सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

१५९४ पद खाली, अब देशमा विज्ञको शासन चल्ने सागर ढकालको दाबी

आइतबार, २० वैशाख २०८३, ०७ : ०२
आइतबार, २० वैशाख २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले देशको राजनीति र प्रशासनिक संरचनामा ठुलो शल्यक्रिया सुरु भएको दाबी गरेका छन्।
  • उनका अनुसार हालै प्रमाणीकरण भएको अध्यादेशले राज्यका विभिन्न निकायमा राजनीतिक आडमा नियुक्त भएका १ हजार ५ सय ९४ जना पदाधिकारीलाई पदमुक्त गरेको छ।
  • यी खाली पदहरूमा स्वदेश र विदेश बुझेका नेपाली विज्ञहरूलाई निष्पक्ष तरिकाले भर्ना गरिने र त्यसपछि देशले सही गति लिने ढकालको जिकिर छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले देशको राजनीति र प्रशासनिक संरचनामा ठुलो ‘शल्यक्रिया’ सुरु भएको दाबी गरेका छन्।

सामाजिक सञ्जालमा एक सन्देश प्रवाह गर्दै ढकालले तीन वर्षअघि अघि सारेका तीनवटा मुख्य एजेन्डामध्ये ४० वर्षमुनिको प्रधानमन्त्री बनाउने लक्ष्य पूरा भएको र बाँकी दुई एजेन्डा समेत कार्यान्वयनको चरणमा रहेको दाबी गरेका हुन्।

राष्ट्रपतिबाट हालै प्रमाणीकरण भएको अध्यादेशलाई उनले देश परिवर्तनको मुख्य प्रस्थानबिन्दु मानेका छन्। ढकालका अनुसार यो अध्यादेश जारी भएसँगै राज्यका विभिन्न निकायमा राजनीतिक आडमा नियुक्त भएका १ हजार ५ सय ९४ जना पदाधिकारी एकैपटक पदमुक्त भएका छन्।

ती पदमा बसेका व्यक्तिहरू क्षमताका आधारमा नभई राजनीतिक रङका आधारमा नियुक्त भएको र उनीहरूले देशलाई धमिराले झैँ भित्रभित्रै खोक्रो बनाएको आरोप उनले लगाए। अब ती खाली भएका पदहरूमा स्वदेश र विदेश बुझेका नेपाली विज्ञहरूलाई निष्पक्ष तरिकाले भर्ना गरिने र त्यसपछि मात्र देशले सही गति लिने जिकिर उनले गरे।

विगत ३० वर्षमा हुन नसकेका कामहरू अहिले एक महिनाकै अवधिमा सम्भव भइरहेको भन्दै ढकालले जनताको अपेक्षाअनुसार करिब ८० प्रतिशत काम भइरहेको उल्लेख गरे। यद्यपि अझै २० प्रतिशत काम बाँकी रहेको र त्यसकारण केही पक्षलाई दुःख पुगेको स्वीकार गर्दै उनले त्यसका लागि माफी समेत मागे।

अहिले चालेको कदम कसैलाई व्यक्तिगत दुःख दिनका लागि नभई देशलाई अगाडि बढाउनका लागि भएको ढकालले स्पष्ट पारे । सबैलाई सधैँ खुसी पार्न असम्भव भए पनि यो कदमको नतिजा दीर्घकालीन रूपमा सुखद हुने उनको तर्क छ।

आफ्नो धारणालाई थप प्रस्ट पार्दै ढकालले अहिलेको अवस्थालाई बिरामीको शल्यक्रियासँग तुलना गरे। रोग पालेर मृत्यु कुर्नु भन्दा केही पीडा सहेरै भए पनि अपरेसन गरेर ज्यान जोगाउनु बुद्धिमानी हुने भन्दै उनले अहिलेको कठोर निर्णय देश बचाउन अनिवार्य रहेको बताए।

यो मौका फेरि कहिल्यै नआउने हुनाले अहिले नै केही गरेर देखाउनुपर्ने दबाब र जिम्मेवारी रहेको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप