उद्योगीका समस्या सुन्दै सांसद खरेलले भने– निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउँछौँ
बुटवल । रुपन्देही उद्योग सङ्घले आयोजना गरेको स्वागत तथा परिचय कार्यक्रममा उद्योगी–व्यवसायीहरूले भोगिरहेका समस्याहरूबारे आज रुपन्देही क्षेत्र नम्बर २ का सांसद सुलभ खरेलसँग गम्भीर छलफल भएको छ।
कार्यक्रममा उद्योगीहरूले कर प्रणाली, औद्योगिक पूर्वाधार, उत्पादन प्रवर्द्धन तथा कानुनी जटिलताका विषयमा नीतिगत स्पष्टता र सहजीकरणको माग गरेका छन् । रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुलभ खरेल सँगको अन्तरक्रियामा उद्योगीहरूले प्रत्यक्ष रूपमा आफ्ना समस्या राखेका थिए।
सङ्घका अध्यक्ष कृष्णप्रसाद पराजुलीले बुटवल र मोतीपुर औद्योगिक क्षेत्र सञ्चालनमा आउन नसकेको, उद्योग स्थापनाका लागि जग्गाको मूल्य अत्यधिक भएको तथा कर तिर्नुपर्ने निकाय धेरै हुँदा व्यवसाय सञ्चालन जटिल बन्दै गएको बताए।
पराजुलीले बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र सञ्चालनमा समस्या रहेको उल्लेख गर्दै उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताए। उनले बुटवल धागो कारखाना पुनः सञ्चालनका लागि नयाँ प्रविधियुक्त प्लान्ट आवश्यक रहेको र बिटिआईलाई प्राविधिक कलेजका रूपमा विकास गर्नुपर्ने सुझाव पनि दिए।
रोडा, ढुङ्गा तथा क्रसर उद्योग संघ रूपन्देहीका अध्यक्ष गोविन्द भुसाल ले जिल्लाका २० वटा क्रसर उद्योग लामो समयदेखि नवीकरण हुन नसकेको भन्दै कर र भ्याट तिरे पनि सञ्चालन अन्योलमा परेको गुनासो गरे । उनले दीर्घकालीन समाधानको आवश्यकता औँल्याए।
सङ्घका पूर्वअध्यक्ष माधव पौडेलले स्वदेशी उद्योग संरक्षणका लागि स्पष्ट नीति आवश्यक रहेको बताए भने नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष बाबुराम बोहोराले नयाँ उद्योग नीतिबारे स्पष्टता माग गरे। परिसंघका प्रदेश अध्यक्ष एजाज आलमले उद्योग क्षेत्रमा देखिएका विकृति हटाउन रणनीतिक हस्तक्षेप आवश्यक रहेको धारणा राखे।
कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खरेलले वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको र उद्योग क्षेत्रका समस्या समाधानमा प्रतिबद्ध रहेको बताए । उनले वन, पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिँदै निजी क्षेत्रसँग सहकार्य गर्दै उद्योगमैत्री नीति ल्याउने स्पष्ट पारे ।
सांसद खरेलले उद्योगीहरूले उठाएका कर, नीतिगत अस्पष्टता र पूर्वाधारसम्बन्धी विषयमा अर्थमन्त्री तथा उद्योग मन्त्रीको ध्यानाकर्षण गराउने प्रतिबद्धता समेत व्यक्त गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण