आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
आईपीएल २०२६ महाभिडन्त

सङ्घर्षरत चेन्नई र मुम्बई आज भिड्दै, हार्ने टोलीको प्लेअफ यात्रा सङ्कटमा

शनिबार, १९ वैशाख २०८३, १७ : ००
शनिबार, १९ वैशाख २०८३

सारांश

  • चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीच आज आईपीएल २०२६ को खेल हुँदैछ, जसमा हार्ने टोलीको प्लेअफ यात्रा कठिन हुनेछ।
  • यस सिजनमा चेन्नईले ८ खेलमध्ये ३ जितेको छ भने मुम्बईले जम्मा २ खेलमा जित निकालेको छ।
  • चेन्नई र मुम्बईबीच आईपीएलमा हालसम्म ४० खेल भएका छन्, जसमा मुम्बई २ खेलले अगाडि छ।

चेन्नई । आईपीएल २०२६ मा सङ्घर्षरत चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स शनिबार चेपोकमा आमनेसामने हुँदैछन्। खेल बेलुका ७:४५ बजेबाट सुरु हुनेछ। यस खेलमा पनि चेन्नईका पूर्वकप्तान एमएस धोनी खेल्ने सम्भावना निकै कम छ।

यस सिजनमा चेन्नईले हालसम्म खेलेका ८ खेलमध्ये ३ मा जित र ५ मा हार बेहोरेको छ। त्यस्तै, मुम्बईले आफ्ना ८ खेलमध्ये जम्मा २ मा जित निकालेको छ भने ६ खेलमा हार खेपेको छ। यो खेल हार्ने टोलीका लागि प्लेअफमा पुग्न निकै कठिन हुनेछ।

यी दुई टोलीबिच यस सिजनको यो दोस्रो भिडन्त हो। यसअघि अप्रिल २३ मा मुम्बईमा भएको खेलमा चेन्नईले मुम्बईलाई १०३ रनको फराकिलो अन्तरले हराएको थियो।

हेड-टु-हेड: मुम्बई दुई खेलले अगाडि

दुई टोलीबिच आईपीएलमा हालसम्म ४० खेल भएका छन्। जसमा चेन्नईले १९ र मुम्बईले २१ खेल जितेका छन्। अघिल्लो सिजन दुवैले एक-आपसमा २ खेल खेलेका थिए, जसमा दुवैले १-१ जित निकाले। चेपोकमा यी दुईबिच ९ खेल भएका छन्, जहाँ मुम्बईले ५ र चेन्नईले ४ खेल जितेका छन्।

सञ्जु सामसनले मुम्बईविरुद्ध शतक प्रहार गरेका थिए

सञ्जु सामसनले मुम्बईविरुद्धको पछिल्लो खेलमा शतक प्रहार गरेका थिए। उनले ८ इनिङ्समा २ शतकसहित ३०० भन्दा बढी रन बनाइसकेका छन् र टोलीका शीर्ष स्कोरर हुन्। 

बलिङतर्फ जेमी ओभरटन र अंशुल कम्बोजले प्रभावित गरेका छन्। ओभरटनले दिल्ली क्यापिटल्सविरुद्ध १८ रन दिएर ४ विकेट लिँदै उत्कृष्ट स्पेल फालेका थिए। ८ खेलमा १४ विकेट लिइसकेका कम्बोज सर्वाधिक विकेट लिने बलर हुन्।

मुम्बईका लागि अब हरेक खेल नकआउट जस्तै

मुम्बई इन्डियन्सका ओपनर रायन रिकल्टनले टोलीका लागि सर्वाधिक रन बनाएका छन्। उनले ६ खेलमा २६० रन जोडेका छन्। रिकल्टनले अघिल्लो खेलमा हैदरावादविरुद्ध ५५ बलमा अविजित १२३ रनको शतकीय इनिङ्स खेलेका थिए। 

Ryan Rickelton

त्यस्तै, अल्लाह गजनफर मुम्बईका प्रमुख विकेट टेकर हुन्, उनले ६ खेलमा १० विकेट लिएका छन्।

जसमाथि रहनेछ नजर 

  • अकिल होसेन 

Akeal Hosein

विगतमा आर अश्विन, रवीन्द्र जडेजा, हरभजन सिंह र क्रुणाल पाण्ड्या जस्ता भारतीय स्पिनरहरूले चेन्नई र एमआईबिचको खेलको नतिजा तय गर्थे। तर यस सिजन, दुई फरक शैलीका स्पिनरहरूले आ-आफ्नो टोलीको बलिङ आक्रमणलाई धारिलो बनाएका छन्।

चेन्नईका अकिल होसेनको घातक आर्म बल दायाँहाते ब्याटरको भित्र पस्छ भने बायाँहाते ब्याटरबाट टाढा जान्छ। यस सिजन वाङ्खडेमा भएको पहिलो भिडन्तमा होसेनले १७ रन खर्चेर ४ विकेट लिँदै मुम्बईलाई रनको आधारमा अहिलेसम्मकै ठूलो हार चखाएका थिए।

  • एएम गजनफर

AM Ghazanfar

यता मुम्बईका लागि पावरप्लेका कठिन ओभरहरूमा एएम गजनफरले जिम्मेवारी सम्हालिरहेका छन्। उनको क्यारम बल बुझ्न ब्याटरलाई निकै कठिन भइरहेको छ। कसैले बुझिहाले पनि त्यसमा ठूलो शट खेल्न सकेका छैनन्। 

मिचेल सान्टनर चोटका कारण बाँकी सिजनबाट बाहिरिएपछि गजनफर आफ्नो पहिलो आईपीएल सिजनमै मुम्बईका प्रमुख स्पिनर बनेका छन् । उनी आईपीएल २०२५ मा चोटका कारण बाहिर थिए। गजनफरले ६ इनिङ्समा १९.६० को औसतमा १० विकेट लिएका छन्, जुन यस आईपीएलमा होसेन (१८.१६) पछिको दोस्रो उत्कृष्ट औसत हो।

चेपोकको पिचमा स्पिनरको दबदबा

एमए चिदम्बरम स्टेडियम (चेपोक) को पिच सुस्त र स्पिनरहरूलाई मद्दत गर्ने खालको छ। खेल अघि बढ्दै जाँदा पिच अझै सुस्त हुन्छ, जसले गर्दा दोस्रो इनिङ्समा ब्याटिङ गर्न कठिन हुन्छ र पहिले ब्याटिङ गर्ने टोलीलाई फाइदा पुग्छ।

यहाँ आईपीएलका ९५ खेल खेलिएका छन्। ५३ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएको छ भने ४२ खेलमा रन चेज गर्ने टोलीले जितेको छ। यहाँको उच्च स्कोर २४६/५ हो, जुन २०१० मा चेन्नईले राजस्थान रोयल्सविरुद्ध बनाएको थियो।

वर्षाको सम्भावना छैन

शनिबारका दिन चेन्नईको मौसम अत्यधिक गर्मी रहने सम्भावना छ। आज त्यहाँको तापक्रम २९ देखि ३७ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ, तर उच्च आर्द्रताका कारण ३७ डिग्रीभन्दा बढीको महसुस हुन सक्छ। 

करिब ३५-४० किमी/घण्टाको गतिमा चल्ने हावाले खेलाडीहरूलाई केही राहत दिन सक्छ। खेलका दौरान वर्षाको कुनै सम्भावना छैन।

टिम न्युज: धोनी र रोहित खेल्ने सम्भावना कम

चेन्नईका प्रशिक्षक स्टेफन फ्लेमिङका अनुसार, पहिले नै चोटग्रस्त रहेको पिँडुलाको समस्या बल्झिएपछि धोनी अझै मैदानबाहिरै रहने सम्भावना छ। बाउन्स हुने पिचमा प्रारम्भिक झड्का लागेपछि चेन्नईले पावरप्लेमै सरफराजलाई अतिरिक्त ब्याटरको रूपमा ल्याएको थियो। 

योजनाअनुरूप भएमा, चेन्नईले बायाँहाते सिमर मुकेश चौधरीलाई टोलीमा फर्काउन सक्छ। उनका महाराष्ट्रका टिममेट रामकृष्ण घोषले पनि गत आइतबार गुजरात टाइटन्सविरुद्ध अभ्यास गरेका थिए र उनले पनि आफ्नो आईपीएल डेब्यु गर्न सक्छन्।

  • चेन्नई सुपर किंग्स (सम्भावित): १. सञ्जु सामसन (विकेटकिपर), २. ऋतुराज गायकवाड (कप्तान), ३. सरफराज खान/उर्विल पटेल, ४. डेवाल्ड ब्रेभिस, ५. शिवम दुवे, ६. कार्तिक शर्मा, ७. जेमी ओभरटन, ८. अकिल होसेन, ९. अंशुल कम्बोज, १०. मुकेश चौधरी/रामकृष्ण घोष, ११. गुरजपनीत सिंह, १२. नूर अहमद।

शनिबारको खेलमा रोहित शर्मा पनि मैदानमा फर्किने सम्भावना कम छ। यदि क्विन्टन डिकक पनि चोटका कारण उपलब्ध भएनन् भने, मुम्बईले विल ज्याक्स र रायन रिकल्टनलाई नै निरन्तरता दिनेछ, जसले सनराइजर्स हैदरावादविरुद्ध पावरप्लेमा मिलेर ७८ रन जोडेका थिए। बलिङतर्फ मुम्बईले शार्दुल ठाकुर र नवप्रवेशी कृष भगतमध्ये एकलाई रोज्नुपर्ने हुन सक्छ।

  • मुम्बई इन्डियन्स (सम्भावित): १. रायन रिकल्टन (विकेटकिपर), २. विल ज्याक्स, ३. सूर्यकुमार यादव, ४. नमन धीर, ५. हार्दिक पाण्ड्या (कप्तान), ६. तिलक वर्मा, ७. रोबिन मिन्ज, ८. शार्दुल ठाकुर/कृष भगत, ९. ट्रेन्ट बोल्ट, १०. जसप्रित बुमराह, ११. एएम गजनफर, १२. अश्वनी कुमार।

तथ्याङ्क र रोचक जानकारी

• सन् २०२३ यता मुम्बईविरुद्ध खेलेका पछिल्ला ६ खेलमध्ये चेन्नईले ५ खेल जितेको छ।

• ट्रेन्ट बोल्टको सञ्जु सामसन र ऋतुराज गायकवाड दुवैविरुद्ध सानदार रेकर्ड छ। न्युजिल्यान्डका यी बायाँहाते सिमरले आईपीएलका ६ इनिङ्समा गायकवाडलाई जम्मा ३१ बलमा ३४ रन दिएर तीन पटक आउट गरेका छन्। त्यस्तै, ८ इनिङ्समा सामसनलाई पनि उनले ३ पटक आउट गरेका छन्। बोल्टविरुद्ध सामसनले २७ बलमा ३२ रन मात्र बनाउन सकेका छन्।

• सूर्यकुमार यादवले ८ इनिङ्समा २०.२५ को औसत र १४०.८६ को स्ट्राइक रेटमा जम्मा १६२ रन बनाएका छन्। सन् २०१९ यता आईपीएलको कुनै पनि सिजनमा यो उनको सबैभन्दा कम स्ट्राइक रेट हो।

• यस सिजन मुम्बईको बलिङ आक्रमणले प्रति ओभर १०.८३ रन खर्चिएको छ, जुन १० टोलीमध्येकै सबैभन्दा खराब इकोनोमी रेट हो। यसको तुलनामा चेन्नईको प्रदर्शन राम्रो छ, उसले प्रति ओभर ९.३७ रन मात्र दिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप