शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

आयोजनाको म्याद पटक-पटक थपिरहनु कुशासन हो : सांसद पाण्डे

मङ्गलबार, १५ वैशाख २०८३, १२ : ५७
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • सांसद राजुनाथ पाण्डेले विकास आयोजनाको म्याद पटक-पटक थपिने प्रवृत्तिलाई कुशासनको संज्ञा दिएका छन् ।
  • उनले मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ पठाउँदा पनि मुहान क्षेत्रका जनताले पानी नपाएको गुनासो गरेका छन् ।
  • उनले गोकर्णेश्वरमा निर्माणाधीन पानी ट्याङ्कीको काम सुस्त भएको भन्दै खानेपानी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

काठमाडौँ। सांसद राजुनाथ पाण्डेले विकास निर्माणका आयोजनामा हुने ढिलासुस्ती र खानेपानीको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै पाण्डेले आयोजनाहरूको म्याद पटक-पटक थपिने प्रवृत्तिलाई 'कुशासन'को संज्ञा दिए । उनले राष्ट्रिय योजना आयोगले पेस गर्ने विवरणमा आयोजनाको स्पष्ट अवधि उल्लेख नगरिएकोमा प्रश्न उठाए । 'पटक-पटक समय थप्ने र ठेकेदारलाई छोडिरहने काम कुशासन हो । ५ वर्षमा सकिनुपर्ने काम १०-२० वर्षसम्म लम्बिनुले सुशासन छैन भन्ने देखाउँछ ।' 

उनले दैविक प्रकोप वा निर्माण सामग्री आपूर्तिको अवरोध जस्ता विशेष परिस्थितिमा बाहेक अन्य बहानामा म्याद थप्न नहुने बताए । 'जनताले अब परिवर्तन खोजेका छन्, विकासका आयोजनामा हुने यो ढिलासुस्ती अन्त्य हुनैपर्छ,' उनले भने । 

सांसद पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका जनताले भोग्नुपरेको समस्याबारे पनि चर्चा गरे । उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ-३ अन्तर्गत पर्ने गोकर्णेश्वरका बासिन्दाले मेलम्चीको पानी काठमाडौँ पठाए पनि आफूहरू भने 'काकाकुल' हुनुपरेको गुनासो गरे । 

उनले भने, 'मेलम्चीको पानी मेरै क्षेत्रको ड्याम भएर काठमाडौँभरि सप्लाई हुन्छ, तर त्यहाँका जनता पानी नपाएर छटपटिएका छन् । आफ्नै आँगनबाट पाइप बिच्छ्याइएको छ, तर आफू भने तिर्खाउनु पर्ने कस्तो विडम्बना हो ?' 

सांसद पाण्डेले गोकर्णेश्वर वडा नम्बर ६ मा २०७७ सालदेखि निर्माणाधीन २ करोड लिटरको पानी ट्याङ्कीको काम अत्यन्तै सुस्त रहेको जानकारी दिए । ७७ सालमा ठेक्का लागेको आयोजना ७९ सालसम्म आइपुग्दा २८ प्रतिशत मात्र प्रगति हुनु दुःखद रहेको उनको भनाइ थियो । 

उनले भने, 'हिजो मात्रै स्थानीय जनताले मलाई बोलाएर भनेका छन्— ५ वर्षसम्म आयोजना अलपत्र हुन्छ भने अब हामी अवरोध गर्छौँ । यहाँबाट काठमाडौँका अन्य क्षेत्रमा जाने पानी नै रोकिदिन्छौँ । '

सांसद पाण्डेले यस विषयमा खानेपानी  मन्त्रीको  ध्यानाकर्षण गराउँदै समस्या समाधान गर्न आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप