शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
अनुवाद

गाजामा चलिरहेको नरसंहारमा पुँजीवादको हात छ

सोमबार, १४ वैशाख २०८३, ०८ : २५
सोमबार, १४ वैशाख २०८३

सारांश

  • अर्थशास्त्री एवं राजनीतिज्ञ यानिस भारुफाकिसले प्यालेस्टिनीहरूमाथि भइरहेको नरसंहारमा पुँजीवादको हात रहेको र यसले केही व्यक्तिलाई कमाइको अवसर दिएको बताएका छन् ।
  • उनले पुँजीवाद मान्छेको दुःख र विनाशमा टेकेर बाँच्ने भएकाले इजरायलको अर्थतन्त्रमा विरोधाभास देखिएको तर स्टक एक्सचेन्ज बढेको बताए ।
  • भारुफाकिसले औपनिवेशिक अभियानहरूमा आर्थिक स्वार्थ नै प्रमुख चालक रहेको र अहिलेको 'क्लाउड क्यापिटल'ले मानिसको व्यवहार नियन्त्रण गरी नरसंहारलाई बढावा दिइरहेको उल्लेख गरे ।

मेरो नाम यानिस भारुफाकिस हो । म अर्थशास्त्री एवं राजनीतिज्ञ हुँ । ग्रीसको ‘एमईआरए–२५’को प्रतिनिधित्व गर्ने अभियन्ता एवं ‘पानयुरोपेली’ आन्दोलनमा सम्लग्न ‘डीआईईएम–२५’को सदस्य । म यहाँ पुँजीको अन्तर्निहित व्यवहारका कारण कसरी प्यालेस्टिनीहरुमाथि नरसंहार मच्चाउने काम हुँदै छ भन्नेबारे जानकारका रूपमा उभिएको छु ।

निर्णयकर्ताहरू पूर्ण सचेतता साथ फैसला दिन सक्षम होउन् भन्नाका खातिर म यहाँ उभिएको छु । त्यसका लागि म वैश्विक पुँजीको जगका रूपमा रहेका आर्थिक शक्तिहरू कसरी प्यालेस्टिनीहरुको जातीय सफाया तथा पछिल्लो समय नरसंहार हुँदै गर्दा त्यसको सहयोगीको भूमिकामा पुगे भन्नेबारे आफ्ना केही कुरा राख्न चाहन्छु ।

निर्णायक तथा न्यायाधीशहरुले के बुझ्नुपर्छ भने नरसंहारले पनि केही मान्छेलाई कमाइधन्दाको मौका दिन्छ । वास्तवमै नरसंहारले केही व्यक्तिलाई धेरै थोक दिन्छ । आजका दिनमा नयाँ स्वरूपको पुँजी नरसंहार गराउनमा उद्यत भएकोबारे म केही भन्न चाहन्छु । 

यसका लागि सुरुवातमै न्यायाधीशहरुले के मान्नु आवश्यक छ भने पुँजीवाद बाँच्ने भनेकै मान्छेको दुःख र व्यापक विनाशमा टेकेर हो । यही तर्कले इजरायलको अर्थतन्त्रमा देखिने विरोधाभासबारे हामीलाई सही झलक दिन्छ । हेर्नुस त, इजरायलको अर्थतन्त्रमा माग,उत्पादन तथा उपभोक्ताको आत्मबल सबै एकैसाथ खस्किँदै गएका छन् । तर इजरायलको ‘स्टक एक्सचेन्ज’ भने खस्किनुको साटो १ सय ६० प्रतिशतले बढेको छ ।

स्टक एक्सचेन्जको यही अवस्थाले नै हामीलाई प्यालेस्टाइनमा इजरायलको कब्जाको राजनीतिक अर्थशास्त्र देखाइरहेको छ । इजरायलका हजारौँ कम्पनीहरू अमेरिकी,युरोपेली,कोरियाली मेगा–कर्पोरेसनहरू तथा धेरै ठुला वित्तीय समूहहरूसँग मिलेर अन्तर्राष्ट्रिय सञ्जाल बनाउँदै सन् २०२३ को अक्टोबरमा सुरु भएको इजरायली आक्रमण लगत्तै व्यापक रूपमा सक्रिय भएका छन् । 

जब इजरायलको रक्षा बजेट दोब्बर भयो तुरुन्तै इजरायलको हत्यारा संयन्त्र(किलिङ मेसिन)मा ठुलो मात्रामा लगानी ओइरियो ।

न्यायाधिश मण्डलले यसबारे विस्तृत जानकारी पाउनका लागि संयुक्त राष्ट्रसंघका लागि फ्रान्सेस्का अल्बानिजले तयार गरेको प्रतिवेदन ‘फ्रम इकोनोमी अफ अकुपेसन टु इकोनोमी अफ जेनोसाइड’ अर्थात कब्जाको अर्थतन्त्रदेखि नरसंहारको अर्थतन्त्रसम्म’ पढ्न अनुरोध गर्छु । फ्रान्सेस्का कब्जामा रहेको प्यालेस्टाईनका लागि संयुक्त राष्ट्रसंघको तर्फबाट विशेष दूत हुन् । 

इतिहासले हामीलाई सिकाइरहेकै छ, औपनिवेशिक अभियानहरू एवं उनीहरूले प्रायः मच्चाउने गरेका नरसंहारको चालक तथा कारकका रूपमा सदैव आर्थिक स्वार्थ नै देखिने गरेको छ । उपनिवेशवादको थालनीदेखिनै कर्पोरेट क्षेत्र अभिन्न रूपमा जोडिँदै आएको छ । 

पुँजीको यस्तो व्यवहार नयाँ विल्कुलै होइन । इतिहासले हामीलाई सिकाइरहेकै छ, औपनिवेशिक अभियानहरू एवं उनीहरूले प्रायः मच्चाउने गरेका नरसंहारको चालक तथा कारकका रूपमा सदैव आर्थिक स्वार्थ नै देखिने गरेको छ । उपनिवेशवादको थालनीदेखिनै कर्पोरेट क्षेत्र अभिन्न रूपमा जोडिँदै आएको छ । 

‘डच इष्ट इन्डिया कम्पनी’ र ‘इष्ट इन्डिया कम्पनी’ जस्ता ‘कर्पोरेसन’हरुले शुरुदेखिनै आदिवासी जनताका जायजेथा, सम्पत्ति र जमिनमाथि कब्जा मात्रै गरेनन् हिंसा र शोषण समेत मच्चाए । त्यस्तो खालको वर्चस्वको स्वरूपलाई नश्लीय औपनिवेशिक पुँजीवाद भनेर चिनिन्छ । इजरायलले प्यालेस्टाइनको भूभागहरूमा गरिरहेको औपनिवेशीकरण पनि यसैको एउटा स्वरूप हो । अपवाद होइन ।

न्यायाधीश मण्डल आजका दिनमा प्यालेस्टाइनमा हुँदै गरेको नरसंहारमा औपनिवेशिक लुटका तीन वटै चरण देखिएकोबारे जानकार हुनुपर्छ।

पहिलो चरण अव्यवस्थित स्वरूपको लुटको रूपमा आयो । त्यसमा रैथाने जनताको जमिन निर्दयतापूर्वक लुटियो तथा जनतालाई सस्तो वा सकेसम्म दास मजदुरमा रूपान्तरण गरियो । १८औँ शताब्दीमा पुँजीवादको उदय गराएको यस्तो चरण प्यालेस्टाइनको हकमा भने ‘बेलफोर घोषणापत्र’ पश्चात् देखापर्‍यो । सन् १९१७को घोषणा पश्चात् देखा परेको यस्तो अवस्था सन् १९४८ मा ‘नक्बा’ हुने बेलासम्म कायमै थियो । 

त्यसको केही समयसम्म पनि कुनै स्वरूपमा कायम रह्यो । त्यो चरणमा प्यालेस्टीनीहरुको जमिन निर्ममतापूर्वक खोसियो । उनीहरूलाई शरणार्थी बनाइयो । धेरैलाई आफ्नै भूगोलमा चौतर्फी घेरा हालेर बन्द राखियो । दोस्रो ‘इन्तिफादा’ आन्दोलन हुने समयसम्म उपनिवेशका साहुहरूले उनीहरूलाई सस्तो मजदुरका रूपमा प्रयोग गरिरहे ।

दोस्रो चरणमा आधुनिक उपनिवेश लागु भएको थियो । जसलाई नवसाम्राज्यवाद भनेर पनि चिनिन्छ । यसलाई जमिनको लुटमा धेरै चासो थिएन । पुँजीवादी केन्द्रहरूमा भएको न्यून मागका कारण आफैले खपत गर्न नसकेका उनीहरूका अतिरिक्त उत्पादनका लागि बजारको सुरक्षा गर्नु थियो । इजरायलले अमेरिका, बेलायत तथा जर्मनीमा उत्पादन भएका हतियार एवं गोलिगट्ठा व्यापक मात्रामा आयात ग¥यो । 

त्यस्ता हतियारको बजार सिर्जना गर्दै प्यालेस्टाइनमा नवसाम्राज्यवादको दोस्रो चरण पनि देखा प¥यो । यस्तो आयतले हतियार निर्माता मुलुकहरूमा कुल माग बढाउन उल्लेख्य योगदान ग¥यो । केही समय अघिबाट भने इजरायली हतियार निर्माता कम्पनीहरू पनि हतियार निर्यातको यो खेलमा प्रवेश गरेका छन् । उनीहरूले प्यालेस्टीनीहरुमाथि प्रयोग र परीक्षण गरिएका अत्याधुनिक हतियारहरू निर्यात गर्न थालेका छन् । 

त्यस्ता हतियारहरू अरब राष्ट्रमा पनि बेचिँदै छन् । मैले लज्जाबोधका साथ भन्नुपर्छ मेरो देश ग्रिस पनि त्यस्ता हतियार किनिरहेको छ ।

तेस्रो चाहिँ समकालीन पुँजीको चरण हो । यस अन्तर्गत पुँजी सञ्चयले आन्तरिक लुट र बाह्य उपनिवेशीकरणलाई भरण पोषण गरिरहेको छ । म यो चरणलाई ‘टेक्नोफ्युडालिजम’ भन्छु । यो चरणमा नयाँ र अझ उग्र खालको पुँजीको सञ्चय हुने गरेको छ । त्यस्तो स्वरूपको पुँजीलाई ‘क्लाउड क्यापिटल’ भनेको छु ।

न्यायाधीशहरुलाई बुझ्न सजिलो होस् भनेर म थोरै यसलाई परिभाषित गर्न चाहन्छु । क्लाउड क्यापिटल भनेको मेसिनहरूको यस्तो सञ्जाल हो, जसमा फोन,ट्याबलेट,सर्भर तथा अल्गोरिदमहरु हुन्छन् । यस्तो सञ्जालले नयाँ र उल्लेखनीय काम गर्न सक्छ । हामी त्यस्तो सञ्जाललाई हामीलाई नै तालिम दिनका लागि तालिम दिन्छौँ । यो गज्जबको संयन्त्र छ । 

त्यस्तो तालिम हामी आफैलाई राम्रोसँग बुझोस् भनेर दिन्छौँ । अन्ततः त्यसैले हाम्रो व्यवहारमा नियन्त्रण र फेरबदल गर्न सक्छ । क्लाउड क्यापिटलले हाम्रो चाहना र हित विपरीत काम गर्न सक्ने ज्यादै ठुलो शक्ति हासिल गर्छ ।

यस्तो अवस्थामा न्यायाधीशहरुले थाहा पाउनुपर्ने अर्को पनि तथ्य छ । अहिले संसारमा आफ्ना नागरिकको सबैभन्दा धेरै बायोमेट्रिक डाटा आईबीएम कम्पनीलाई उपलब्ध गराउने देश इजरायल हो । गाजामा नरसंहार सुरु भएयता माइक्रोसफ्ट,अमेजन,अल्फाबेट र पालेन्टियरले इजरायलमा आफ्नो क्लाउड क्यापिटलको प्रवेश अभूतपूर्व गतिमा बढाएका छन् । 

अहिले प्यालेस्टाइन र इजरायलमा अनुहार पहिचान गर्ने (फेस रिकग्निसन सफ्टवेयर),लक्ष्य छनोट गर्ने(टार्गेट सेलेक्सन अल्गोरिदम) तथा स्वचालित रूपमा काम गर्ने प्रणालीहरू(अटोमेटेड एक्जिक्युसन सिस्टम)को वास्तविक जीवनमै परीक्षण भइरहेको छ । त्यस्तो परीक्षण सामान्यतः या त व्यक्तिको अनुमतिमा गरिन्थ्यो नत्र प्रयोगशालाहरूमा मुसामा गरिन्थ्यो । अमेरिकाको ‘बिग टेक’ क्षेत्र यो भन्दा बढी खुसी केमा होला र ?

महानुभावहरू ! युद्धले व्यापारीहरूलाई जहिल्यै नाफा दिइरहेको हुन्छ । हतियार कारोबारीहरू बोलकबोलमा बेसी मूल्य दिनेलाई हतियार बेच्छन् । सबै प्रकारको पुँजी (उपभोग्य वस्तु उत्पादनको पुँजी)त्यसमा पर्छ, ती सबैको सञ्चय युद्ध र विनाशको समयमा अझै तीव्र हुन्छ । आजको ‘टेक्नोफ्युडल’ युगमा भने युद्ध मैदानमा सोझै अल्गोरिदमको प्रयोग मार्फत मान्छेलाई बुझ्ने र उनीहरूको व्यवहार हेरफेर गर्ने काममा क्लाउड क्यापिटलले अझै नयाँ शक्ति समेत सञ्चय गर्छ । 

अहिले प्यालेस्टाइन र इजरायलमा अनुहार पहिचान गर्ने (फेस रिकग्निसन सफ्टवेयर),लक्ष्य छनोट गर्ने(टार्गेट सेलेक्सन अल्गोरिदम) तथा स्वचालित रूपमा काम गर्ने प्रणालीहरू(अटोमेटेड एक्जिक्युसन सिस्टम)को वास्तविक जीवनमै परीक्षण भइरहेको छ । त्यस्तो परीक्षण सामान्यतः या त व्यक्तिको अनुमतिमा गरिन्थ्यो नत्र प्रयोगशालाहरूमा मुसामा गरिन्थ्यो । अमेरिकाको ‘बिग टेक’ क्षेत्र यो भन्दा बढी खुसी केमा होला र ?

त्यति मात्रै नभएर युद्धमा सामेल लडाकुहरू, लक्ष्य छनोटकर्ताहरू एवं राजनीतिज्ञहरूको व्यवहारको निगरानी तथा हेरफेर गर्ने  वास्तविक समयको(रियल टाइम) अनुभव हात पार्न पाउँदा क्लाउड क्यापिटलको दक्षता सुधार मात्रै हुँदैन । ती लक्ष्य छनोटकर्तालाई थप सक्षम बनाउँछ । र, दुःखका साथ भन्नुपर्छ ठुलो सङ्ख्यामा मानिसहरूको विनाशलाई पनि सहजीकरण गर्छ ।

यी तमाम परिस्थितिका बिच न्यायाधीश मण्डलले सचेत हुनुपर्ने थप केही तथ्यहरू छन् । आजका दिनमा गाजामा चलिरहेको मृत्यु र विनाशलाई उच्चतम स्तरमा पु¥याउँदै गरेका एआई मार्फत निशाना तय गर्ने उपकरणहरू भोलिका दिनमा अमेजन, गुगल वा माइक्रोसफ्ट एल्गोरिदमहरूलाई शक्तिशाली बनाउनेछन् । तिनीहरूले हामीलाई काम नपर्ने वा नचाहिने चीजहरू समेत किन्न बाध्य पार्नेछन् । 

सामाजिक सञ्जालमा हाम्रो कुराकानीलाई विषाक्त बनाउनेछन् । तिनीहरूले अझै बढी सङ्ख्यामा सर्वहारा, सवारी चालक, नर्स तथा गोदाममा कार्यरत कामदारहरूलाई अप्ठेरोमा धेकेल्नेछन् ।

अर्को शब्दमा भन्नुपर्दा, न्यायाधीश मण्डललाई म के कुरा ख्याल राख्न आग्रह गर्छु भने आज प्यालेस्टाइनमा चलिरहेको जातीय सफाया र नरसंहार विल्कुल छुट्टै घटना होइन । यो त बाँकी संसारमा हाम्रो सामाजिक परिवेशको शोषण गर्ने र विषाक्त बनाउने गतिविधिसँग अभिन्न रूपमा जोडिएको छ। 

यसको सिधा अर्थ हुन्छ उपनिवेशवाद, कब्जा, डर र म्यानिपुलेसनबाट प्यालेस्टिनीहरू मुक्त हुने कुरासँग हामी  संसारभरका मानिसहरूको स्वतन्त्रता र मुक्ति पनि पूर्ण रूपमा जोडिएको छ ।

अन्तमा, म यहाँको निर्णायक मण्डललाई तपाईंहरुको यस्तो महत्त्वपूर्ण कामका लागि धन्यवाद भन्न चाहन्छु । साथै यो मण्डलका सदस्यहरूलाई पुँजीवादको गति अझ खासगरी क्लाउड क्यापिटलको पुनरुत्पादनलाई आधार बनाउनेहरूले प्यालेटिनी जनताको नरसंहारलाई कसरी बढवा दिँदै तथा थप सघन बनाउने काम गर्दैछन् भन्नेबारे अझै मसिनो गरी हेर्न पनि आग्रह गर्छु ।

(यानिस भारुफाकिसले गाजा ट्रिब्युनलमा दिएको बयान उनकै वेब पेजबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

यानिस भारुफाकिस
यानिस भारुफाकिस
लेखकबाट थप