सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘सुर्खेत विमानस्थलको धावनमार्ग ३०० मिटरमात्रै विस्तार गरे ५० वर्षका लागि पुग्छ’

बुधबार, १६ वैशाख २०८३, ११ : ४४
बुधबार, १६ वैशाख २०८३

सारांश

  • सुर्खेत विमानस्थलको धावनमार्ग ३०० देखि साढे ३०० मिटर विस्तार गरे आगामी ५० वर्षका लागि कर्णालीको आवश्यकता धान्न सकिन्छ।
  • नयाँ विमानस्थल निर्माण गर्नुभन्दा हालको विमानस्थलको विस्तार र स्तरोन्नति नै महत्त्वपूर्ण छ, जसले हवाई भाडा घटाउनुका साथै सुरक्षा जोखिम पनि अन्त्य गर्दछ।
  • विमानस्थल विस्तारका लागि नेतृत्वको इच्छाशक्तिको कमी मुख्य कारण हो, जबकि ३ देखि ४ अर्ब रुपैयाँमा यो काम सम्पन्न हुन सक्छ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अवस्थित सुर्खेत विमानस्थल निकै पुरानो र साँघुरो संरचनामा सीमित छ । भौगोलिक र रणनीतिक हिसाबले हेर्ने हो भने यो विमानस्थल समग्र कर्णालीको समृद्धिका लागि एउटा मूल ढोका हो । कर्णालीका दुर्गम बस्तीहरूलाई राष्ट्रिय मूलधारसँग जोड्न र यहाँको आर्थिक विकासलाई गति दिन यो विमानस्थलको भूमिका अपरिहार्य छ । त्यसैले यो विमानस्थलको स्तरोन्नति र विस्तार हुनु अहिलेको मुख्य आवश्यकता हो ।

अहिले सुर्खेतमा नयाँ विमानस्थल निर्माणका लागि बहस गर्नुभन्दा यही विमानस्थलको विस्तार र स्तरोन्नति नै महत्त्वपूर्ण छ । हामीले पछिल्लो समय नेपालमा ठुला–ठुला लगानीमा निर्माण भएका पूर्वाधारयुक्त अन्तर्राष्ट्रिय विमानस्थलहरूको अवस्था देखिरहेका छौँ, चाहे त्यो भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल होस् वा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल । ती विमानस्थल हालसम्म पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । त्यहाँ नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा लगानी बालुवामा पानी हालेसरह भइरहेको छ ।

यस्तो अवस्थामा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमै रहेको सुर्खेत विमानस्थललाई यथास्थितिमा छाडेर पूर्वी सुर्खेतमा अर्को विमानस्थल बनाउने कुरा गर्नु भनेको फेरि पनि राज्यको अर्बौं रुपैयाँ त्यत्तिकै खर्च गर्नु हो । नयाँ विमानस्थल बनाउनु र त्यसलाई व्यावसायिक रूपमा चल्ने बनाउन अर्को २०–३० वर्ष कुर्नु पर्छ । त्यसैले वीरेन्द्रनगरभित्रको विमानस्थललाई ६०० मिटरसम्म बढाउने चर्चा नचलेको होइन् । यहाँ चर्चामात्रै भए । धेरै बजेट नभएको अवस्थामा यही विमानस्थलको ३०० देखि साढे ३०० मिटर धावनमार्ग विस्तार गर्ने हो भने यसले आगामी कम्तीमा ५० वर्षका लागि कर्णालीको आवश्यकतालाई धान्न सक्छ ।

निजी क्षेत्र (हामी)ले पटक–पटक विमानस्थल विस्तार र स्तरोन्नतिका लागि आवाज उठाउँदै आयौँ । यो विमानस्थलको विस्तार र स्तरोन्नति नै तत्कालको निर्विकल्प समाधान हो भन्दै आयौँ । यस विमानस्थलमार्फत कर्णालीका दुर्गम जिल्लाहरू हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालिकोटका लागि सुर्खेतबाटै नियमित उडान हुनुपर्छ । विडम्बनाको कुरा, आज पनि हामी कर्णालीवासीहरू आफ्नै प्रदेशको राजधानीबाट प्रदेशभित्रकै दुर्गम जिल्लाहरूमा जान पाउँदैनौँ । आज पनि हामी नेपालगन्ज झरेर त्यहाँबाट हुम्ला, जुम्ला वा डोल्पाका लागि जहाज चढ्न बाध्य छौँ । यो पहुँच र सुविधा निजी क्षेत्रले खोजिरहेको छ । यो माग पूरा हुनु कर्णालीको हितमा छ ।

यस विषयमा प्रदेश सरकार र स्थानीय सरकारको भूमिका अत्यन्तै निराशाजनक देखिएको छ । उहाँहरूले केवल कुरामात्र गर्नुभयो, तर कामको प्रगति भने शून्य देखिन्छ । विगतलाई फर्केर हेर्दा तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाम लिनैपर्छ, उहाँको कार्यकालमा एयरपोर्ट विस्तारका लागि ठोस पहल भएको थियो । त्यसका लागि बजेट समेत विनियोजन गरिएको थियो । उहाँ काम गर्न तयार हुनुहुन्थ्यो, तर तत्कालीन राजनीतिक परिस्थितिका कारण त्यो सम्भव हुन सकेन ।

मेरो बुझाइमा त्यो समयमा व्यक्तिगत टकराव र राजनीतिक दलहरूबिचको अस्तित्वको लडाइँले काम रोकिन पुग्यो । एकले अर्कालाई स्वीकार नगर्ने प्रवृत्तिका कारण एयरपोर्ट विस्तारको योजना ओझेलमा परेको हो । अहिलेको प्रदेश सरकारले पनि एयरपोर्ट विस्तारको विषयमा खासै चासो दिएको देखिँदैन । सङ्घीय मन्त्री वा प्रधानमन्त्रीसँगको भेटघाटमा ‘एयरपोर्ट विस्तार गर्छौं’ भनेर कुरा गर्ने तर व्यवहारमा काम नगर्ने प्रवृत्ति हाबी छ ।

ग्राउन्डमा आएर हेर्दा कामको प्रगति ‘शून्य’ छ । यो समस्या वीरेन्द्रनगर नगरपालिका र प्रदेश सरकार दुवैमा देखिएको छ । वर्तमान मुख्यमन्त्री यामलाल कँडेल सुर्खेत क्षेत्र नम्बर २ (१) बाट निर्वाचित हुनुभएको हो । उहाँले चुनावका बेला ‘म विमानस्थल विस्तार गर्छु’ भनेर आफ्नो मूल चुनावी एजेन्डा बनाउनुभएको थियो । उहाँ मुख्यमन्त्री बनेको पनि दुई वर्ष भइसक्यो, तर विमानस्थल विस्तारको काममा उहाँको स्तरबाट पनि कुनै ठोस प्रगति देखिएको छैन । भाषणमा ठुला कुरा गर्ने तर काममा पछि हट्ने यो प्रवृत्ति कर्णालीको विकासका लागि घातक छ ।

अब आगामी आर्थिक वर्षका लागि सङ्घीय सरकारले बजेट ल्याउने बेला भएको छ । यो बजेट निर्माणको प्रक्रियामा प्रदेश र स्थानीय सरकारले केन्द्र सरकारसँग प्रभावकारी ‘लबिङ’ गर्न जरुरी छ । सङ्घीय सरकारको बजेटमार्फत सुर्खेत विमानस्थललाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गराउनुपर्छ र यसको विस्तार र स्तरोन्नतिको काम अगाडि बढाउनुपर्छ । यो नै हामी निजी क्षेत्रको मुख्य भनाइ हो ।

सुर्खेत विमानस्थल विस्तार नहुँदा यहाँका नागरिक र निजी क्षेत्रले ठुलो मार खेपिरहेका छन् । सबैभन्दा मुख्य समस्या हवाई भाडाको हो । अहिले सुर्खेतबाट काठमाडौँ उडान गर्दा भाडा अत्यन्तै महँगो छ । उदाहरणका लागि आजको मितिमा नेपालगन्जबाट ७ हजार ७५ रुपैयाँमा काठमाडौँ उड्न पाइन्छ भने सुर्खेतबाट त्यही यात्राका लागि हामीले १० हजार ५०० रुपैयाँभन्दा बढी तिर्नुपरेको छ । यसको कारण भनेकै धावनमार्ग छोटो भएकाले ७२ सिट वा ८० सिट क्षमताका जहाजहरू यहाँबाट पूर्ण क्षमतामा (फुल लोड) उडान भर्न सक्दैनन् ।

जहाजमा ७२ सिट भए पनि सुर्खेतको तापक्रम र छोटो रनवेका कारण बुद्ध एयरले जम्मा ५० देखि ५५ जना र श्री एयरको ८० सिट क्षमताको जहाजले ५५ देखि ६० जनामात्र प्यासेन्जर बोक्ने गर्छन् । यसको अर्थ, एउटा उडानमा झन्डै १७ देखि १८ वटा सिट खाली राखेर जहाज उडाउनुपर्ने बाध्यता छ । त्यो खाली सिटको क्षतिपूर्ति ५०–५५ जना यात्रुको भाडामा जोडिन्छ, जसका कारण हवाई भाडा महँगो भएको हो । यदि विमानस्थल ३००–३५० मिटरमात्र विस्तार भयो भने जहाजहरूले पूर्ण क्षमतामा यात्रु बोक्न सक्छन् र भाडादर स्वतः नेपालगन्जको हाराहारीमा आउँछ ।

अर्को गम्भीर विषय सुरक्षाको पनि छ । अहिले सुर्खेतमा भइरहेको उडानलाई एक प्रकारको ‘फोर्स ल्यान्डिङ’ भन्न सकिन्छ । धावनमार्गको अन्तिम विन्दुसम्म पुगेर जहाज रोक्नुपर्ने अवस्था छ । यसले गर्दा कुनै पनि बेला अप्रिय घटना हुन सक्ने जोखिम रहन्छ । विमानस्थल विस्तार भयो भने यो जोखिम हट्छ र सुरक्षित उडान सुनिश्चित हुन्छ ।

म सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा हामीले यस विषयमा धेरै पहल गरेका थियौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएर सुर्खेत आउँदा हामीले उहाँलाई उद्योग वाणिज्य संघको कार्यकक्षमै राखेर ज्ञापनपत्र बुझाएका थियौँ । हाम्रो मुख्य एजेन्डा सुर्खेत विमानस्थल विस्तार, १३२ केभी प्रसारण लाइन र कर्णाली प्रदेशस्तरीय औद्योगिक क्षेत्र नै थियो । त्यतिमात्र होइन, म आफैँ नेतृत्व गरेर काठमाडौँ गई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापनपत्र बुझाएको थिएँ । त्यो समयमा उहाँले ‘कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँग कुरा गरिरहेको छु, विमानस्थल विस्तार हुन्छ’ भनेर आश्वासन पनि दिनुभएको थियो, तर कुनै काम अघि बढेन ।

विमानस्थल विस्तार गर्दा १० अर्ब रुपैयाँ लाग्छ र त्यसको साटो नयाँ एयरपोर्ट बनाउनु राम्रो भन्ने तर्क पनि केहीले दिने गरेका छन् । यो १० अर्बको लागत अनुमान गलत तरिकाले निकालिएको छ । विमानस्थल नजिकैको खोलामा रहेको पुलसम्मको जग्गा अधिग्रहण गर्ने योजनाका आधारमा त्यो लागत अनुमान तयार पारिएको हो, जुन आवश्यक नै छैन । धावनमार्ग विस्तारका लागि जति जग्गा चाहिन्छ, त्यतिमात्र लिने हो भने ३ देखि ४ अर्ब रुपैयाँमा यो काम सम्पन्न हुन्छ । आज सुर्खेतमा नयाँ विमानस्थल बनाउने हो भने २० अर्बले पनि पुग्दैन । यदि हामीले ३–४ अर्बमा यो विमानस्थल विस्तार गर्ने हो भने बाँकी रहेको ठुलो रकमले कर्णाली राजमार्गलाई ‘टु–लेन’ बनाउन सकिन्छ ।

एकातर्फ ४ अर्बमा विमानस्थल विस्तार हुने र अर्कोतर्फ १५ अर्बले कर्णाली राजमार्गको सुधार भई रारा तालसम्म पुग्ने बाटो राम्रो हुने हो भने कर्णालीको कायापलट हुनेछ । यसले हवाई र सडक दुवै माध्यमबाट कनेक्टिभिटी बढाउँछ । पर्यटकहरूको चाप बढ्छ र रारा लगायतका कर्णालीका पर्यटकीय स्थलहरूमा मानिसहरूको भिड लाग्छ । सरकारले कुनै पनि पूर्वाधारमा लगानी गर्दा त्यसबाट प्राप्त हुने प्रतिफलको क्याल्कुलेसन गर्नुपर्छ । कति पैसा खर्च गर्दा कति आम्दानी हुन्छ र जनताले कति सुविधा पाउँछन् भन्ने कुरा मुख्य हो ।

अन्ततः मेरो विचारमा सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति नहुनुमा नेतृत्वको अक्षमता नै प्रमुख कारण हो । पैसा नभएर यो काम रोकिएको होइन, इच्छाशक्ति नभएर रोकिएको हो । नेपालजस्तो मुलुकका लागि ३–४ अर्ब रुपैयाँ लगानी गरेर एउटा प्रदेशको लाइफलाइन मानिने विमानस्थल बनाउनु ठुलो कुरा होइन । त्यसैले, अब ढिला नगरी प्रदेश र सङ्घीय सरकारले यसलाई गम्भीरतापूर्वक लिएर काम अगाडि बढाउनुपर्छ । कर्णालीको समृद्धिको ढोका खोल्न सुर्खेत विमानस्थलको विस्तार अनिवार्य छ ।

(सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष लक्ष्मण कँडेलसँग रातोपाटीका पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण कँडेल
लक्ष्मण कँडेल
लेखकबाट थप