमआर, जीडीपी, एमएमआर, आइएसआर, एलआर इत्यादि) को आवश्यकता पर्छ । त्यसकारण यिनको उत्पादनमा संलग्न हुने धेरै मानिसलाई यी अङ्कहरू नक्कली हुन् भन्ने कुरा थाहा हुँदाहुँदै पनि त्यस्तो तथ्याङ्कबाट नाफा बटुल्न सकिने हुनाले बडो तत्परतासाथ यी जिनिसहरू तयार पारिन्छन् ।

सिङ्गो राष्ट्र, त्यसको अवस्था र जनताबारे ज्ञान दिन भनी विकासकर्मीहरूलाई यी तथ्याङ्कले विश्वास गर्ने वा कम्तीमा पनि बहाना गर्ने अवसर दिन्छन् । वैज्ञानिक जस्ता भान पर्ने यी तथ्याङ्कहरू पठाएर मात्र विदेशबाट आर्थिक सहयोग लिन सकिन्छ ।

वास्तवमा वास्तविक विकास प्रयासहरूमा भरपर्दो तथ्याङ्कगत सूचना लाभदायी आधार हुनसक्छ, जसले सामाजिक अवस्थाहरूमा सुधार ल्याउने दिशामा सघाउ पुयाउन सक्छ, तर हालको स्थितिमा धेरैजसो क्षेत्रमा केवल कपोलकल्पित अइडियाहरू मात्र छन्, जुन अङ्गहरू विकासे कारखानाका लागिमात्र काम लाग्छन् र उक्त कारखानाको मुनाफालाई धानिराख्ने काम गर्छन् ।

अङ्गहरूको आतले अर्को एउटा काम पनि गर्छ । त्यो के भने यसले राष्ट्रिय सार्वभौमिकतालाई धराप पार्छ । किनभने विकासे संस्कृतिले जनता एवं अन्य विषयमा ज्ञान दिने शैलीका कारण वैज्ञानिक जस्तो लाग्ने पश्चिमी परिपाटीलाई आफ्नो आदर्श ठान्छ ।

तैपनि पहिला दुईवटा एकीकरणका गौरवमय कथाहरूको प्रभाव पूरा गायब भएको छैन । त्यस्तो इतिहास पढाउने क्रम जारी नै छ, तर विकासे काममा देशको गौरवको कथाले अचेल ठाउँ पाउँदैन । राष्ट्रलाई एकातिर न्यूनतम विकसित राष्ट्र र अर्कोतिर सांस्कृतिक परम्पराको धनी राष्ट्रको रूपमा चिनाइन्छ । त्यसैले यसबाट जनताले देशका एकदमै उल्टा दुई वटा चिनारी पाउँछन् ।

एकातिर राष्ट्रिय अर्थ व्यवस्था पूर्ण रूपमा विदेशी सहयोगमा भर परेको वास्तविकता छ र अर्कातिर वीर स्वतन्त्र राष्ट्रका रूपमा चिनाइन्छ । एकातिर देशको सरकार बाहिरबाट लादिएको विकासको बाटोलाई आफ्नो वशमा लिन नसक्ने खालको छ भने अर्कातिर त्यही सरकार आफूलाई सधैँ स्वतन्त्र देशको सरकार हुँ भनेर नाक फुलाउँछ । विकासे अर्थव्यवस्था र राष्ट्रिय संस्कृतिलाई सँगै राखेर हेर्नु जरुरी छ ।

नाफाका लागि विकास

‘दिगो विकास’ अचेल निकै नै चल्तीमा आएको कुरा हो । दिगो विकास भन्नाले विदेशी सहयोगको नाममा आउने डलर, राजधानीबाट आउने रुपैयाँ, विकासे पण्डित र भौतिक सहयोग अर्को गाउँतिर लागेपछि विकासले दिगो रहनुपर्ने कुरा बुझिन्छ । वर्षौंसम्म दिगो विकासको मन्त्र जपेर पनि विकास नभएको देख्दा यो जाली कुरा रहेछ भन्ने लाग्छ ।

गाउँलेहरूले आफ्नो तितो अनुभवबाट यो कुरा आफैँ बुझेका छन्, तर गाउँबाट नदेखिने कुरा के छ भने विकासे कारखाना आफैँमा दिगो विकास भसक्कै सफल भएको छ । विकास सफल भए पनि नभए पनि विकासे कारखाना भने मजासँग चलिरहन्छ । योजना लागु हुनुभन्दा पहिले नै योजना बनाउने र सरसामान खरिद गर्ने पैसा विकासेको हातमा परिसकेको हुन्छ ।

अनि योजना पूरा भएपछि त्यसको मूल्याङ्कन–सूल्याङ्कन गर्दा विकासेहरूका हातमा पैसा परिहाल्छ । विकासे काम सफल भए पनि बर्बाद भए पनि विकासेहरूका लागि माथिको हिसाबकिताबमा केही फरक पर्दैन । झन् घिनलाग्दो कुरो के छ भने गाउँमा विकास योजनाबाट जतिसुकै बरबादी भए पनि कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र यताका मन्त्रालयहरूलाई विकास योजनाका लागि छुट्ट्याइएको पैसा खर्च गरिसक्ने कुराको मात्र मतलब हुन्छ ।

किनभने आफूले बाहिरबाट ल्याइएको पैसा खर्च गरिसके भनि प्रतिवेदन बुझाएपछि उनीहरूले फेरि पैसा पाउन सक्छन् । यसरी नै गाउँले गरिबहरूको आँसु देखाएर बाहिरबाट ल्याएको पैसाले राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका विकासेहरू, सरकारी प्रशासकहरू र ठेकदारहरूले खल्ती भर्छन् । दिगो विकासको सक्कली रूप यही हो ।

सहयोग दिने मुलुकहरूमा विदेशी सहयोगसम्बन्धी बजेटको आलोचना गर्दा आफ्नै मुलुकको लागि चाहिने धनराशिको अजङ्ग ठुलो भाग अरुलाई दान दिएको भन्ने गुनासो गर्छन् । यस दृष्टिले हेर्दा विकासे कारखाना नाफा गर्ने कारखाना होइन, बरु त्यो त दान दिने दयालु सेवा नै हो ।

यस कुराले सहयोग दिने मुलुकहरूलाई हुने दुई किसिमका फाइदाहरूलाई छायामा पार्छ । त्यसमा एउटा फाइदा वित्तीय हो भने अर्को राजनीतिक हो । भारत र कतिपय कुरामा चीन बाहेक अरू मुलुकहरूले नेपालमा आफूले गरेको सहयोगबाट सोझो फाइदाको आशा गर्न नसक्ने भए पनि विकास आयोजनाहरू लागु गर्दा निकै ठुलो फाइदा सहयोग दिने मुलुकतिर सिधै जान्छ ।

दिगो विकासे मन्त्र जपे पनि सहयोग दिनेहरूले उनीहरूकै प्राविधिक विशेषज्ञहरूलाई काम दिने गरी र उनीहरूकै उद्योगहरूबाट उत्पादित सामान खरिद गर्नु पर्ने गरी कडिकडाउ बोलकबोल गराउँछन् । अमेरिकाको हकमा उसले एक डलर सहयोग दिँदा उसलाई दुई डलर नाफा हुने बन्दोबस्त मिलाएको हुन्छ ।

विदेशी सहयोग र उद्योगहरूको हिसाबकिताब छुट्टाछुट्टै हुने भएकाले नाफा लुकाउन सक्छन् । वास्तवमा सहयोग दिने देशहरूका उद्योगले नाफा हसुर्छन् र सांसदले आफ्नो चुनाव क्षेत्रमा व्यापार लैजान्छन् । यसबाट के बुझ्नु पर्छ भने दिगो विकास सहयोग दिनेहरूको दैलोबाट सुरु हुन्छ र उनीहरूकै थैलोमा पुगेर टुङ्गिन्छ । सहयोगको पैसाले यसरी फेरी मार्दा नेपालका हुनेखानेहरूले लित्कोपित्कोसम्म खान पाउँछन् तर गरिबका लागि भने ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै हुन्छ ।

विदेशी सहयोग संसारभरि नै उपनिवेशवादकै नयाँ रूप हो भन्ने कुरा धेरैले भनेका छन् । नेपाल कहिल्यै सिधै उपनिवेश नभए पनि यो कुरा यहाँ झनै लागु हुन सक्छ । अरू देश उपनिवेश हुँदा बेलायती शासकहरूले शासन गर्ने खर्च नगरिकन राणा शासकहरूलाई आफ्ना दलाल बनाएर नेपालबाट जस्तो मन लाग्यो त्यस्तो फाइदा लुटे ।

यस्तो बन्दोबस्तलाई अर्ध उपनिवेश भनिन्छ । अहिले आएर विदेशी सहयोग नदिने धम्की दिएर सहयोग दिने देशहरूले नेपालको अर्थ व्यवस्थालाई आफ्नो मुट्ठीमा पारेका छन् । यस्तो स्थितिलाई अर्ध उपनिवेश वा नव उपनिवेश जे भने पनि यो उपनिवेशको स्थितिसँग अत्यन्तै मिल्दोजुल्दो छ ।

अरुण ३ मा लगानी गरेबापत जेजस्ता फाइदा लिने शर्तहरू नेपालमाथि थोपरिने भएका थिए, त्यो यस्तो हस्तक्षेपको एउटा टड्कारो उदाहरण हो । सहयोग दिने मुख्य मुलुकहरूले महकाली सन्धि पारित गर्नका लागि नेपालमाथि पारेको सार्वजनिक दबाबले के देखाउँछ भने आर्थिक सहयोगको बदलामा सहयोग दिनेहरू नेपालको अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्धहरू, यसका आर्थिक नीतिहरू र आन्तरिक राजनीतिक प्रणालीलाई आफ्नो मुट्ठीमा लिन चाहन्छन् ।

नेपाल विदेशी सहयोगमा कतिसम्म निर्भर भएको छ भने अब सहयोग दिनेहरू आफ्नो यस्तो नाङ्गो हस्तक्षेप लुकाउनसम्म पनि छोड्न थालेका छन् । भारत वा चीनजस्तो महत्त्वपूर्ण बजार वा खाडी राष्ट्रहरू जस्तो रणनीति स्रोत केन्द्र नेपाल नभएता पनि नेपालका शासकहरूको बाहिरिया सेठहरूको अगाडि झुक्ने कुराले विश्व पुँजीवादलाई फाइदा पुर्‍याइरहेको छ ।

यो पनि एक प्रकारको दिगो विकास हो । यो कस्तो दिगो विकास हो भने यसले विश्वव्यापी पुँजीवादसँग मेल खान्छ र यसले सहयोग दिने र सहयोग लिनेको बिचमा उँचनीचका सम्बन्धहरूलाई कायम राख्छ ।

(डेसेनको आलेख सर्वप्रथम १९ माघ २०५७ मा ‘विकास’ म्यागजिनमा प्रकाशित भएको थियो । हामीले यो आलेख मार्टिन चौतारीले प्रकाशित गरेको ‘नेपालमा गरिबीको बहस’ पुस्तकबाट लिएका हौँ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मेरी डेशेन
मेरी डेशेन
लेखकबाट थप