सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

ममताको आरोप, ‘चुनाव आयोग र सुरक्षा बल मिलेर धाँधली गर्दैछन्, अन्तिमसम्म मैदान नछाड्नू’

सोमबार, २१ वैशाख २०८३, १३ : ४९
सोमबार, २१ वैशाख २०८३

सारांश

  • पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मतगणनामा धाँधली भएको आरोप लगाउँदै आफ्ना कार्यकर्तालाई मतगणना केन्द्र नछाड्न निर्देशन दिएकी छिन्।
  • उनले निर्वाचन आयोग र सुरक्षा बलले भाजपालाई जिताउन मिलेमतो गरेको दाबी गरेकी छिन्।
  • भाजपाले १९२ सिटमा अग्रता लिइरहेको अवस्थामा पनि ममताले अन्तिमसम्म लड्ने र जित सुनिश्चित हुने विश्वास व्यक्त गरेकी छिन्।

कोलकाता। पश्चिम बंगाल विधानसभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) ले ठुलो अग्रता लिइरहेका बेला मुख्यमन्त्री ममता बनर्जीले आफ्ना कार्यकर्ता र एजेन्टहरूलाई कडा निर्देशन दिएकी छिन्। 

मतगणना केन्द्रहरूबाट तृणमूल कांग्रेस (टीएमसी) का एजेन्टहरू बाहिरिन थालेपछि बनर्जीले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै कुनै पनि हालतमा केन्द्र नछाड्न अपिल गरेकी हुन्। 

उनले हात जोडेर बिन्ती गर्दै भाजपाले षड्यन्त्रपूर्वक आफ्ना एजेन्टहरूलाई भगाउन खोजेको दाबी गरेकी छिन्। बनर्जीले निर्वाचन आयोग र केन्द्रीय सुरक्षा बलमाथि गम्भीर प्रश्न उठाउँदै उनीहरूले मिलेमतोमा नतिजा फेरबदल गर्न खोजेको आरोप लगाएकी छिन्। 

निर्वाचन आयोगले जानाजानी भाजपाले जितेका क्षेत्रको नतिजा पहिला सार्वजनिक गर्ने र टीएमसीको अग्रता भएका ठाउँको नतिजा लुकाउने रणनीति लिएको उनको तर्क छ। झन्डै १०० स्थानमा मतगणना रोकिएको र कल्याणी जस्ता क्षेत्रमा गणना नै नगरिएका मेसिनहरू भेटिएको भन्दै उनले चुनावी प्रक्रियाको निष्पक्षतामाथि औँला उठाएकी छिन्।

केन्द्रीय सुरक्षा बलले टीएमसीका कार्यकर्तामाथि अत्याचार गरेको र पार्टी कार्यालयहरू कब्जामा लिएको दाबी गर्दै ममताले अहिलेको रुझानलाई झुटो खेलको संज्ञा दिएकी छिन्। उनले अझै धेरै चरणको मतगणना बाँकी रहेको र १४ देखि १८ राउन्डको गणना सकिँदा नतिजा आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेकी छिन्। 

आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निराश नहुन आग्रह गर्दै उनले आफूहरू 'टाइगर' जस्तै लडिरहने र अन्तिममा जित सुनिश्चित हुने आश्वासन दिएकी छिन्।

हालसम्मको चुनावी रुझान अनुसार पश्चिम बंगालमा भाजपाले १९२ सिटमा अग्रता बनाउँदै स्पष्ट बहुमत तर्फ अघि बढेको देखिएको छ भने सत्तारुढ टीएमसी ९६ सिटमा खुम्चिएको छ। यस्तो प्रतिकूल अवस्थामा पनि ममताले आफ्ना समर्थकहरूलाई धैर्य राख्न र गणना केन्द्रमा डटेर बस्न निर्देशन दिएर चुनावी माहौललाई थप गर्माएकी छिन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप