निर्देशिका विपरीत एनआईसी एकेडेमीद्वारा चर्को शुल्क असुली, नियम मिचेर अभिभावकमाथि आर्थिक भार
सारांश
- नागार्जुन नगरपालिकाले तोकेको शुल्क सीमा विपरीत एनआईसी एकेडेमीले चर्को शुल्क असुल गरिरहेको छ।
- एनआईसी एकेडेमीले मासिक शुल्क बाहेक 'स्पेशल केयर' र 'एकेडेमिक सपोर्ट' जस्ता अतिरिक्त शीर्षकमा रकम असुलेको छ।
- विद्यालयले वार्षिक ४० हजार रुपैयाँभन्दा बढीको 'ग्रान्ड टोटल' प्याकेज बनाएर अभिभावकबाट शुल्क असुली गरिरहेको छ।
काठमाडौँ । नागार्जुन नगरपालिकाले मातहतका संस्थागत विद्यालयहरूका लागि स्पष्ट शुल्क सीमा तोकिएकाे भएपनि सोही क्षेत्रमा सञ्चालित एनआईसी एकेडेमीले भने नगरपालिकाको निर्देशिकालाई चुनौती दिँदै विभिन्न शीर्षकमा चर्को शुल्क असुल गरिरहेको पाइएको छ ।
नगरपालिकाले तोकेको अधिकतम सीमा र विद्यालयको शुल्क विवरणबिच ठुलो अन्तर फेला परेपछि अभिभावकहरू मारमा परेका छन् ।
नगरपालिकाको स्पष्ट निर्देशन र सीमा
नागार्जुन नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचना अनुसार, शिक्षा नियमावली २०५९ को नियम १४७ को उपनियम (२) बमोजिम विद्यालयको वर्गीकरणका आधारमा ’क’, ’ख’ र ’ग’ श्रेणी अनुसार शुल्क निर्धारण गरिएको छ ।
नगरपालिकाले तोकेको पछिल्लो मापदण्ड अनुसार आधारभूत र माध्यमिक तहका लागि मासिक शिक्षण शुल्कको स्पष्ट सीमा तोकिएको छ। नगरपालिकाको निर्देशिका अनुसार कक्षा १ का लागि ‘क’ श्रेणीको विद्यालयले अधिकतम ४,२०० रुपैयाँ मात्र लिन पाउने उल्लेख छ।

कक्षा १० का लागि ’क’ श्रेणीको विद्यालयले अधिकतम ५,९५० रुपैयाँ लिन पाउने व्यवस्था छ ।
एनआईसी एकेडेमीको मनोमानी शुल्क
तर, एनआईसी एकेडेमीले सार्वजनिक गरेको "Fee Structure- 2026 (Latest)" मा नगरपालिकाको उक्त सीमालाई कतै पनि पालना गरिएको देखिँदैन। विद्यालयले ’मासिक शुल्क’ मात्र नभई ’स्पेसल केयर’ र ’एकेडेमिक सपोर्ट’ जस्ता अतिरिक्त शीर्षक थपेर रकम असुलिरहेको छ ।
केही तुलनात्मक तथ्याङ्कहरू
कक्षा १ को मासिक शुल्कः नगरपालिकाले अधिकतम ४,२०० तोकेकोमा एनआईसी एकेडेमीले मासिक कुल ५,००० रुपैयाँ लिने गरेको देखिन्छ ।
अतिरिक्त वार्षिक भारः विद्यालयले ’एनुअल एन्ड अदर फी’ का नाममा प्रति विद्यार्थी २५,००० देखि २७,५०० रुपैयाँसम्म छुट्टै असुलिरहेको छ। जसमा खेलकुद, ल्याब, लाइब्रेरी, कम्प्युटर र मर्मत सम्भार जस्ता दर्जनौँ शीर्षकमा अतिरिक्त रकम लिइएको छ।
गैरकानुनी शीर्षकमा रकम सङ्कलन
नगरपालिकाको निर्देशिकाले अभिभावकलाई अतिरिक्त बोझ दिने गरी तोकिएको शीर्षक र शुल्क भन्दा बढी रकम नलिन सचेत गराएको छ। तर, एनआईसी एकेडेमीले भर्ना शुल्क बापत नै ३,३७५ देखि ४,७५० रुपैयाँसम्म लिइरहेको छ, जुन नगरपालिकाको नियम विपरीत हुन जान्छ। यसका साथै, विद्यालयले ’सुरक्षा धरौटी’ को नाममा पनि मोटो रकम उठाउने गरेको छ ।
मौन प्रशासन र पीडित अभिभावक
नगरपालिकाले आफ्नो पत्रमा “नियम विपरीतका कार्यहरू भएको देखिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने“ चेतावनी दिएको छ। तर, स्थानीय तहको नाक मुन्तिरै यसरी सङ्घीय र स्थानीय नीति नियमको धज्जी उडाउँदै एनआईसी एकेडेमीले गरिरहेको शुल्क वृद्धिले नगरपालिकाको नियमनकारी भूमिकामाथि नै प्रश्न उठाएको छ।
विद्यालयले ’सरस्वती पूजा अफर’ जस्ता प्रचारबाजी गरेर भर्ना आकर्षण गरे पनि भित्री रूपमा भने अभिभावकको ढाड सेक्ने गरी वार्षिक ४० हजार रुपैयाँभन्दा बढीको ’ग्रान्ड टोटल’ प्याकेज बनाएर असुली गरिरहेको देखिन्छ ।




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण