सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
घुमघाम

प्रकृति र इतिहासको अनुपम सङ्गम : हङ्झाउको ‘वेस्ट लेक’

शनिबार, १९ वैशाख २०८३, २० : ३०
शनिबार, १९ वैशाख २०८३

सारांश

  • चीनको हङ्झाउ सहरमा रहेको वेस्ट लेकले आधुनिकताको बीचमा ऐतिहासिक र प्राकृतिक सौन्दर्यको अनुभव प्रदान गर्दछ।
  • आठौँ शताब्दीदेखि यस ताललाई गभर्नर र साहित्यकारहरूले बाँध र कजवे निर्माण गरी सुन्दर बनाएका छन्।
  • युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत यो ताल बौद्ध मन्दिर, ऐतिहासिक चिहान र दन्त्यकथाले भरिएको छ।
00:00 / NaN:NaN
Audio By AI

हङ्झाउ । चीनको हङ्झाउ सहर पुगेपछि ‘वेस्ट लेक’ को सामीप्यमा समय नबिताई फर्कनु भनेको एउटा अधुरो सपना बोकेर फर्कनुजस्तै हो। 

२१औँ शताब्दीको अत्याधुनिक चीनको व्यस्तता र भव्यताको बिचमा एउटा यस्तो शान्त मरुद्यान लुकेको छ, जसले मानिसको मनलाई शताब्दीयौँ पुरानो साम्राज्यकालीन इतिहास र प्रकृतिसँग जोडिदिन्छ।

west lake (1)

मैले जब वेस्ट लेकको किनारमा पाइला टेकेँ, मलाई लाग्यो म कुनै चित्रकारको क्यानभासमा उभिएको छु। एकातिर गगनचुम्बी भवनहरूले सुसज्जित आधुनिक हङ्झाउ सहर, अर्कोतिर हरियालीले भरिएका र कुइरोले बेरिएका शान्त पहाडहरू। यो ताल केवल पानीको भण्डार मात्र होइन, यो त चिनियाँ सभ्यता, दर्शन र कलाको एउटा जीवित सङ्ग्रहालय रहेछ।

west lake (2)

कुनै समय यो ताल क्वान्टाङ नदीसँग जोडिएको एउटा सानो धाप मात्र थियो। तर आठौँ शताब्दीदेखि यहाँका गभर्नरहरू र साहित्यकारहरूले यसलाई सिँगार्न सुरु गरे। 

west lake (4)

विशेष गरी प्रसिद्ध कवि बाई जुईले यहाँको बाँध र बाई कजवे निर्माण गराएर मानिसहरूलाई डुङ्गाको सट्टा हिँडेरै तालको आनन्द लिन सक्ने बनाइदिए। 

west lake (5)

त्यसको दुई शताब्दी पछि अर्का महान् कवि सु डोङ्पोले ताललाई अझ व्यवस्थित बनाए र सु कजवेको जग बसाले। आजका पर्यटकहरू तिनै पुराना पुलहरूमा हिँडिरहँदा इतिहासको त्यही पदचाप महसुस गर्छन्।

west lake (6)

वेस्ट लेकको सौन्दर्यलाई शब्दमा उतार्न असम्भव जस्तै छ। यहाँका झुकेका निगाला र वृक्षहरू, पानीको सतहमा तैरिरहेका रङ्गीन डुङ्गाहरू र पहाडको टाकुरामा ठडिएका प्यागोडाहरूले एउटा जादुमयी वातावरण सिर्जना गर्छन्। 

west lake (7)

सन् २०११ मा युनेस्कोको विश्व सम्पदा सूचीमा परेको यो तालका वरपर जिङ्सी र लिङ्इन जस्ता ऐतिहासिक बौद्ध मन्दिरहरू छन्, जसले यहाँको आध्यात्मिक गरिमालाई अझ उचो बनाएका छन्।

west lake (8)

त्यहाँ सु सिआओसिआओको चिहान पनि छ। पाँचौँ शताब्दीकी एक सुन्दरी, जो आफ्नो प्रेमीको प्रतीक्षामा रहँदा-रहँदै शोकले बितिन्। लोककथाअनुसार आज पनि रातको सन्नाटामा उनको लुगामा झुन्डिएका घण्टीहरूको मधुर आवाज सुनिन्छ रे ! 

west lake (9)

त्यस्तै, ‘ह्वाइट स्नेक’ (सेतो सर्प) को प्रसिद्ध दन्त्यकथा पनि यसै तालको लिफेङ प्यागोडासँग जोडिएको छ। यी कथाहरूले वेस्ट लेकलाई रहस्यमय र रोमाञ्चक बनाइदिएका छन्।

west lake (10)

कवि सु शीले ठिकै लेखेका रहेछन्, ‘यो ताल कुनै सुन्दरीको रूपजस्तै छ, जसले हल्का शृङ्गार गरोस् वा गाढा, उनी सधैँ सुन्दर देखिन्छिन्।’ 

west lake (3)west lake (11)west lake (12)west lake (13)west lake (14)west lake (15)

घाम लाग्दा पानीको सतह झलमल झल्कने र वर्षा हुँदा कुइरोले ढाकिएका पहाडहरूले दिने दृश्य साँच्चै नै अद्भूत छ।

यहाँ प्रकृति र मानवबीच एउटा अनौठो लय छ। यदि तपाईं आफ्नो आत्मालाई पुनर्जीवन दिन चाहनुहुन्छ र चिनियाँ सौन्दर्यशास्त्रको शिखरलाई महसुस गर्न चाहनुहुन्छ भने, हङ्झाउको यो वेस्ट लेक तपाईंको प्रतीक्षामा छ। 

पहाड, ताल र इतिहासको यो सङ्गमले तपाईंको मनमा कहिल्यै नमेटिने छाप छोडिदिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप