शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौँ: निश्चल बस्नेत

मङ्गलबार, १५ वैशाख २०८३, २३ : ०२
मङ्गलबार, १५ वैशाख २०८३

सारांश

  • चर्चित चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्न माग गरेका छन् ।
  • वादी समुदायको विषयमा फिल्ममा समेटिएको विषयवस्तुप्रति असन्तुष्टि जनाउँदै रोशनी नेपालीले दायर गरेको रिटमा उच्च अदालत पाटनले चलचित्र 'लालीबजार' को प्रदर्शन रोक्न आदेश दिएको छ ।
  • बस्नेतले प्रदर्शनको मुखमा आएर बारम्बार फिल्महरू कानुनी झमेलामा फस्ने गरेको भन्दै अब फिल्म दर्ता र सेन्सरको प्रक्रिया परिवर्तन गर्नुपर्ने तर्क अघि सारेका छन् ।

काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार निश्चल बस्नेतले चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गर्न माग गरेका छन् । प्रदर्शनको अन्तिम तयारीमा रहेको चलचित्र ‘लालीबजार’ लाई अदालतले प्रदर्शनमा रोक लगाउने आदेश दिएपछि बस्नेतले आक्रोश व्यक्त गर्दै यस्तो धारणा राखेका हुन् ।

यम थापा निर्देशित चलचित्र ‘लालीबजार’ वैशाख १८ गतेदेखि देशभर प्रदर्शन हुने तयारीमा थियो । तर, वादी समुदायको विषयमा फिल्ममा समेटिएको विषयवस्तुप्रति असन्तुष्टि जनाउँदै रोशनी नेपालीले सोमबार मुद्दा दायर गरेकी थिइन् । उक्त रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले मङ्गलबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै फिल्मको प्रदर्शन रोक्न आदेश दिएको छ ।

अदालतको यो आदेशप्रति टिप्पणी गर्दै निर्देशक बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले अदालतको आदेश सबैले मान्नुपर्ने भए पनि फिल्म र फिल्मकर्मीहरूको पीडा बुझ्न आवश्यक रहेको उल्लेख गरेका छन् ।

बस्नेतले लेखेका छन्, ‘सम्माननीय अदालतको आदेश नमान्ने कुरै भएन, आदेश सबैले मान्नुपर्छ । तर कुरा जब फिल्मको र फिल्मकर्मीहरूको आउँछ तब फिल्म केका लागि बनाइन्छ, कसरी बनाइन्छ भन्ने कुरा पनि बुझ्नुपर्छ होला । एकतर्फी रूपमा मात्रै हेरेर यसरी नै रिलिजको मुखैमा मुद्दा पर्दै अदालतले निर्णय गर्दै जाने हो भने चलचित्रकर्मीको मनोबल त गिर्छ नै, एकचोटि हैन बारम्बार।’

प्रदर्शनको मुखमा आएर बारम्बार फिल्महरू कानुनी झमेलामा फस्ने गरेको भन्दै बस्नेतले अब फिल्म दर्ता र सेन्सरको प्रक्रिया नै परिवर्तन गर्नुपर्ने तर्क अघि सारेका छन् । ‘अबदेखि फिल्म अदालतमा नै रजिस्टर गरौँ, त्यही सेन्सर गरौँ। खारेज गरौँ विकास बोर्ड, सेन्सर बोर्ड,’ उनले आक्रोशपूर्ण शैलीमा लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप