नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात
काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ।
बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीद्वारा रिबन काटी उद्घाटन गरिएको थियो।
उक्त कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाह लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भुपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।
कर्मचारीको हितलाई उच्च महत्त्व दिँदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रुमको स्थापना गरेको हो । नर्सिङ रुमले कर्मचारीहरूलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ ।
‘यस कक्षको थालनी मार्फत हामीले हाम्रो कर्मचारीप्रतिको जिम्मेवारी पुरा गरेका हौँ। यसले कर्मचारी आमाहरूलाई कार्यालयभित्र आफ्नो बच्चासँग सुरक्षित छु भन्ने महसुस गराउने छ,’ सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले बताइन्।
उद्घाटन कार्यक्रममा बोल्दै नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले नर्सिङ रुम बैंकको तर्फबाट एउटा राम्रो सुरुवात भएको बताए । ‘लैङ्गिक समानता, कर्मचारीको हित नबिल बैकका प्रमुख मान्यता भित्र पर्दछन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मुल्यमान्यताहरुलाई प्रतिबिम्बित गर्छ,’ अध्यक्ष चौधरीले भने।
‘हेर्दा सानो देखिए पनि यस कदमले हाम्रो कर्मचारीहरूलाई सकारात्मक असर पार्नेछ र यो कक्ष हाललाई केन्द्रीय कार्यालयमा मात्र भए पनि आउने दिनमा अरू शाखाहरूमा पनि विस्तार गर्दै लगिने छ,’ उनले थपे।
यस प्रकारका प्रयासमार्फत नबिल बैंकले आफ्ना कर्मचारीका ख्याल राख्नुका साथै सहयोग गर्ने वातावरणलाई बढावा दिइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीको भनाइ छ।
नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण