मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

कांग्रेस विवादमा ‘आइसब्रेक’ : सभापतिको सक्रियता, खड्का र शेखरसँग सहमतिको खोजी

बुधबार, २३ वैशाख २०८३, १७ : ४५
बुधबार, २३ वैशाख २०८३

सारांश

  • नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको विवाद समाधानका लागि सभापति गगन थापाले असन्तुष्ट नेता पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई भेटेका छन् ।
  • सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले निवर्तमान कार्यवाहक सभापति खड्कालाई भेटेर पार्टीलाई एकताबद्ध बनाउने सर्तमा मिलेर जान छलफल गरेका छन् ।
  • नेता डा. कोइरालाले विवाद समाधानको सूत्र ल्याएर आउन सभापति थापालाई सुझाएका छन् भने खड्काले पार्टी एकता टुक्रा-टुक्रामा नभई सम्पूर्ण रूपमा हुनुपर्ने बताएका छन् ।

काठमाडौँ । नेपाली कांग्रेसको तत्कालीन केन्द्रीय कार्यसमिति र संस्थापन पक्षको असहमतिबिच गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चयन भए ।  सोही विशेष महाधिवेशनलाई सर्वोच्च अदालतले समेत आधिकारिकता दिइसकेको अवस्था भए पनि हालसम्म पार्टीभित्र विग्रह कायमै छ।  

यस्तो स्थितिमा नेताहरू विवाद समाधानको प्रयासमा जुटेका छन् । हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीभित्र देखिएको विशेष महाधिवेशनको पक्ष र विपक्षमा देखिएको विवाद समाधानका लागि सभापति थापालाई नै जिम्मेवारी दिएको थियो । सोहीअनुसार सभापति थापाले विवादमा 'आइसब्रेक' गर्दै असन्तुष्ट नेताहरूलाई भेटिरहेका छन् ।

विशेष महाधिवेशनको विपक्षमा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समिति र डा. शेखर कोइराला समूह थियो । थापाले अहिले देउवा समूहको नेतृत्व गरिरहेका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालाई विवाद समाधानको पहलस्वरुप भेटेका हुन् । 

अन्य नेताहरूलाई पनि सभापति थापा र अन्य पदाधिकारीले अनौपचारिक रूपमा भेटिरहेको नेताहरू बताउँछन् ।  निवर्तमान कार्यवाहक सभापति खड्कालाई गोल्फुटारस्थित उनकै निवासमा पुगेर सभापति थापाले वैशाख ६ गते साँझ भेटेका थिए । नेता डा. कोइरालालाई वैशाख २२ गते विशालनगरस्थित उनकै सचिवालयमा पुगेर भेटेका थिए । 

नेता खड्कालाई सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले बुधवार बिहान उनकै निवासमा पुगेर भेटेका छन् ।

 तीन नेताबिच बिहान ११ बजेदेखि साढे १२ बजेसम्म डेढ घण्टा भेट भएको खड्काका स्वकीय सचिव गौतम बीसीले जानकारी दिए । ‘तीन नेताबिच बिहान ११ बजेदेखि साढे १२ बजेसम्म डेढ घण्टा कुराकानी भयो । पार्टीको विवाद समाधान गरी अगाडि बढ्ने सहमति बनेको छ,’ बीसीले रातोपाटीसँग भने । 

विशेष महाधिवेशनपछि सभापति थापाले खड्कालाई भेटेको यो दोस्रो पटक हो । सभापति थापासँगको पहिलो भेटबारे नेता खड्काले आफ्नो समूहका नेताहरूको वैशाख १५ गते महाराजगन्जस्थित स्मार्ट होटलमा भएको भेलामा ब्रिफिङ गरेका थिए । त्यो बेला खड्काले पार्टीलाई कसरी एकताबद्ध गरेर लैजाने भन्नेबारे सभापतिले सुझाव मागेको र त्यसबारे आफूले सुझाएका विषयबारे नेताहरूलाई जानकारी गराएका थिए ।

 ‘आधा कांग्रेस नेतृत्वको साथमा र आधा बाहिर रहेको जस्तो देखिएकाले पार्टी अहिले गुट–गुटमा विभाजित छ,’ सभापतिसँग भएको कुराकानीबारे खड्काले भनेका थिए, ‘यसलाई सम्पूर्ण रूपमा एकता गर्ने वा विभाजनतर्फ लैजाने भन्ने जिम्मेवारी अब सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको काँधमा छ । त्यसबारे कसरी अगाडि बढ्ने भन्ने तपाईंहरूको योजना र रणनीतिमा भर पर्छ ।’

खड्काले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी पूर्ण एकता कायम गर्न आफू तयार रहेको बताएको जानकारी गराएका थिए । ‘पार्टी विभाजन वा एकताको भविष्य नेतृत्वको हातमा छ । हामी पार्टीलाई एकताबद्ध गराउन तयार छौँ । नेतृत्वले चाहन पर्‍यो,’ खड्काले बैठकमा भने, ‘मैले उहाँलाई प्रस्ट भनेको छु— पार्टी एकता टुक्रा–टुक्रामा गरेर अर्थ छैन, यो सम्पूर्ण रूपमा हुनुपर्छ। एकता कसरी गर्ने भन्ने बल अब तपाईंहरूको कोर्टमा छ । तपाईंहरूले एकताको ठोस रोडम्याप र प्रस्ताव तयार पार्नुहोस्, त्यसपछि मात्रै थप छलफल गर्न सकिन्छ ।’

त्यसपछि सभापति थापाले आफूले उपसभापति शर्मासँग कुराकानी गरी फेरि थप छलफल गर्न आउने बताएका थिए । बुधवार शर्मासहित गएका सभापति थापाले पार्टीलाई एकताबद्ध बनाउने सर्तमा मिलेर जान तयार रहेको र के के विषय मिलाउने हो, त्योबारे छलफल गरौँ भनेको खड्काको सचिवालयले जानकारी दिएको छ । 

थापाले मंगलबार नेता डा. कोइरालासँगको भेटमा पनि मिलाउने विषय के के हुन मिलाएर जाऊँ भन्दै सुझाव मागेका थिए । जवाफमा डा. कोइरालाले विवाद समाधानको सूत्र ल्याएर आउन सुझाएका थिए । ‘सभापतिज्यूले मिलाउने विषय के के हुन् दिनुस् । म मिलाउन तयार छु भन्नुभयो,’ भेटमा भएको कुराकानीबारे डा. कोइरालाको सचिवालयले भन्यो, ‘जवाफमा शेखर दाइले सभापति तपाईं हो । यसरी मिलाउन पर्छ भन्ने योजना ल्याएर आउनुस् भन्नुभयो ।’

त्यसपघि सभापति थापा आफूले उपसभापति विश्वप्रकाश शर्मासँग छलफल गरेर योजना ल्याएर आउने भन्दै उठेका थिए । 

यता सभापति थापाको सचिवालयले विवाद समाधानका लागि सभापति नरम बनेर भए पनि पार्टीलाई एकढिक्का बनाउने प्रयासमा जुटेको बताएको छ ।

सहमहामन्त्री उदय शमशेर राणाले विधानको परिधिभित्र रहेर विवाद समाधान गर्न आफूहरू तयार रहेको र त्यसै अनुरूप नेताहरूलाई सभापतिले भेटिरहेको जानकारी दिए । 

सोमबार बसेको कार्यसम्पादन समिति बैठकबाटै नेता कोइराला र खड्कालाई भेट्ने तय भएको सहमहामन्त्री राणाले बताए । ‘विधानअनुरूप मिल्न सक्ने सबै विषय मिलाएर अगाडि बढ्न हामी तयार छौँ,’ सहमहामन्त्री राणाले भने, ‘त्यसका लागि सभापतिज्यूले नेताहरूलाई भेट्ने कुराकानी भएको छ । त्यो अनुसार उहाँले नेताहरूलाई भेटिरहनु भएको छ ।’

प्रवक्ता देवराज चालिसेले पनि विधानको परिधिभित्र रहेर पार्टीलाई मिलाउन संस्थापन लचिलो भएर अगाडि बढ्ने बताए । 

सभापतिसँगको भेटपछि शेखरले भेटे खड्का र अर्जुननरसिंह केसी 

नेता डा. शेखर कोइरालाले सभापति थापासँगको भेटपछि निवर्तमान कार्यवाहक सभापति खड्का र नेता अर्जुननरसिंह केसीसँग पार्टी विवाद समाधानबारे छलफल गरेका छन् । खड्कासँग मंगलबार आफ्नै विशालनगरस्थित सचिवालयमा र केसीसँग केसी निवासमा पुगेर भेट गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए । 

दुवै भेटमा पार्टीभित्र विशेष महाधिवेशनपछि देखिएको विवाद समाधान कसरी गर्ने भन्नेबारे छलफल भएको थपलियाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मधुसुधन भट्टराई
मधुसुधन भट्टराई

रातोपाटीका खोज तथा समाज ब्यूरो प्रमुख भट्टराईले राजनीति, संसद् र प्रशासनमा कलम चलाउँछन् ।

लेखकबाट थप