सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी स्पेसल : विमानस्थलमा विलम्ब

सुर्खेत विमानस्थल विस्तार योजना कसरी भयो अलपत्र ?

बुधबार, १६ वैशाख २०८३, ११ : २६
बुधबार, १६ वैशाख २०८३

सारांश

  • सुर्खेत विमानस्थलको ६ दशक लामो इतिहास छ, तर स्तरोन्नति नहुँदा कर्णालीवासीले अपेक्षित लाभ लिन सकेका छैनन्।
  • धावनमार्गको लम्बाइ कम र पुरानो टर्मिनलका कारण ठूला विमान अवतरणमा समस्या छ भने मौसम खराब हुँदा उडान प्रभावित हुन्छ।
  • विमानस्थल विस्तार योजना विभिन्न राजनीतिक र स्थानीय विरोधका कारण अलपत्र परेको छ, जसले गर्दा बजेट फ्रिज हुनुका साथै विकास कार्य अघि बढ्न सकेको छैन।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको ‘सुर्खेत विमानस्थल’ झन्डै ६ दशक अघि निर्माण भएको हो । यो विमानस्थलको स्तरोन्नति नहुँदा कर्णाली प्रदेशवासीले अपेक्षित लाभ लिन सकिरहेका छैनन् ।

धावनमार्गको लम्बाइ कम हुँदा ठुला विमानले क्षमता अनुसारको भार बोक्न सक्दैनन् भने टर्मिनलसमेत निकै पुरानो छ । यसले गर्दा यो विमानस्थलको सेवा प्रवाह सीमित छ ।

सुर्खेतमा नयाँ विमानस्थल निर्माण गर्ने कि यही विमानस्थलको स्तरोन्नति गर्ने भन्नेबारे बेला–बेला बहस हुँदै आएको छ । यद्यपि यसको प्रस्ट निष्कर्ष अझै निस्किएको छैन ।

२०२० सालमा तत्कालीन राजा महेन्द्र सुर्खेत आउने कुरा उठ्यो । त्यो बेला सुर्खेत सडक यातायातले जोडिएको थिएन । राजा आउने भएपछि हतारमा विमानस्थल बनाउने तयारी भयो । सेनाले पनि सहयोग गर्ने र जनताले जनश्रमदान गर्ने भनियो । राजाकै सवारी भनेपछि सुर्खेती जनता एकसाथ विमानस्थल बनाउन खटिए ।

सडक नहुँदा जमिन सम्याउने रोलर थिएन । दलवीरसिंह कामीले मोटो सिमलको रुख काटेर रोलर तयार गरे । सिमलको मुढालाई केही मान्छेले तान्ने र मुढाको वजन बढाउन  केही मान्छे  त्यसमाथि चढ्न मिल्ने बनाइयो । सोही रोलरले जमिन सम्याउने काम भयो ।

यस्तै, विमानस्थलको माटो ओसारपसार गर्न भैँसीको छाला सिलाएर ठुलो थैला बनाइयो । त्यो थैलामा माटो भरिन्थ्यो र ओसार्ने काम हुन्थ्यो । ०३० को दशकपछि सुर्खेत विमानस्थलमा नियमित हवाई उडान भयो । समयसँगै त्यो बेलाको अवस्था अनुसार संरचनाहरू पनि तयार भए ।

झन्डै पाँच दशकअघिकै आवश्यकता अनुसार बनेका संरचनाको भरमा अहिले विमानस्थल सञ्चालन भइरहेको छ । विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले १ हजार २५५ मिटरको छ, जुन ठुला विमानका लागि पर्याप्त होइन ।

‘धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरणमा समस्या छ, मौसम खराब हुने बित्तिकै विमान आउन सक्दैनन्,’ सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले भने । ठुला जहाजहरू ल्याण्डिङ गराउने, कम भिजिबिलिटीमा पनि फ्लाइटहरू रेगुलर गर्ने लगायतका कामका लागि अहिलेको रनवे पर्याप्त नरहेको उनको भनाइ छ ।

धावनमार्गको लम्बाइ कम हुँदा एटीआर–७२ लगायतका ठुला जहाजले क्षमता अनुसार भार बोक्न सक्दैनन् । कर्णालीको आर्थिक समृद्धिको मूल ढोका वीरेन्द्रनगरमै रहेको विमानस्थलबाट प्रदेशभित्रका जिल्लामा हवाई सेवा नियमित छैन ।

१० वर्षअघि यात्रु अभाव र रात्रिकालीन पार्किङको समस्या देखाउँदै नेपालगञ्ज स्थानान्तरण भएको कर्णालीको आन्तरिक हवाई सेवालाई पुनः सुर्खेत विमानस्थलबाट सञ्चालन गर्ने भनिए पनि त्यसअनुसार काम हुन सकेको छैन ।

1

जग्गा रोक्कासम्मको प्रक्रिया अघि बढ्दासमेत रोकियो काम

०७० को दशककै सुरुवातदेखि यो विमानस्थल विस्तारको चर्चा सुरु भएको हो । यो विषय चुनावी एजेन्डा नै बनेको थियो । देश सङ्घीयतामा गइसकेपछि प्रदेश सरकार बन्यो । वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बनेपछि मान्छेको चाप बढ्यो । सामाजिक, आर्थिक, शैक्षिकदेखि राजनीतिको केन्द्रविन्दु बन्यो ।

त्योसँगै प्रदेश सरकारले सुर्खेत विमानस्थललाई विस्तार, स्तरोन्नतिसँगै चलायमान बनाउने र आन्तरिक हवाई उडानको योजना अघि सा¥यो । तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालमा ०७७ तिर १ हजार २५५ मिटरको धावनमार्गलाई विस्तार गरेर १ हजार ५०० मिटर बनाउने गरी गृहकार्य सुरु भयो । त्यो भनेको हाल भइरहेको धावनमार्गलाई ४६० मिटर थप विस्तार गर्ने हो ।

साथै, दक्षिणतर्फ लाइटिङका लागि २ सय मिटर बढाउने भनियो । झन्डै २ अर्ब बराबर रकम लाग्ने अनुमानसहित विमानस्थल विस्तार र स्तरोन्नतिका लागि प्रदेश सरकारले पहिलो चरणमा ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्ट्याए ।

विस्तारका लागि केन्द्र सरकार अन्तर्गतको नागरिक उड्डयन प्राधिकरण र प्रदेश सरकारबिच ०७७ असोज १५ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । केन्द्रमा त्यो बेला नागरिक उड्डयनमन्त्री एमालेका योगेश भट्टराई थिए ।

उक्त पत्रमा ‘विमानस्थलको धावनमार्गको लम्बाइ कम्तीमा १ हजार ५०० मिटर विस्तार तथा स्तरोन्नति गरी सुविधासम्पन्न प्रदेशस्तरीय हब विमानस्थलको रूपमा विकास गर्न र यस कार्यमा साझेदारी गर्न दुवै पक्ष मञ्जुर छन्’ भनिएको छ ।

यस्तो छ हस्ताक्षर पत्रः

photo- 1  ashojma vayako samjhuta

सोही अनुरुप, तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा ०७७ मंसिरको अन्तिम साता बसेको बैठकले विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय ग¥यो । नागरिक उड्डयन प्राधिकरण र प्रदेश सरकारले विस्तार कार्य अगाडि बढाउन जग्गाको कारोबार रोक्का गर्दै लगत सङ्कलनको कार्य अघि बढाउने तयारी ग¥यो ।

त्यो बेला नक्सामा केही फेरबदल भयो । निर्माण कार्य सुरु गर्न नजिक आउँदा नक्सा परिवर्तन गरी उत्तरतिरमात्रै ६०० मिटर धावनमार्ग विस्तार गर्ने तय भयो ।

विमानस्थलको बिच भागबाट पूर्व–पश्चिम ९०–९० मिटर चौडाइ बढाइने पछिल्लो डकुमेन्टमा छ । रात्रिकालीन उडान पनि भर्ने गरी विमानस्थल विस्तार गर्ने उद्देश्य थियो । प्रदेश सरकारले नागरिक तहमा कुनै छलफल नै नगरी जग्गा रोक्का प्रक्रियाका लागि पत्र लेख्ने काम ग¥यो, जसको स्थानीयस्तरमा व्यापक विरोध भयो ।

०७७ पुस ९ गते स्थानीय टीकाराम आचार्यको नेतृत्वमा नागरिक सरोकार समिति गठन गरियो । उक्त समितिले विमानस्थलका लागि अहिलेको स्थान प्रभावकारी नहुने निष्कर्ष निकाल्यो । त्यो बेला प्रतिपक्षमा रहेका हालका मुख्यमन्त्री यामलाल कँडेलले सहजीकरण नगरिदिएको तत्कालीन एक मन्त्रीले आरोप लगाए । ‘हामीले सबै काम अघि बढायौँ, तर त्यो बेला हालका मुख्यमन्त्री, नगरपालिका कसैले पनि सहयोग गरेन,’ ती मन्त्रीले रातोपाटीसँग भने ।

विवाद बढेपछि विमानस्थल विस्तारको काम अघि बढ्न सकेन । केन्द्र र प्रदेश सरकारले छुट्ट्याएको १ अर्ब १ करोड रकम फ्रिज भयो, तर पनि प्रदेशदेखि केन्द्रले त्यसपछिका आर्थिक वर्षमा विमानस्थल विस्तार र स्तरोन्नति कार्यक्रममा बजेट विनियोजन गरिरहे ।

आर्थिक वर्ष ०७८÷०७९ मा १ अर्ब ५० करोड बराबरको रकम विनियोजन भयो । यद्यपि दलहरूबिच साझा धारणा नहुँदा विस्तार कार्य अघि बढ्न सकेन ।

तत्कालीन सरकारको भनाइ थियो— विमानस्थलबाट प्रभावित हुने क्षेत्रमा स्थानीयदेखि सबैतिर एमालेका जनप्रतिनिधि र अगुवाहरू थिए । यामलाल कँडेल पनि यही क्षेत्रबाट सांसद थिए, तर उनीहरूले जनतालाई सम्झाउन छाडेर उल्टो उचाल्ने काम गरे ।

विस्तार योजना अनुसार, उत्तरतर्फ धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११, र १२ नम्बर वडाका करिब ९२३ घरधुरी र अमरज्योति विद्यालय प्रभावित हुन्थ्यो । नागरिक सरोकार समितिले यस्तो अवस्थामा दीर्घकालीन र अन्तर्राष्ट्रिय विमानस्थलका लागि हाल भएको स्थान प्रभावकारी नहुने निष्कर्ष निकाल्यो ।

०७७ माघ ४ गतेसम्म उक्त समितिले पटक–पटक विस्तारको काम रोक्न भन्दै सबैजसो निकायमा ज्ञापनपत्र बुझाउने काम गरेको देखिन्छ ।

हेर्नुहोस् नागरिक सरोकार समितिको पत्र

1 (1)1 (2)

नगरपालिकाले नै सहयोग नगरेपछि...

विमानस्थल विस्तार र स्तरोन्नति कार्य रोकिनुमा त्यो बेलाको वीरेन्द्रनगर नगरको नेतृत्वको भूमिका देखिन्छ । त्यो बेला वीरेन्द्रनगरको मेयरका रूपमा कांग्रेसका देवकुमार सुवेदी थिए भने उपमेयर एमालेकी मोहनमाया ढकाल थिइन् ।

उक्त टिमले पनि प्रदेश सरकार र केन्द्र सरकारको विस्तार र स्तरोन्नति कार्यमा सहयोग गरेन । जनताको प्रतिनिधित्व गर्ने भन्दै ०७७ माघ ५ गते नगरपालिकाले प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र केन्द्रको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र नै लेख्यो ।

पत्रमा भनिएको छ, ‘धावनमार्ग विस्तारको सम्बन्धमा सो क्षेत्रका स्थानीय बासिन्दाबाट विस्तार कार्य अघि नबढाउन अनुरोध भई आएको सम्बन्धमा सो क्षेत्रमा विमानस्थल विस्तारमा कठिनाइ देखिएकाले सुर्खेत जिल्लाको अन्य नयाँ वैकल्पिक स्थानमा विमानस्थलको खोजी गरी निर्माण गर्ने व्यवस्था हुन प्रदेश सरकार तथा संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने ।’

Nagarpalikako_patra_ 1

 

सोही पत्र र चर्को विरोध थेग्न नसकेपछि ०७८ फागुन अन्तिम सातातिर तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको अध्याय नै बन्द गरिदिए । त्यसपछि रोक्का भएको जग्गा फुकुवा गरियो ।

विमानस्थल विस्तार कार्य महँगो हुने देखिएको शाहीले बताएका थिए । त्यो बेला राजनीतिक दलहरू एकजुट हुन नसक्नु, नागरिकहरूको समस्या समाधान गर्नतर्फ ध्यान नदिनाले नै विमानस्थल विस्तारको कार्य अघि बढ्न नसकेको नागरिक समाजका अगुवा पीताम्बर ढकाल बताउँछन् । नेताहरूको असक्षमताकै कारण विस्तार कार्यले मूर्तरुप नपाएको उनको भनाइ छ ।

नेताहरूको ढुलमुले राजनीतिले विस्तारमा अवरोध

वीरेन्द्रनगरका तत्कालीन मेयर देवकुमार सुवेदीले ०८० पुसमा विमानस्थलकै विषयमा बसेको एक सर्वदलीय बैठकमा त्यो बेला जनताको मागलाई नै मध्यनजर गरेर विस्तार कार्य स्थगित गर्न भनिएको बताए । ‘मेरो अध्यक्षतामा बसेको बैठकले नै निर्णय गरेको हो । त्यो बेला प्रभावित हुने क्षेत्रका जनताहरू मकहाँ आएर रोएका थिए,’ उनले भनेका छन् ।

यतिमात्र होइन, सुवेदीले त्यो बेला विस्तार कार्यमा केही व्यक्तिहरूले सहयोग नगरेको पनि बताए । उनले नेताहरूलाई विकासमा रोटी सेक्ने काम नगर्न पनि चेतावनी दिएका थिए ।

‘त्यो बेला एकातिर जनताहरू आक्रोशित भएको, अर्कोतिर प्रदेश सरकार लगायतका निकायले आवश्यक प्रक्रिया नपु¥याएकाले वैकल्पिक बाटो खोलिएको हो,’ सुवेदीले भनेका थिए ।

उनले भनेजस्तै विमानस्थल विस्तार विषयलाई नेताहरूले राजनीतिको रोटी सेक्ने अस्त्र बनाइरहेका छन् । अहिलेका मुख्यमन्त्री यामलाल कँडेलमाथि त्यो बेला विमानस्थल विस्तार कार्यमा सहयोग नगरेको आरोप छ ।

विस्तारका लागि जग्गा रोक्का भइरहेका बेला कँडेल प्रभावित क्षेत्रका बासिन्दा कहाँ पुगेर नै विमानस्थल विस्तारको विषयमा छलफल गर्थे । नागरिकहरूले यहाँ उपयुक्त नहुने कुरा उनी समक्ष राख्थे ।

पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पनि आफ्नो पालामा काम सुरु गर्दा वीरेन्द्रनगरका कसैले पनि सहयोग नगरेको बताए । ‘उनीहरूले लिखित निर्णय गरेर एयरपोर्ट नबनाउँ भनेर पठाए,’ शाहीले रातोपाटीसँग भने, ‘हामीले टोटल लागत कस्ट निकालेर, डिजाइन गरेर, डीपीआर तयार गरेर, जग्गाको लागि सार्वजनिक सूचना नै निकाल्यौँ । यति एरियाभित्रको जग्गा भनेर सूचना निकालिएको थियो ।’

तर, नगरपालिकाले विस्तार कार्य रोक्न र अन्यत्र विकल्प खोज्न पत्र नै पठायो । अहिले त्यो बेलाका सबैजसो व्यक्तिहरू पुनः यही विमानस्थल विस्तारको विकल्प नभएको बताउँछन् ।

शाहीले भने, ‘त्यो बेला सपोर्ट गर्ने एक जना नेता पनि थिएनन् । त्यसभित्र यामलालजी पनि पर्नुभयो, जसका कारण विमानस्थल विस्तार हुन सकेन ।’

उल्टै नेताहरूकै रणनीतिमा संघर्ष समिति बनाइयो र आन्दोलन गर्न लगाइएको शाही बताउँछन् । ‘त्यो बेला सपोर्ट गरेको भए अहिलेसम्म आधा बनिसक्थ्यो,’ उनले भने ।

पूर्वमुख्यमन्त्री शाहीका अनुसार त्यो बेला मुआब्जाको विषयमा पनि रकम विनियोजन भइसकेको थियो । विद्यालयको लागि पैसा लैजान भनिएको थियो ।

विमानस्थल विस्तारको अध्याय बन्द गर्ने पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही त्यो बेला केही व्यक्तिले जनतालाई उचालेर त्यहाँ कोही झण्डावाल गाडी आए ढुङ्गा हान्नु भनेरसमेत भन्न भ्याएको बताउँछन् । ‘म मुख्यमन्त्री भएपछि सबैलाई बोलाएँ । आएकामध्ये ९९ प्रतिशतले यसलाई विस्तार गर्न दिदैनौँ भने,’ शाहीले भने, ‘अमरज्योतिको हेडसरले त यसले हामीलाई टर्चर दियो, विद्यार्थीको मानसिक असरको पनि क्षतिपूर्ति तिर्नुपर्छ भनेर भने ।’

surkhet-airport-jagga-adhigrahan_ccv3RbZSX9

यसो भनेपछि आम जनताको मनमा विस्तार कार्य उपयुक्त छैन, हुन्न भनेपछि विस्तार कार्यको अध्याय बन्द गरिएको शाहीको भनाइ छ । उनले वर्तमान विमानस्थल विस्तारको अध्याय बन्द गरेर प्राधिकरण र सङ्घीय सरकारको समन्वयमा पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाटमा नयाँ विमानस्थल बनाउने योजना अघि सारे ।

उक्त विषय अगाडि बढाउन तत्कालीन रक्षामन्त्री पूर्णबहादुर खड्काको महत्त्वपूर्ण भूमिका थियो ।

जब वर्तमान विमानस्थललाई जङ्गलमा परिणत गर्ने पत्र आयो

रामघाटमा नयाँ विमानस्थल बनाउने विषयमा अध्ययन पहिल्यै भएको थियो । वर्तमान विमानस्थल विस्तार नगर्ने निधोमा पुगेपछि ०७९÷०८० को प्रदेशको बजेटमा रामघाटमा विमानस्थल बनाउन सङ्घीय सरकारसँग समन्वय गर्ने भनियो ।

०७९ मा भएको प्रदेश सभा चुनावमा पुनः यामलाल कँडेलले आफ्नो चुनावी घोषणापत्रमा विमानस्थल विस्तार र स्तरोन्नतिको कुरा ल्याए । पहिला विस्तारमा सहयोग नगरेको आरोप खेपेका उनले पुनः त्यही कुरालाई चुनावी एजेन्डा बनाएपछि सबै आश्चर्यमा परे ।

०८० वैशाख २७ गते केन्द्रको वन तथा वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता महाशाखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ‘भेरीगंगा रामघाट विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूची स्वीकृत सम्बन्धमा’ लेखेको पत्रमा विभिन्न ७ वटा शर्त उल्लेख छ । जसमध्ये ७ नम्बर बुँदामा नयाँ विमानस्थल बनेर सञ्चालनमा आएको खण्डमा वर्तमान विमानस्थललाई वन क्षेत्रको रूपमा विकास गर्ने उल्लेख छ ।

उक्त पत्र सार्वजनिक भएपछि कर्णालीको राजनीतिमा नयाँ तरङ्ग नै पैदा भयो । सो पत्रले एमाले नेता यामलाल कँडेल त्रसित भए र वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्छ भन्ने आवाज उठाउन थाले ।

उनीसँगै कांग्रेसका पूर्वसांसद हृदयराम थानी यही विमानस्थललाई विस्तार गर्नुपर्छ भनेर केन्द्रको नागरिक उड्डयन कार्यालयसम्मै पुगे । त्यसो गर्नुका पछाडि पूर्वमा विमानस्थल बने वीरेन्द्रनगरको प्रभाव कमजोर हुन सक्ने आकलन हो । यद्यपि पूर्वमा बन्ने भनिएको विमानस्थलको काम पनि खासै अघि बढेको छैन ।

भेरीगंगाको रामघाटमा नयाँ विमानस्थल बनाउने चर्चासँगै झस्किएका वीरेन्द्रनगरका सरोकारवालाहरूले वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्ने विषयमा बहस सुरु गरे । कँडेल र थानीकै अगुवाइमा ०८० पुस २४ गते वीरेन्द्रनगरपालिकामा सर्वदलीय बैठक बस्यो ।

वीरेन्द्रनगर नगरपालिकाले राखेको सर्वदलीय बैठकमा सुर्खेतस्थित सम्पूर्ण राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, निजी क्षेत्र, सांसद तथा स्थानीय जनप्रतिनिधि सहभागी थिए । उनीहरूले विस्तारका क्रममा हुने समस्या समाधान गर्न तयार रहेको र वर्तमान विमानस्थलको विकल्प नरहेको निष्कर्ष निकाले ।

स्वयं वीरेन्द्रनगर नगरपालिकाले नै विस्तारमा कुनै बाधा नरहेको बतायो । उक्त सर्वदलीय बैठकले विभिन्न ६ वटा निर्णय ग¥यो ।

यस्ता छन्, निर्णयः

— सुर्खेत विमानस्थलबाट दैनिक रूपमा बुद्ध एयरले २ र श्री एयरले १ वटा उडान सञ्चालन गरिरहेका छन्, जसले गर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र संघीय राजधानी काठमाडौँबिच आउने–जाने काम सहज बनाएको छ । हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन नगरी नहुने क्षेत्रको विस्तार तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने ।

— सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन सुर्खेत विमानस्थल विस्तार गर्दा अधिग्रहण गरिने जग्गा र भौतिक संरचनाको उचित मुआब्जा तथा चलनचल्तीको मूल्यमा स्थानीयवासीहरूलाई उपलब्ध गराउने गरी नीति बनाउन प्रदेश सरकारमार्फत संघीय सरकारसँग माग गर्ने ।

— कर्णाली प्रदेशको नमुनाको रूपमा रहेको विध्यालय श्री अमर ज्योति नमुना माद्यमिक विध्यालयमा हजारौँ विद्यार्थी अध्ययनरत भएको अवस्था र उक्त विद्यालय विमानस्थलको सिमानाको निकट छ । सुर्खेत विमानस्थलको विस्तार कार्यलाई सहज र छिटो छरितो गर्नका लागि उपयुक्त स्थानमा तत्काल स्थानान्तरण गर्न योजना र कार्यक्रमसहित पहलकदमी लिन प्रदेश सरकारसँग समझौता गर्ने ।

— कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र कर्णाली प्रदेश अन्तर्गत रहेका विमानस्थल र नजिक रहेका विमानस्थलमा सुर्खेत विमानस्थलवाट नियमित हवाई सेवा सञ्चालन गर्न संघीय सरकारसँग माग गर्ने र आवश्यक पहल गर्न प्रदेश सरकारको ध्यानाकर्षण गर्ने ।

— सुर्खेत विमानस्थलमा दैनिक रूपमा ३०० भन्दा बढी यात्रु आवत जावत गर्ने विमानस्थलमा परिणत भएको अवस्था छ, तर भौतिक संरचनामा कुनै सुधार भएको अवस्था छैन । तसर्थ टर्मिनल भवन, यात्रु बस्ने स्थान, व्यवस्थित शौचालय लगायत आवश्यक भौतिक संरचना निर्माण गर्न नेपाल उड्डयन प्राधिकरणसँग माग गर्ने ।

— सर्वदलीय तथा सर्वपक्षीय बैठकवाट गरिएका निर्णयहरू कार्यपालिकाको बैठकमार्फत कार्यान्वयनका लागि अगाडि बढाउन सम्बन्धित निकायमा अनुरोध गर्ने ।

­यामलाल कँडेल मुख्यमन्त्री बने, तर पनि अघि बढ्न सकेन विस्तारको कार्य

०८० चैत अन्तिमसाता यही क्षेत्रका सांसद यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री बने । यद्यपि अहिलेसम्म विमानस्थल विस्तारको कुनै काम अघि बढ्न सकेको छैन ।

उनी नेतृत्वको सरकारले ल्याएको आर्थिक वर्ष ०८१÷०८२ को बजेटको बुँदा नम्बर ७४ मा भनिएको छ, ‘संघीय सरकारसँगको सहकार्यमा विमानस्थल विस्तार तथा स्तरोन्नति गर्न आवश्यक बजेट व्यवस्था गरेको छु ।’

तर केन्द्र र प्रदेश दुवैले विमानस्थल विस्तारका लागि बजेट छुट्ट्याएनन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सङ्घीय सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थललाई विस्तार र थप पूर्वाधार विकास गरिने उल्लेख थियो ।

‘विमानस्थल विस्तार गर्दा विद्यालय, सडक लगायतका भौतिक संरचना स्थानान्तरण तथा निर्माणको आवश्यक व्यवस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

साथै, प्रदेशभित्रको हवाई सेवालाई नियमित, सुलभ र सहज बनाउन सुर्खेत विमानस्थललाई केन्द्र बनाएर प्रदेशभित्रका विमानस्थलमा नियमित उडान गर्ने हवाई सेवा प्रदायकलाई सहुलियत प्रदान गर्ने नीति लिइने उल्लेख छ । यद्यपि अहिलेसम्म विस्तारका लागि कुनै काम अघि बढ्न सकेको छैन ।

०८१ फागुन १८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले थप बजेट व्यवस्थापन सम्बन्धमा अर्थ मन्त्रालयलाई लेखेको एक पत्रमा सुर्खेत विमानस्थल विस्तारका लागि १० अर्ब लागत अनुमान रहेको उल्लेख ग¥यो ।

र, उक्त वर्ष १० करोड रकम विनियोजन गरेको र ४ अर्ब ९० करोड रकम सुनिश्चितता गर्न अर्थमन्त्रालयसँग माग गरिएको थियो ।

यद्यपि उक्त विनियोजित रकम पनि फ्रिज गएको छ । पछिल्लो समय सुर्खेत विमानस्थल विस्तारको चर्चा नै सेलाएको छ । यद्यपि सुर्खेत विमानस्थलका प्रमुख हिराजन काफ्लेले विस्तार र स्तरोन्नतिको विषयमा कुरा भइरहेको बताए ।

‘यहाँबाट हुने कुरा हैन, हेड अफिसबाटै हुने भएकाले माथि अध्ययनको विषय बनेको छ,’ उनले भने, ‘यसअघि कार्यान्वयन भएन । राजनीतिक कुरा पनि भयो । अहिले राजनीतिक अवस्था परिवर्तन भएको छ ।’

सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मण कँडेल वर्तमान विमानस्थललाई विस्तार गर्नुको विकल्प नभएको बताउँछन् । कर्णालीको पर्यटन क्षेत्र चलायमान गराउन, सर्वसाधारणको पहुँचमा ल्याउनका लागि अहिलेको विमानस्थललाई नै विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले विस्तारको काम केन्द्र सरकारको भएकाले माथिबाट निर्णय भएपछि स्थानीयस्तरमा सहजीकरण गर्न नगरपालिका तयार रहेको बताइन् ।

‘अहिले यसको विस्तारको विकल्प छैन, हामी तल्लो तहमा सहयोग गर्न तयार नै छौँ,’ उनले भनिन्, ‘केन्द्र सरकारले आगामी बजेटमा समेट्नुपर्छ भनेर हामीले भनेका पनि छौँ ।’

प्रदेश सरकारका उद्योग, पर्यटनमन्त्री सुरेश अधिकारीले विमानस्थल विस्तारका लागि निरन्तर पहल भइरहेको दाबी गरे । ‘हामीले केन्द्रमा पहल गरिरहेका छौँ । यहाँबाट गर्नुपर्ने सहयोग गर्न तयारै छौँ,’ उनले भने ।

विमानस्थलका एक अधिकारीचाहिँ विगतको जस्तो विस्तारको विषयमा यो क्षेत्रका सांसददेखि जनप्रतिनिधिहरूले आवाज उठाउन छाडेको बताउँछन् । ‘सार्वजनिक केही कार्यक्रममा बोल्ने बाहेक व्यवहारमा केही प्रगति भएको छैन,’ ती अधिकारीले भने ।

सुर्खेत—२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रमेशकुमार सापकोटाले यही विमानस्थल विस्तार गर्न आवश्यक रहेको र त्यसका लागि आफूले केन्द्रमा पहल गरिरहेको बताए । ‘म लागेकै छु, माथि मन्त्रालयमा पनि कुरा राखेको छु,’ उनले भने, ‘आगामी बजेटमा प्राथमिकता पाउने आशा छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप