स्वदेशमा रोजगारी नहुँदा मानव पुँजी पलायनको जोखिम, सामाजिक सुरक्षामा खर्च निरन्तर वृद्धि
सारांश
- अर्थ मन्त्रालयको श्वेतपत्रले स्वदेशमा रोजगारीका अवसर नहुँदा देश विदेशी श्रम बजारमा निर्भर रहेको र यसले मानव पुँजी पलायनको जोखिम बढाएको औँल्याएको छ ।
- नेपालको श्रम बजारमा १२.६ प्रतिशत बेरोजगारी दर छ, जसमध्ये युवा वर्गमा यो दर २२.७ प्रतिशत रहेको छ, र ६५% रोजगारी पाएका दैनिक ज्यालादारीमा निर्भर छन् ।
- सामाजिक सुरक्षा भत्ता पाउनेको हिस्सा बढेर १२.४ प्रतिशत पुगेको छ र सरकारी खर्चको १६.२ प्रतिशत यसमा खर्च भइरहेको छ, जसले राज्यको व्ययभार धान्नै गाह्रो भएको छ ।
काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्र (श्वेतपत्र) ले नेपालको श्रम बजार निकै कमजोर अवस्थामा रहेको जनाएको छ ।
सोमबार मन्त्रालयले श्वेतपत्र सार्वजनिक गर्दै स्वदेशमा रोजगारीका पर्याप्त अवसर नहुँदा देश विदेशी श्रम बजारमा निर्भर हुनुपरेको औँल्याएको हो । मन्त्रालयले श्वेतपत्रमा बढ्दो वैदेशिक रोजगारीले तत्कालका लागि अर्थतन्त्र धाने पनि दीर्घकालमा देशको मानव पुँजी रित्तिने जोखिम बढेको तथा अर्कोतर्फ सामाजिक सुरक्षाको खर्च राज्यले धान्नै नसक्ने गरी चुलिएको देखाएको छ ।
श्वेतपत्रअनुसार नेपालको श्रम बजारमा बेरोजगारी, अर्ध बेरोजगारी र अल्प–उपयोगी दर उच्च रहेको उल्लेख गरेको छ । चौथो नेपाल जीवनस्तर सर्वेक्षणलाई उद्धृत गर्दै मन्त्रालयले नेपालको कुल बेरोजगारी दर १२.६ प्रतिशत रहेको उल्लेख छ ।
श्वेतपत्रमा महिलाको बेरोजगारी दर १३.१ प्रतिशत र पुरुषको १०.३ प्रतिशत उल्लेख गरेको छ । सबैभन्दा डरलाग्दो अवस्था १५ देखि २४ वर्ष उमेर समूहका युवाहरूको छ ।
जसमध्ये २२.७ प्रतिशत बेरोजगार छन्। रोजगारी पाएकामध्ये पनि करिब ६५ प्रतिशत व्यक्तिहरू न्यून ज्याला र असुरक्षित कार्यक्षेत्र भएको दैनिक ज्यालादारीमा निर्भर छन् । शिक्षाको गुणस्तर र बजारको मागबिच तालमेल नहुँदा शैक्षिक बेरोजगारीको दर तीव्र रूपमा बढेको मन्त्रालयको निष्कर्ष निकालेको छ ।
वैदेशिक रोजगारीमा बढ्दो निर्भरता र मानव पुँजीको ह्रास
मर्यादित रोजगारीका अवसर देशमै सिर्जना नहुँदा वैदेशिक रोजगारीमाथिको निर्भरता उच्च भएको मन्त्रालयले जनाएको छ । विगत एक दशकमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने नेपाली कामदारको सङ्ख्या वार्षिक औसत २८.६ प्रतिशतले बढेको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै झण्डै साढे ८ लाख (नयाँ र पुनः श्रम स्वीकृति गरी) नेपाली कामदार बिदेसिएका छन् भने चालू आर्थिक वर्षको चैत १२ सम्म करिब साढे ५ लाखले श्रम स्वीकृति लिइसकेका छन् ।
नेपालबाट बिदेसिने कामदारले पठाउने रेमिट्यान्सले बाह्य क्षेत्र सन्तुलन र गरिबी निवारणमा अल्पकालीन राहत दिए पनि देशभित्र दक्ष जनशक्तिको अभाव भएको छ । यसले दीर्घकालमा मानव पुँजीको ह्रास हुने गम्भीर जोखिम बढाएको देखाएको छ ।
मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण त्यहाँ कार्यरत करिब साढे १७ लाख नेपाली कामदार र उनीहरूले पठाउने रेमिट्यान्समा प्रत्यक्ष जोखिम देखिएको श्वेतपत्रमा उल्लेख छ ।
सामाजिक सुरक्षाको खर्चमा दोहोरोपन र धान्नै गाह्रो
विगत एक दशकमा सामाजिक सुरक्षाको पहुँच विस्तार भए पनि यसको दिगोपनामा ठुलो चुनौती थपिएको छ । २०७२ मा कुल जनसंख्याको ७.८ प्रतिशतले सामाजिक सुरक्षा भत्ता पाउने गरेकोमा २०८२ सम्म आइपुग्दा यो हिस्सा १२.४ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । यसले राज्यको व्ययभार ह्वात्तै बढेको श्वेतपत्रमा उल्लेख गरिएको छ ।
आर्थिक वर्ष २०७२/७३ मा कुल सरकारी खर्चको ८.७ प्रतिशत मात्र सामाजिक सुरक्षामा खर्च हुने गरेकोमा चालू आर्थिक वर्षमा यो खर्च बढेर १६.२ प्रतिशत पुगेको छ । सामाजिक सुरक्षा कार्यक्रमहरूबिच दोहोरोपन हुनु र दीर्घकालीन दायित्वको यथार्थ मूल्याङ्कन नहुँदा यो वित्तीय भार व्यवस्थापन गर्नु सरकारको लागि प्रमुख चुनौती बनेको उल्लेख गरेको छ ।
श्रम रोजगार र सामाजिक सुरक्षामा देखिएका समस्या र चुनौतीहरू समाधान गर्न सरकारले नीतिगत र संरचनागत सुधार गर्न आवश्यक रहेको बताएको छ । प्रमाणपत्रमुखी शिक्षाको सट्टा श्रम बजारमा बिक्ने दक्ष जनशक्ति उत्पादन गर्न प्राविधिक र सीपमूलक शिक्षामा लगानी केन्द्रित गरिने श्वेतपत्रमा उल्लेख गरेको छ । कृषि, पर्यटन, सूचना प्रविधि (डिजिटल अर्थतन्त्र, आर्टिफिसियल इन्टेलिजेन्स) र सेवा क्षेत्रको विस्तार गरी स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने भएको छ ।
वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको सीप र उनीहरूले ल्याएको पुँजीलाई स्वदेशी उत्पादन तथा सेवा क्षेत्रमा उपयोग गरी उद्यमशीलता बढाउने नीति लिनु पर्ने मन्त्रालयले बताएको छ।
सामाजिक सुरक्षा कार्यक्रमहरूमा रहेको दोहोरोपन हटाउने र बढ्दो वित्तीय भारलाई दिगो रूपमा व्यवस्थापन गर्न लक्षित वर्गमा मात्र सुविधा पुग्ने गरी प्रणालीमा सुधार गरिने सरकारले प्रतिबद्धता जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण