सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
‘टक फर्वार्ड’मा रास्वपा सांसद रुकेश रन्जित

‘चुनावपछि धेरैले भन्नुभएको छ- भक्तपुरमा बल्ल लोकतन्त्रको अनुभूति भयो’

बुधबार, १६ वैशाख २०८३

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि रुकेश रन्जितको सामाजिक अभियन्ता, रक्तदान अभियन्ता र व्यवसायीको छवि सांसदको रूपमा परिणत भयो । राष्ट्रिय स्वतन्त्र पार्टीको भक्तपुर जिल्ला सचिव समेत रहेका रन्जित चुनावपछि थप चर्चामा आए । कारण हो, ३५ वर्षदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को किल्ला रूपमा चिनिँदै आएको भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा उनको सानदार विजय, नेमकिपा रिङ आउट । 

धेरैका लागि अपत्यारिलो थियो यो निर्वाचन परिणाम । किनकि भक्तपुर-१ मा नेमकिपालाई हल्लाउन कसैले सक्दैन भन्ने जबर्जस्त भाष्य स्थापित थियो । थियो पनि त्यस्तै, कांग्रेस, एमाले, माओवादी लगायत पुराना स्थापित दलहरूले पनि यो क्षेत्रमा नेमकिपाको दबदबा तोड्न सकेका थिएनन् । तर यसपटकको निर्वाचनमा परिस्थिति बदलियो । जेनजी आन्दोलनको जगमा भएको निर्वाचनमा रास्वपाको देशव्यापी लहरका साथै रुकेश रन्जितको चुनावी रणनीतिले ‘अपरिवर्तनीय’ भनिएको भक्तपुर-१ को परिणाम फरक आयो । रुकेशले नेमकिपाका उम्मेदवार प्रेम सुवाललाई पाँच हजार भन्दा बढी मतान्तरले पराजित गरे । 

चुनावको झन्डै दुई महिनापछि रातोपाटी पोडकास्ट ‘टक फर्वार्ड’मा अन्तर्वार्ताका क्रममा सांसद रन्जितले भक्तपुरमा नेमकिपाको प्रभाव, उसका सकारात्मक कामसहित जनअसन्तुष्टिका विषयमा खुलेर कुरा गरे । 

Rukesh Ranjit

‘बाहिरबाट हेर्दा देखिने विकासको एउटा पक्ष छ, जुन प्रशंसनीय पनि छ । तर त्यहाँ शासक दल भन्दा भिन्न मत राख्नेहरूले पाउने व्यवहार फरक थियो,’ उनको तर्क छ, ‘विकास निर्माणमा विभेद हुने, आफ्ना मान्छेलाई मात्र प्राथमिकता दिने र फरक विचार राख्नेलाई सामाजिक रूपमै बहिष्कृत गर्नेसम्मका कार्यहरू हुन्थे । मान्छेहरूमा एक किसिमको डर थियो । चुनावपछि धेरैले भन्नुभयो– 'बल्ल लोकतन्त्रको अनुभूति भयो ।' यो नतिजा त्यही उत्पीडन विरुद्धको विस्फोट हो ।‘

रन्जितको पृष्ठभूमि व्यवसाय हो । संसद्मा रहेर उनी निजी क्षेत्रका समस्या समाधान गर्ने र लगानीको वातावरण बनाउने योजना बनाउन भूमिका खेल्न चाहन्छन् । सामाजिक अभियन्ता र सम्पदा अभियन्ताको छवि पनि छ उनको । त्यससँगै उनलाई रक्तदान अभियन्ताको रूपमा पनि धेरैले चिन्छन् । रक्तदानको विषय उनलाई यतिसम्म प्यारो छ कि आफ्नो सोसल मिडिया प्रोफाइलमा आफ्नो नामको पछाडि ‘ओ पोजेटिभ’ समेत राखेका छन् । 

‘म लामो समयदेखि रक्तदान अभियानमा जोडिएको छु । जब म आफैँले रगत दिन नसक्ने अवस्था आयो, तब अरूलाई प्रेरित गर्नुपर्छ भनेर जनचेतना जगाउन नामको पछाडि ब्लड ग्रुप राख्न थालेँ,’ उनी सुनाउँछन्, ‘यसले रगत खोज्नेलाई सजिलो पनि हुन्छ । राजनीतिमा पनि म यही सकारात्मक सोचका साथ आएको हुँ ।’

‘टक फर्वार्ड’मा रन्जितले आफ्नो राजनीतिक यात्रादेखि भक्तपुर र देशका लागि आफ्ना योजनादेखि संविधान संशोधनसम्मका विषयमा आफ्नो धारणा राखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया