मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
साहित्य

पूर्व प्रेमिकाको बिहेमा फोटोग्राफर भएर जाँदा

शनिबार, १९ वैशाख २०८३, १५ : ००
शनिबार, १९ वैशाख २०८३
00:00 / NaN:NaN
Audio By AI

अहिले पनि मलाई खेद लाग्छ कि मेरा प्रेमका आदतहरूले कहाँ–कहाँ पुर्‍याए भनी । म जता जान्छु मेरा आदतहरू पनि उतै हिँडिजाने, छ्या ! त्यो साँझ अझै पनि मलाई याद छ, उनले मलाई आफ्नो बिहे फिक्स भएको जानकारी दिन बोलाएकी थिइन् । म भर्खरभर्खर फोटोग्राफी सिक्दै आम्दानीको स्रोत खोजिरहेको थिएँ । उनको भने लोकसेवामा नाम निस्केर पोस्टिङ हुन मात्र बाँकी थियो ।

म सुदूरपश्चिमबाट काठमाडौँ आएर सङ्घर्ष गरिरहेको केटो, उनी भने काठमाडौँमै हुर्केबढेकी थिइन् ।

बत्तीसपुतलीको त्यो क्याफेमा उनीसँगको भेटबाट घर फर्किँदा म पूरै निभेरै घर पुगेको थिएँ । उनीसँग हुँदा झिलिमिली हुने मेरो जीवन छुटिँदा अन्धकारजस्तै भएको थियो । काममा ‘मुभ अन’ हुन गाह्रो भइरहेको थियो । फेरि दुई छाक खान पनि काम त गर्नैपर्‍यो । काठमाडौँमा जीवन धान्न पनि त गाह्रो छ ।

माघ २७ गते उनको बिहेको दिन । संयोगले मैले नै काम गर्ने अफिसमा उनको परिवारका तर्फबाट बिहेको फोटो–भिडियो तयार पार्नका लागि अर्डर भएको रहेछ । अरू साथीहरू त्यो बिहेको पार्टी प्यालेसमा मलाई जान दिइरहेका थिएनन् ।

उनलाई चिन्न सक्ने आँखा, सुन्न सक्ने कान, बुझ्न सक्ने मगज अनि महसुस गर्न सक्ने हृदय घरमै छाडेर, म त बगरको ढुङ्गाजस्तै पुगेको थिएँ उनको समीपमा ।

‘तँ आज घरमै आराम गर, हामी खिचेर ल्याउँछौँ,’ साथीहरू भनिरहेका थिए । तर अहँ ! मलाई नै जान रहर लागेर आयो । यो मन भन्ने जिनिस पनि बडो प्रतिभाशाली हुँदो रहेछ । विगतले उब्जाएका आदतहरूमा मस्त भइराख्न खोज्दो रहेछ ।

मैले पनि त्यसैमा आनन्दित हुने ठानेर जाने निधो गरेँ । आखिर पाउने त फेरि केही थिएन । उही जोर आँखालाई एकैछिनको हाइसञ्चो अनि दुई–चार दिनको छटपटी न हो ।

जसोतसो म पार्टी प्यालेस पुगेँ । सँगै अरू साथीहरू पनि थिए । उनलाई चिन्न सक्ने आँखा, सुन्न सक्ने कान, बुझ्न सक्ने मगज अनि महसुस गर्न सक्ने हृदय घरमै छाडेर, म त बगरको ढुङ्गाजस्तै पुगेको थिएँ उनको समीपमा ।

म त त्यतिबेलै बगरको ढुङ्गा भइसकेको थिएँ, जबदेखि उनका छालहरूले मलाई मिल्काएर उनी आफू अघि बढिन् । तथापि गुनासो त केही थिएन । बिहेका कार्यक्रमहरू सुरु हुन थाले । म क्याप, मास्क र चस्मा लगाएर क्यामेरा उनीतिर फोकस गरिरहेको थिएँ । उनी खुसी थिइनन् । पण्डितले अह्राएका कतिपय कुराहरूमा होसविहीनजस्तै भएर उल्टोउल्टो गरिरहेकी थिइन् ।

विवाहमा पुरोहितले यज्ञकुण्डको सातपटक परिक्रमा गर्न लगाउँदा वरवधूले त्यसको पालन गर्छन् । अग्निको परिक्रमा सकेपछि पति–पत्नी एकापसमा बाँधिन्छन् । त्यो अवस्था त्यहाँ आइसकेको थियो । अनि मैले सम्झिएँ हाम्रो विगत । पोखरा घुम्न जाँदा मसँगै तालबाराही मन्दिर परिक्रमा गर्न जाँगर नचलाएकी उनी कति सजिलै अहिले उठेर हिँड्न थालिन् ।

‘अहिले होइन क्या, पछि बिहेमा गरौँला,’ उनले भनेकी थिइन् ।

हामी नगरकोट जाँदाको याद आयो । अनि हजारौँ दिनको रमाइलो साथ । त्यो सम्झिएर झनै रुन मन लाग्यो ।

होम हाल्ने आगो राम्ररी बल्न नसकेपछि बेसरी धुवाँ उडिरहेको थियो । त्यो धुवाँ आगोकै थियो कि मेरो छातीभित्रको, त्यो भने कसैले ठम्याउन सकेन । तर, धुवाँले वरपर बस्नेलाई पनि गाह्रो बनाइरहेको थियो । उसै त अमिलिएको मन धुवाँको छेको पारेर रसाउन थालेछ । मेरा आँखाहरू भिजे ।

हामी नगरकोट जाँदाको याद आयो । अनि हजारौँ दिनको रमाइलो साथ । त्यो सम्झिएर झनै रुन मन लाग्यो । अर्को साथीलाई क्यामेरा दिएर वासरुम गएँ । के–के नै गरौँला, सँगै रहुँला भन्ने सपना पनि हेर्दाहेर्दै चकनाचुर भए ।

मलाई असह्य भयो, रिँगटा लाग्न थाल्यो ।

११–१२ पढ्दा लाएको माया कहाँ अजम्बरी हुँदो रहेछ र ? आफैँदेखि वाक्क थिएँ । बरु कुल्चिजाऊन् कसैले मेरा यादहरूलाई, म धुलो नै बन्न चाहन्थेँ । उनै जिऊन् आनन्दको संसारमा । म मनमनै निराश भएँ । तर, काम त गर्नैपर्ने थियो । फर्किएँ मण्डपतिर । सिन्दुर लाउने कार्यक्रम रहेछ ।

मेरा हातहरू थरथर काँपिरहेका थिए । क्यामेराले सही फोकस गर्न सकिनँ । कस्तो विडम्बना ! पुग्यो भयो अब केही चाहिँदैन भन्दाभन्दै पनि भाग्यले बारम्बार खेलौना बनाइरहेको थियो ।

सायद उनी खुसी थिइन्, उनको खुसी खोस्न चाहन्नथेँ । तर, कसैले मेरी मायालाई सर्लक्कै मेरो हातबाट परपर धेरै पर लैजाँदै थियो । म भावनाहरूले सर्वाङ्ग नाङ्गो भएको थिएँ । तर पनि झलमल भएका ताराहरूमा नै उनलाई सम्झिरहने वाचा गरेको थिएँ ।

उनी रोएको देख्नै सकिनँ । बिदाइका हातहरू हल्लाएको हेर्नै सकिनँ । माफ गर प्रिय ! म यो जुनीमा तिम्रो हुन सकिनँ ।

टीकाटालो सकिँदै गर्दा अनायासै मेरा आँखाबाट चस्मा झर्‍यो । अनि उनको आँखा मेरो आँखामा पर्‍यो । बिदाइको त्यो क्षणमा आँसु टलपलाएर आए उनका आँखामा । म आफू ओझेल परेर फोटो खिच्दै उनलाई हेरिरहेको थिएँ । उनका आँखाले मलाई खोजिरहेका थिए ।

म त्यो दिन फेरि सम्झिरहेको थिएँ, जुन दिन उनले मेरो हातमा हात राखेर बिहेमा अन्मिँदा नरुने वाचा गरेकी थिइन् । तर आज उनले वाचा तोडेरै छाडिन् । सायद उनी रुँदा म उनकै समीपमा हुन सकेको भए उनको आँखा पुछिदिने थिएँ । अलि टाढा भएँ वा टाढा बनाइएँ । मैले उनको आँसु पुछ्नै सकिनँ ।

उनी रोएको देख्नै सकिनँ । बिदाइका हातहरू हल्लाएको हेर्नै सकिनँ । माफ गर प्रिय ! म यो जुनीमा तिम्रो हुन सकिनँ ।

अन्माउने कार्य पनि सकिएपछि हाम्रो टिम प्याकअप गर्दै थियो । म च्याँठ्ठिन र छटपटिन चाहिरहेको थिएँ । सबैलाई बिदा मागेर म छिटोछिटो दौडिरहेँ सडकमा । लाग्थ्यो उनका यादहरूले बेसरी लखेटिरहेछन् । लखेटिँदालखेटिँदै म हतारहतार बागमती किनार हुँदै आर्यघाटतिर बढेछु । साँझ आरतीको बेला थियो, पारि घाटमा लास जलाउने तयारी हुँदै थियो ।

एकातिर आरतीमा नाचगान थियो त त्यही फ्रेममा लासहरू जल्दै दुःखका धुवाँहरूले छपक्क छोपेको पनि देखिन्थ्यो ।

अनि सम्झिएँ दिउँसोको त्यो परिस्थिति, जहाँ बिहेमा रमाउनेहरू रमाइरहेका थिए तर उनी र म एक हुन नसकेको पीडाबोधमा भित्रभित्रै जलिरहेका थियौँ । धुवाँबिनै पनि त मुटु जलेर खरानी भइसकेको थियो । अनि त लाग्यो यो संसारमा सबैको आ–आफ्नै धुन हुँदो रहेछ र त्यसैमा बाँच्दो रहेछ ।

फेरि उनीसँग कहिल्यै भेट नहोस् भन्ने कामना गर्दै म फर्किएँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अच्युत शाली घिमिरे
डा. अच्युत शाली घिमिरे
लेखकबाट थप