मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

मोटरबाटोले पदमार्ग मासिँदा पर्यटनमा असर, नयाँ गन्तव्य खोज्न टानको माग

बुधबार, १६ वैशाख २०८३, १० : ३७
बुधबार, १६ वैशाख २०८३

सारांश

  • ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग मासिँदै गएर पर्यटन क्षेत्रमा समस्या परेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
  • मोटरबाटोको जथाभावी विस्तारले विश्वमै ख्यातिप्राप्त पदमार्गहरु छोटिएको र विस्थापित भएकोले टानले वैकल्पिक पदमार्गको खोजी गरिरहेको छ ।
  • टानले पर्यटकको यकिन तथ्यांक नहुँदा योजना निर्माणमा समस्या भएको भन्दै छुट्टै सूचना तथा डाटा केन्द्र स्थापना गर्न माग गरेको छ ।

पोखरा । ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीले पदमार्ग मासिँदै जाँदा समग्र पर्यटनमै समस्या परेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको छ । पदयात्रा पर्यटन क्षेत्रमा देखिएका समस्या र समाधानबारे गण्डकीका पर्यटनमन्त्री यशोदा रिमाललाई ध्यानाकर्षण गराएको हो ।

प्रदेशमा भित्रिने पर्यटकको यकिन तथ्यांक नहुँदा योजना निर्माणमा समस्या भएको अध्यक्ष कृष्ण आचार्यले सुनाए । उनले प्रदेश भित्रिने पर्यटकको संख्या र प्रकार मापन गर्न पर्यटन मन्त्रालयअन्तर्गत नै छुट्टै सूचना तथा डाटा केन्द्र स्थापना गर्नुपर्ने बताए ।

‘कति र कुन प्रकृतिका पर्यटक हाम्रो प्रदेशमा आउँछन् भन्ने तथ्यांक राख्ने एउटा सूचना केन्द्र नितान्त आवश्यक छ । यसले हामीलाई भावी योजना बनाउन सहज बनाउँछ,’ उनले भने, ‘विगतमा यसका लागि बजेट छुट्याएर पनि काम हुन सकेन । अब मन्त्रालयले यसलाई प्राथमिकतामा राख्नुपर्छ ।’

पछिल्लो समय मोटरबाटोको जथाभावी विस्तारले गर्दा विश्वमै ख्यातिप्राप्त पदमार्गहरु छोटिएको र विस्थापित भएकोमा टानले सरकारलाई सचेत गराएको छ । गण्डकीमा विश्वव्यापी ब्रान्ड बनेको पदमार्ग अहिले लोप हुने अवस्थामा पुगिसकेको टानको गुनासो छ ।

‘जनतालाई बाटो चाहिन्छ, हामी विकास र बाटोको विरोधी होइनौं । तर विश्वमा ब्रान्डिङ भइसकेका गन्तव्यलाई संरक्षण गर्दै पदयात्राका लागि वैकल्पिक बाटो खोज्नैपर्छ,’ अध्यक्ष आचार्य भन्छन्, ‘बस्ती नै नभएका ठाउँमा पनि विकासका नाममा मनपरी बाटो खन्ने परम्परा रोक्नुपर्यो ।’ परम्परागत पदमार्ग मासिएपछि टानले नयाँ वैकल्पिक पदमार्गको खोजी गरिरहेको छ ।

टानकै पहलमा नयाँपुलबाट जलजला हुँदै मोहरेडाँडा निस्किने ५ दिने नयाँ पदमार्गको खाका तयार गरिएको छ । यस्तै, सिक्लेस र ताङतिङ क्षेत्रबाट पनि अप्ठ्यारा बाटोहरुलाई जोडेर पदमार्ग विकास गर्न सकिने टानले जनाएको छ । मन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै बिना अनुमति पदयात्रा सञ्चालन गर्ने र विदेशी गाइडहरूको अनियमित गतिविधिले पर्यटन क्षेत्र प्रभावित भएको भन्दै यस्ता कार्यलाई कडाइका साथ नियमन गर्न माग गरिएको छ ।

पदमार्गमा आधारभूत सुविधा, सुरक्षा, र सूचना केन्द्रको अभाव रहेको भन्दै पूर्वाधार विकासमा सरकारी लगानी बढाउन र अन्तर्राष्ट्रिय स्तरमा डिजिटल माध्यममार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री रिमालले पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकार सरोकारवाला संघसंस्थासँग मिलेर अगाडि बढ्न तयार रहेको प्रतिबद्धता व्यक्त गरिन् ।

उनले संघीय सरकारबाट प्रदेशलाई आवश्यक सबै अधिकार हस्तान्तरण नभइसकेका कारण विकास निर्माण र नीतिगत काम गर्न केही अप्ठ्यारो परिरहेको बताएकी छिन् । यद्यपि, पदयात्रा पर्यटनबारे प्रदेश सरकार सचेत रहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप