सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एक वर्षसम्म डिप्रेसनसँग जुधेपछि इरफान खानका छोरा बाबिल सुटिङमा फर्किए

बुधबार, २३ वैशाख २०८३, १० : १५
बुधबार, २३ वैशाख २०८३

सारांश

  • अभिनेता बाबिल खान, दिवंगत अभिनेता इरफान खानका छोरा, मानसिक स्वास्थ्य समस्याका कारण एक वर्षको विश्रामपछि सुटिङमा फर्किएका छन्।
  • उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत काममा फर्किएको घोषणा गर्दै प्रशंसकहरूप्रति माया र कृतज्ञता व्यक्त गरेका छन्।
  • बाबिलले आफ्नो आगामी प्रोजेक्ट गोप्य राखेका छन्, तर उनले 'कला' र 'द रेलवे मेन' जस्ता प्रोजेक्टहरूमा काम गरिसकेका छन्।

मुम्बई । लामो समयदेखि पर्दा र अभिनयबाट टाढा रहेका अभिनेता बाबिल खान अन्ततः सुटिङ सेटमा फर्किएका छन्। दिवंगत दिग्गज अभिनेता इरफान खानका छोरा बाबिल केही समययता गम्भीर मानसिक स्वास्थ्य समस्याबाट गुज्रिरहेका थिए।

मानसिक तनावकै कारण अभिनय यात्राबाट विश्राम लिएका उनले बलिउड चलचित्र उद्योगमाथि थुप्रै गम्भीर आरोपसमेत लगाएका थिए। झन्डै एक वर्षको लामो अन्तरालपछि उनी आफ्नो आगामी प्रोजेक्टको दोस्रो तालिकाको सुटिङका लागि सेटमा फर्किएका हुन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफ्ना प्रशंसकहरूका लागि एउटा भावुक सन्देश साझा गर्दै काममा फर्किएको घोषणा गरेका छन्। बाबिलले गाडीमा मुस्कुराउँदै बसेको तस्बिर सेयर गर्दै आफ्नो खुसी व्यक्त गरेका छन्।

सुटिङ सेटका केही तस्बिरहरू सार्वजनिक गर्दै उनले क्याप्सनमा ‘म तपाईंहरूलाई माया गर्छु’ भनी लेखेका छन्। उनले जारी गरेको आधिकारिक विज्ञप्तिमा लेखिएको छ, ‘म आफ्नो सुटिङको दोस्रो तालिका सुरु गर्दैछु। यो समयमा म तपाईंहरूलाई कति माया गर्छु र तपाईंहरूको माया मेरा लागि कति महत्त्वपूर्ण छ भन्ने कुरा व्यक्त गर्न चाहन्छु। म आफ्नो सम्पूर्ण शक्ति लगाएर कडा मिहिनेत गर्नेछु ताकि मलाई पर्दामा हेर्दा तपाईंहरूको समय पूर्ण रूपमा सार्थक बनोस्। आशा छ, निकै चाँडै तपाईंहरूले मलाई आफ्नो स्क्रिनमा देख्नुहुनेछ।’

बाबिलले आफ्नो आगामी प्रोजेक्ट कुन हो र कुन चलचित्रमा काम गरिरहेका छन् भन्ने कुरालाई भने अहिलेका लागि गोप्य नै राखेका छन्। उनले सन् २०२२ मा प्रदर्शनमा आएको चर्चित चलचित्र ‘कला’ बाट अभिनय यात्राको सुरुवात गरेका थिए, जसमा उनीसँगै अभिनेत्री तृप्ति डिमरी मुख्य भूमिकामा थिइन्। त्यसपछि उनले नेटफ्लिक्सको सफल वेब सिरिज ‘द रेलवे मेन’ मा आफ्नो सशक्त अभिनयको छाप छोडेका थिए।

यसअघि बाबिलले एउटा भिडियो सार्वजनिक गर्दै बलिउड चलचित्र उद्योगलाई सबैभन्दा ‘फेक’ अर्थात् नक्कली ठाउँको संज्ञा दिएपछि उनी निकै चर्चामा आएका थिए। भिडियोमा उनी रोइरहेको र मानसिक रूपमा निकै कमजोर अवस्थामा देखिएका थिए।

उद्योगका केही स्थापित कलाकारहरूको नाम लिँदै उनले आक्रोश पोखेका थिए र त्यसलगत्तै आफ्नो इन्स्टाग्राम अकाउन्टसमेत बन्द गरिदिएका थिए। उनको उक्त कदमले शुभचिन्तकहरूमा ठुलो चिन्ता पैदा गरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप