ट्रम्पका विशेष दूतले सगरमाथा बेसक्याम्पमा किन उडाए ड्रोन ?
सारांश
- दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत सर्जियो गोरले सगरमाथा बेसक्याम्पमा अल्ट्र एक्स जेन-२ नामक कार्गो ड्रोनको उद्घाटन गरेका छन्।
- यो ड्रोनले ५ केजीसम्म भार बोक्न सक्ने क्षमता राख्छ र यसको प्रयोगबाट भविष्यमा सगरमाथा क्षेत्रमा उद्धार तथा ढुवानी प्रणालीलाई प्रभाकारी बनाउन सकिने बताइएको छ।
- सीमा क्षेत्रमा अमेरिकी प्रतिनिधिले ड्रोन उडाउँदा नेपाल र चीनबीचको सम्बन्धमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ।
काठमाडौँ । दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोर वैशाख १७ मा काठमाडौँ आए । ३ दिने भ्रमण सकेर उनी शनिवार राति भारतको दिल्ली फर्केका छन् ।
शुक्रबार सगरमाथा आधार शिविरमा पुगेका बोरले त्यहाँ अल्ट्र एक्स जेन–२ नामक अमेरिकन ड्रोन उद्घाटन गरे। अमेरिकन अधिकारीहरूका अनुसार सो ड्रोन कार्गो ड्रोन हो ।
ड्रोन उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज सहभागी थिए । बोरले उद्घाटन गरेको ड्रोनले ५ केजीसम्म भार बोक्न सक्ने क्षमता राख्ने बताइएको छ । सो ड्रोनको प्रयोगबाट भविष्यमा सगरमाथा क्षेत्रमा उद्धार तथा ढुवानी प्रणालीलाई प्रभाकारी बनाउन सकिने बोरले उद्घाटनको क्रममा बताएका थिए ।
तर, नेपाल र चीनको सीमाना नजिक पर्ने सगरमाथा क्षेत्रमा अमेरिकी प्रतिनिधिले ड्रोन उडाउँदा त्यसबाट दुई देश बिचको सम्बन्धमा असर पर्नसक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।
ड्रोन उडाउन स्वदेशका व्यक्ति र संस्थाहरूले पनि अनुमति लिनुपर्छ । अमेरिकी विशेष दूतले सगरमाथा क्षेत्रमा ड्रोन उद्घाटन गर्दा अनुमति लिए वा लिएनन् भन्ने कुरा औपचारिक रूपमा बताउन सरकारी अधिकारीहरू पन्छिने गरेका छन्।
सोलुखुम्बुका सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र सुवेदीले जिल्ला प्रशासनले ‘ख’ श्रेणीको ड्रोनको मात्र अनुमति दिने उल्लेख गर्दै बोरले उद्घाटन गरेको ड्रोनको बारेमा अनभिज्ञता जनाए । उनले भने, ‘सगरमाथा आधार शिविरमा अमेरिकन डिप्लोम्याटले ड्रोन उडाएको मलाई पूर्व जानकारी छैन।’
सीमा क्षेत्रमा ड्रोन उडाउँदा चीन र भारत दुवै सशङ्कित हुने जानकारहरू बताउँछन् । परराष्ट्र मामिलाका जानकार डा. चन्द्रदेव भट्ट भन्छन्, ‘अमेरिकन डिप्लोम्याटले ड्रोन उडाउँदा चीन र भारत दुवै सशङ्कित हुन्छन्, सुरक्षाको हिसाबले पनि यो विषय संवेदनशील होला।’
यस्ता गतिविधिले नेपालका दुवै छिमेकीलाई सतर्क बनाउने डा.भट्टले बताए । अमेरिकी प्रविधिको ड्रोनले सगरमाथा क्षेत्र वरपर सरसफाइ गर्ने क्षमता राख्ने र आपतकालिन अवस्थामा अक्सिन सिलिन्डर पठाउन र आरोहीहरूको उद्धारमा आवश्यक सामान पठाउन सकिने गोरले बेसक्याम्प क्षेत्रमा बताएको समाचारहरू प्रकाशन भएको छ।
चीनलाई लक्षित गरेर सीमानामा ड्रोन उडाएको भए सो क्रियाकलाप गलत हुने सशस्त्र प्रहरीका पूर्व एआईजी नारायणबावु थापाले बताए । उनले भने, ‘ट्रम्पका विशेष दूत सर्जियो गोरले ग्लेसियर र प्राकृतिक अवस्था हेरेको भए ठुलो विषय हुँदैन।’
नेपाल–चीन सीमाना नजिक ड्रोन उडाएर चीनतर्फको गतिविधि नियालेको भएमात्र त्यो इस्यु हुने थापाले बताए । उनले भने, ‘उहाँको पर्याय केहो त्यसमा भर पर्छ।’
गोरले शनिवार रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए। उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग पनि भेट गरेका थिए।
भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी गराउँदै गोरले लेखेका छन्, ‘नेपालमा नयाँ सरकारसँग परिवर्तनको लागी अविश्वसनीय जनादेश छ र उनीहरुले घोषणा गरेका सुधारहरू धेरै आशाजनक छन्।’
गोरले उद्घाटन गरेको ड्रोन फ्रि फ्लाई सिस्टमद्वारा निर्माण गरिएको बताइएको छ । छायाङ्कनको लागी ठुला क्यामरा लिफ्ट गर्न यो ड्रोनको प्रयोग गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण