मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

नीति र व्यवहारमा एकरूपता भए मात्र सङ्घीयता सफल हुन्छ : मुख्यमन्त्री बानियाँ

मङ्गलबार, १५ वैशाख २०८३, १७ : २३
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबिच तादम्यता हुनुपर्ने बताएका छन् ।
  • उनले नीति र व्यवहारमा एकरुपता कायम नहुँदा जतिसुकै राम्रो नीति बने पनि त्यसको प्रतिफल जनताले नपाउने बताए ।
  • मुख्यमन्त्री बानियाँले सङ्घीयतालाई संस्थागत गर्न सङ्घीय सरकारले आवश्यक कानुनहरू यथाशीघ्र निर्माण गरी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सङ्घीयता सफल बनाउन नीति निर्माण र कार्यान्वयन गर्ने निकायबिच तादम्यता हुनुपर्ने बताएका छन् ।

उनले नेपालको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई बलियो बनाउन नीति र व्यवहारमा एकरुपता कायम गर्नुपर्ने बताए ।

प्रदेश तथा स्थानीय शासन सवलीकरण कार्यक्रम अन्तर्गत समसामयिक शासन प्रणालीका विभिन्न आयामहरूमा नीति संवाद कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले नेपालमा पनि सङ्घीय संरचनामार्फत जनताको जीवनस्तर सुधार गर्न नेतृत्वमा स्पष्ट दृष्टिकोण र साहस हुनुपर्ने बताए । नेपाली राजनीतिमा देखिएको बोली र व्यवहार बिचको खाडलले प्रभावकारी काम हुन नसकेको उनले बताए ।

‘नेताले नीति बनाउँछ । तर त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने जिम्मेवारी निजामती प्रशासनको हो । जबसम्म प्रशासन संयन्त्र सक्रिय, निष्पक्ष, पारदर्शी र जनताप्रति उत्तरदायी हुँदैन । तबसम्म जतिसुकै राम्रो नीति बनाए पनि त्यसको प्रतिफल जनताले पाउँदैनन् ।’ उनले भने, ‘हाम्रो बोलीमा उत्साह देखिन्छ । तर कुर्सीमा बसेर काम गर्दा त्यो व्यवहारमा लागु हुन सकिरहेको छैन । नेतृत्व र कार्यान्वयन पक्षको गति नमिल्दा नेपालमा पटक–पटक राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा सोचेअनुसारको परिवर्तन आउन सकेन ।’

मुख्यमन्त्री बानियाँका अनुसार अबका नीतिहरू द्विअर्थी लाग्ने खालको नभई स्पष्ट र नतिजामुखी हुनुपर्छ । सङ्घीयतालाई संस्थागत गर्नका लागि सङ्घीय सरकारले निजामती सेवा ऐन, प्रहरी ऐन, वन र भूमि सम्बन्धी कानुनहरू यथाशीघ्र निर्माण गरी प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनको भनाई छ ।

जनता बलियो भए मात्र राज्य बलियो हुने उनले बताए । नागरिकको हित र विकास निर्माण तथा समृद्धिका लागि तीनै तहका सरकारबिच समन्वय, सहकार्य र सहअस्तित्वको भावना अनुसार काम हुनुपर्ने उनले बताए ।

प्रदेश सुशासन केन्द्र हेटौँडाको सभाहलमा भएको कार्यशालामा विज्ञद्वय उमेशप्रसाद मैनालीले सङ्घीय सुशासन र सुधारका मार्गचित्र र डा. नहकुल सुवेदीले नीति, योजना, बजेट, कार्यक्रम तर्जुमा र कार्यक्रम कार्यान्वयनका आधारभूत चुनौतीहरू र समाधान बारे प्रस्तुति दिएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप