शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

विजय मल्ल शताब्दी महोत्सव सम्पन्न, दुई कृति लोकार्पण

आइतबार, २० वैशाख २०८३, २३ : ११
आइतबार, २० वैशाख २०८३

सारांश

  • नइ एकेडेमीद्वारा आयोजित विजय मल्ल शताब्दी महोत्सवको समापन समारोहमा दुई कृति लोकार्पण गरिएको छ ।
  • महा समालोचक प्रा.डा. वासुदेव त्रिपाठीले डा. साधना पन्त 'प्रतीक्षा' द्वारा लिखित 'नारीवादी नाटककार विजय मल्ल' र नरेन्द्रराज प्रसाईँद्वारा रचित जीवनी 'विजय मल्ल' लोकार्पण गरे ।
  • महोत्सवका क्रममा विजय मल्लको सिर्जनात्मक कृतिको संवर्धनमा योगदान पुर्याएबापत ४५ जना प्राज्ञ, साहित्यकार, नाट्यकर्मी तथा चलचित्रकर्मीलाई 'विजय मल्ल नइ शताब्दी पुरस्कार' र पदकबाट विभूषित गरियो ।

काठमाडौँ । नइ एकेडेमीद्वारा आयोजित विजय मल्ल शताब्दी महोत्सव आइतबार एक विशेष समारोहका बिच समापन भएको छ । वानीरा सङ्ग्रहालयमा आयोजित समापन समारोहमा महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीले दुई कृतिको लोकार्पण गरे ।

लोकार्पण गरिएका कृतिहरूमा डा. साधना पन्त ‘प्रतीक्षा’ द्वारा लिखित समालोचनात्मक ग्रन्थ ‘नारीवादी नाटककार विजय मल्ल’ र नरेन्द्रराज प्रसाईँद्वारा रचित जीवनी ‘विजय मल्ल’ रहेका छन् । नइ एकेडेमीबाट प्रकाशित यी दुवै कृतिमाथि प्रा. केशव सुवेदीले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा ग्रन्थकार डा. साधना पन्त ‘प्रतीक्षा’ र नरेन्द्रराज प्रसाईँले स्रष्टा विजय मल्लको साहित्यिक योगदान र उनका कृतिहरूमाथि प्रकाश पारेका थिए ।

नइ एकेडेमीकी कुलपति इन्दिरा प्रसाईको सभापतित्वमा सम्पन्न उक्त समारोहमा प्रा.डा. वासुदेव त्रिपाठीले विजय मल्लको व्यक्तित्व र कृतित्वबारे प्रवचन दिएका थिए ।

महोत्सवका दौरान विजय मल्लका सिर्जनात्मक कृतिको संवर्धनमा उल्लेखनीय योगदान पुर्‍याएबापत नेपाल तथा भारतका ४५ जना प्राज्ञ, साहित्यकार, नाट्यकर्मी तथा चलचित्रकर्मीलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ र पदकबाट विभूषित गरिएको थियो । साथै, नइले मल्लको व्यक्तित्व र कृतित्वमाथि विभिन्न चर्चापरिचर्चा कार्यक्रम पनि आयोजना गरेको थियो ।

नेपाली साहित्यका सुविख्यात नाटककार, आख्यानकार तथा कवि विजय मल्लको जन्म वि.सं. १९८२ मा भएको थियो भने निधन वि.सं. २०५६ मा भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप