चेन्नईको सानदार जित, प्लेअफ दौडबाट मुम्बई बाहिरिने संघारमा
सारांश
- चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गर्दै आईपीएलमा आफ्नो प्लेअफ सम्भावना जीवित राखेको छ।
- १६० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईका कप्तान ऋतुराज गायकवाडले अविजित ६७ रन र कार्तिक शर्माले अविजित ५४ रनको उत्कृष्ट साझेदारी गरे।
- यो जितसँगै चेन्नई अंक तालिकामा छैटौँ स्थानमा उक्लिएको छ भने मुम्बईको प्लेअफ यात्रा लगभग अन्त्य भएको छ।
चेन्नई । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको खेलमा मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ। यो जितसँगै चेन्नईले जारी सिजनमा मुम्बईलाई दोस्रो पटक स्तब्ध पारेको छ भने आफ्नो प्लेअफ पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
अर्कोतर्फ लगातारको हारले मुम्बई इन्डियन्सको अघिल्लो चरणको यात्रा भने अत्यन्तै कठिन मोडमा पुगेको छ। यसअघि अप्रिल २३ मा भएको भेटमा पनि चेन्नईले मुम्बईलाई १०३ रनको फराकिलो अन्तरले हराएको थियो।
चेपाक स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको चेन्नईले १८.१ ओभरमै मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टायो। चेन्नईका लागि कार्तिक शर्माले ट्रेन्ट बोल्टको बलमा चौका प्रहार गर्दै टोलीलाई जित दिलाए।
१६० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईले १३ रनमै सन्जु सामसनको विकेट गुमाए पनि कप्तान ऋतुराज गायकवाडले उत्कृष्ट इनिङ खेले। गायकवाडले उर्बिल पटेलसँग ४९ रन र कार्तिक शर्मासँग अविजित ९८ रनको साझेदारी गर्दै टोलीको जित सुनिश्चित गरे। गायकवाडले ४८ बलमा अविजित ६७ रन बनाए भने कार्तिकले ४० बलमा अविजित ५४ रनको योगदान दिए।
मुम्बईको इनिङमा नमन धिरले ३७ बलमा ५७ रनको अर्धशतकीय पारी खेले पनि त्यो टोलीको जितका लागि पर्याप्त हुन सकेन। उनले आफ्नो पारीमा ४ चौका र ३ छक्का प्रहार गरे। यस्तै रायन रिकेल्टनले ३७ र सूर्यकुमार यादवले २१ रन जोडे।
चेन्नईका तर्फबाट बलिङमा अंशुल कम्बोज निकै घातक सावित भए, उनले ३ विकेट लिए। त्यस्तै नूर अहमदले २ विकेट झार्दा रामकृष्ण घोष र जैमी ओभरटनले समान एक-एक विकेट हात पारे।
यो जितपछि चेन्नई सुपर किंग्सले अंक तालिकामा दिल्ली क्यापिटल्सलाई पछि पार्दै छैटौँ स्थान ओगटेको छ। ९ खेल खेलेको चेन्नईको यो चौथो जित हो र टोली ८ अंकसहित प्लेअफको दौडमा कायम देखिएको छ।
मुम्बईको हकमा भने यो सिजनको सातौँ हार हो। मुम्बईले ९ खेलमध्ये मात्र २ खेल जित्न सकेको छ। अब बाँकी रहेका सबै खेल जितेको खण्डमा पनि मुम्बईको बढीमा १४ अंक मात्र हुनेछ।
आईपीएलको इतिहासलाई हेर्दा १४ अंकले प्लेअफमा पुग्न निकै कठिन हुने गर्दछ, किनकि विगतका सिजनहरूमा चौथो टोलीले कम्तीमा १६ अंक बटुल्ने गरेका थिए। मुम्बईका लागि अब प्लेअफको बाटो लगभग बन्द जस्तै भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाट जलविद्युत् आयोजना : सुरुङमा पानी भर्न थालियो
-
लुम्बिनीका विद्युतीय बसः अन्य विमानस्थलमा सेवा सुरु, भैरहवामा भने अझै अलपत्र
-
आँप महोत्सव सम्पन्न : मुख्यमन्त्रीको प्रतिबद्धताले हौसिए किसान
-
एकै विश्वकप दिवसमा डच राजपरिवारका लागि दोहोरो ठुलो सफलता
-
धनगढी उपमहानगरद्वारा २ अर्ब ६४ करोडको बजेट सार्वजनिक
-
हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण