मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालथोकमा ७० मिटर लामो मोडुलर पुलको उद्घाटन

शुक्रबार, १८ वैशाख २०८३, १५ : १९
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • सिन्धुलीको नेपालथोकमा सिन्धुली र रामेछापलाई जोड्ने ७० मिटर लामो मोडुलर पुलको उद्घाटन भएको छ।
  • यो पुल भारत सरकारले अनुदानमा उपलब्ध गराएका १० वटा पुलमध्ये एक हो, जसको कुल लागत ७३ करोडभन्दा बढी छ।
  • नयाँ पुलले सिन्धुली र रामेछापका बासिन्दाको आवतजावत र सामान ढुवानीमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने गरी सिन्धुलीको नेपालथोकमा ७० मिटर लामो उच्च क्षमताको 'मोडुलर' पुलको संयुक्त रूपमा उद्घाटन गरिएको छ। काठमाडौंस्थित भारतीय दूतावासकी काउन्सिलर गीताञ्जली ब्रान्डन र सडक विभागका महानिर्देशक डा. विजय जैसीले बिहीबार आयोजित एक समारोहका बिच उक्त पुलको उद्घाटन गरेका हुन्। 

सन् २०२५ अक्टोबरको विनाशकारी वर्षापछि अवरुद्ध भएको सडक सञ्जाल पुनः सञ्चालनमा ल्याउन भारत सरकारले नेपाललाई उपलब्ध गराएका १० वटा पुलमध्ये यो एक हो। भारत सरकारले अनुदान स्वरूप उपलब्ध गराएका यी १० वटा बेली ब्रिजको कुल लागत ७३ करोड नेपाली रुपैयाँभन्दा बढी रहेको छ। 

पुलसँगै भारतले यसको जडानका लागि आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध गराएको छ। उद्घाटन कार्यक्रममा काउन्सिलर ब्रान्डनले यो पुल नेपाल र भारतबीचको अटुट मित्रताको प्रतीक भएको उल्लेख गरिन्। उनले नेपालको पूर्वाधार विकास र विपद्पछिको पुनर्निर्माण कार्यमा भारत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

सडक विभागका महानिर्देशक डा. जैसीले भारतले समयमै पुर्‍याएको सहयोगप्रति आभार प्रकट गर्दै यस्ता पुलहरू छिटो जडान गर्न सकिने भएकाले आपत्कालीन पुनर्निर्माणका लागि निकै प्रभावकारी हुने बताए। नयाँ जडान गरिएको पुलले सिन्धुली र रामेछाप जिल्लाका बासिन्दाको आवतजावत र सामान ढुवानीमा ठूलो सहजता ल्याउने उनको विश्वास छ। 

यसअघि पनि सन् २०२४ सेप्टेम्बरको बाढी पहिरोपछि नेपाल सरकारको आग्रहमा भारतले ४१ करोड बराबरको १० वटा प्रिफ्याब्रिकेटेड स्टिल पुल उपलब्ध गराएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप