सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्टार्टअप कर्जाका लागि १ हजार ३०१ फर्म प्रारम्भिक सूचीमा, कृषि र पशुपालनमा आकर्षण (सूचीसहित)

वैशाख २३ भित्र विवरण बुझाउनुपर्ने व्यवसायिक विवरण बुझाउन आग्रह
शुक्रबार, १८ वैशाख २०८३, १८ : १७
शुक्रबार, १८ वैशाख २०८३

सारांश

  • सरकारको 'स्टार्टअप उद्यम कर्जा कार्यक्रम' अन्तर्गत १३ सय १ वटा व्यावसायिक फर्म तथा परियोजना प्रारम्भिक छनोटमा परेका छन् ।
  • युवा उद्यमीहरूको स्टार्टअप कर्जामा कृषि र पशुपालन क्षेत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ, जसमध्ये ६५ प्रतिशतभन्दा बढी यस क्षेत्रसँग सम्बन्धित छन् ।
  • प्रारम्भिक सूचीमा परेका प्रस्तावकहरूले आगामी २०८३ वैशाख २३ गतेभित्र आफ्नो व्यावसायिक विवरण प्रतिष्ठानले तोकेको ढाँचामा ह्वाट्सएपमार्फत पठाउनुपर्नेछ ।

काठमाडौँ । सरकारले ल्याएको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत १३ सय १ वटा व्यावसायिक फर्म तथा परियोजनाहरू प्रारम्भिक छनोटमा परेका छन् । 

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले प्रस्ताव आह्वान गरेकामध्ये रीतपूर्वक निवेदन दिएका प्रस्तावकहरूको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ बमोजिम योग्य देखिएका १३ सय १ वटा परियोजनाको नामावली सार्वजनिक गरेको छ । गत २०८२ कात्तिक १९ देखि मंसिर ९ गतेसम्म प्रस्तावकहरूबाट अनलाइनमार्फत आवेदन माग गरिएको थियो ।

उक्त अवधिभित्र आवेदन दिएका परियोजनाको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ । उक्त सूचीको विश्लेषण गर्दा स्टार्टअप कर्जामा युवा उद्यमीहरूको सबैभन्दा बढी आकर्षण कृषि र पशुपालन क्षेत्रमा देखिएको छ । छनोट भएका कुल परियोजनामध्ये करिब ६५ प्रतिशतभन्दा बढी कृषि, पशुपालन, मत्स्यपालन र जडीबुटीसँग सम्बन्धित छन् ।

विशेष गरी ‘एकीकृत कृषि तथा पशुपन्छी फार्म’, ‘बाख्रा पालन’, ‘कुखुरा पालन’, ‘डेरी उद्योग’, ‘तरकारी खेती’ र ‘जडीबुटी प्रशोधन’ का क्षेत्रमा धेरै प्रस्तावहरू छानिएका छन् । यसले नेपालको स्टार्टअप इकोसिस्टममा अझै पनि परम्परागत कृषि क्षेत्रलाई व्यावसायिक र आधुनिक बनाउने सोच हाबी रहेको देखाउँछ ।

सेवा, प्रविधि र उत्पादन क्षेत्र पनि समेटिए

कृषिबाहेक अन्य क्षेत्रमा पनि उल्लेख्य प्रस्तावहरू परेका छन् । सूचीमा साना तथा मझौला उत्पादनमूलक उद्योग (गार्मेन्ट, जुत्ता, हस्तकला, फर्निचर), सूचना प्रविधि (सफ्टवेयर विकास, मोबाइल एप), शिक्षा (मन्टेसरी, सीपमूलक तालिम केन्द्र), स्वास्थ्य (क्लिनिक, फार्मेसी) र पर्यटन (होमस्टे, होटल तथा रेस्टुरेन्ट) सँग सम्बन्धित स्टार्टअपहरू पनि समावेश छन् ।

यसपटक हिमाली जिल्ला मुगु, डोल्पादेखि तराईका जिल्लाहरूसम्म र काठमाडौँ उपत्यकाका धेरै नयाँ उद्यमीहरूले स्टार्टअप कर्जाका लागि रुचि देखाएका छन् ।

छानिएकाले वैशाख २३ भित्र विवरण बुझाउनुपर्ने

प्रारम्भिक सूचीमा समावेश भएका परियोजना प्रस्तावकहरूले अब थप मूल्याङ्कनका लागि आफ्नो व्यावसायिक विवरण बुझाउनुपर्नेछ । प्रतिष्ठानले एक सूचना जारी गर्दै आगामी २०८३ वैशाख २३ गते बेलुका ५ः०० बजेसम्म अनिवार्य रूपमा विवरण पठाइसक्नुपर्ने जनाएको छ ।

विवरणहरू प्रतिष्ठानले तोकेको ढाँचामा भरी आधिकारिक ह्वाट्सएप नम्बर ९७१२००६७१७ मा पठाउनुपर्नेछ । तोकिएको समयभित्र विवरण नबुझाउने प्रस्तावकहरू स्वतः अयोग्य  हुने र उनीहरूको प्रस्तावमाथि थप प्रक्रिया अगाडि नबढ्ने प्रतिष्ठानले प्रस्ट पारेको छ ।

प्रारम्भिक सूचीमा परेका प्रस्तावकहरूको स्थलगत निरीक्षण, अन्तर्वार्ता र विस्तृत परियोजना प्रतिवेदनको मूल्याङ्कनपछि मात्रै अन्तिम रूपमा कर्जा प्रवाहको प्रक्रिया सुरु हुनेछ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप