तस्बिरमा हेर्नुहोस् होल्डिङ सेन्टरमा सुकुमबासीको दैनिकी
सारांश
- सरकारले खोला किनारका सुकुमबासी बस्ती हटाएपछि सयौँ परिवार उपत्यकाका विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन्।
- होल्डिङ सेन्टरमा बस्ने सुकुमबासीहरूले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
- घर टहरा भत्काउनुअघि पर्याप्त सूचना वा समय नदिएको गुनासो उनीहरूको छ।
काठमाडौँ । सरकारले खोला किनारका सुकुमबासी बस्ती हटाएपछि सयौँ परिवार अहिले उपत्यकाको विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन्। यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरुले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
होल्डिङ सेन्टरमा खाना बस्न राम्रो भए पनि उनीहरूको मन त्यहाँ अडिन सकेको छैन । बस्दै आएको घरमा डोजर चले पछि होल्डिङ सेन्टरमै बस्दै आएका उनीहरुलाई सरकारले छिटो उचित बसोबास व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् ।
सरकारले घर टहरा भत्काउनुअघि पर्याप्त सूचना वा समय नदिएको उनीहरूको गुनासो समेत छ । “कम्तीमा केही दिन समय दिएको भए सामान निकाल्न सक्थ्यौँ,” भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरमा बस्दै आएकी ७१ वर्षीय कान्छी थापाले बताइन्। पुरानो ठेगाना धादिङ भए पनि २०–२२ वर्ष देखि गैरीगाउँको सुकुम्बासी बस्ती नै उनको स्थायी ठेगाना थियो, त्यहाँ डोजर चलेसँगै उनी अहिले घरबार र ठेगाना विहीन भएकी छन् । उनीसँग अहिले ज्यानको एक सरो लुगा बाहेक केही छैन ।

सानोतिनो व्यापार गरेर दुःख सुख गरी बनाएको टहरामा डोजर चल्दा होल्डिङ सेन्टरको कोठा अहिले उनको ठेगाना भएको छ । उनी भन्छिन् सरकारले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था मिलाइदिन पर्यो ।
शंखमुलबाट विस्थापित भएका वीर बहादुर तामाङका बुबा २०३० सालमा शंखमुल बस्तीमा बस्न पुगेका थिए । वीर बहादुरले आफ्ना बुबा आमा त्यही बितेका थिए, बुबाआमाको काजक्रिया त्यही गरेका वीर बहादुरले अहिले घर विहीन भएका छन् । सानै भए पनि दुःख गरी बनाएको घरमा डोजर चल्दा उनीहरूको परिवार नै छुट्टिएर बस्नु परेको छ। छोराछोरी, नातिनातिना गरी १३ जनाको परिवार रहेको वीर बहादुरको छोरा बुहारी र नातिनातिना ललितपुरको लुभु तिर कोठा खोजी बस्ने गएको उनले बताए । सुकुम्बासीलाई कोठा पाउन पनि गाह्रो काठमाडौंमा त्यसैलाई उनीहरू लुभु गएको जानकारी दिए। परिवारसँग हाँसीखुसी बस्दै आएका वीर बहादुरले र सानु मायालाई होल्डिङ सेन्टरको कोठामा त्यति निन्द्रा पर्दैन, नातिनातिनाको याद र भविष्यको चिन्तालाई उनीहरूलाई सुत्न दिँदैन ।

वर्षौँदेखि खोलाकिनारमा बस्दै आएका यी परिवारहरू आफूहरू बाध्यतावश त्यहाँ बस्नुपरेको बताउँछन्। “हामी रहरले बसेका होइनौँ, विकल्प नभएर बसेका थियौँ,” बल्खुबाट विस्थापित भएकी मञ्जु तामाङले भनिन् । श्रीमानले अर्को विवाह गरे पछि तीन सन्तान हुर्काउन कै लागि २ वर्ष इराक र ५ वर्ष साउदी बसेकी मञ्जुले कमाएको जति सबै घर बनाउनको लागि खर्च गरेकी थिइन्, अहिले उनीसँग केहि छैन ।
बुबा आमा बितेपछि एक्ली भएकी गीता तामाङ होल्डिङ सेन्टरमा प्राय निराश देखिन्छिन्। उमेरले ५६ वर्ष टेकी सक्दा पनि उनको नागरिकता अझै सम्म बनेको छैन। बल्खु बस्तीबाट विस्थापित उनले उनी जस्ता गरिब, बेसाहारा नागरिकलाई उचित व्यवस्था गरी दिन सरकारसँग माग गर्छिन् ।

टेकु बंशिघाटबाट विस्थापित ८१ वर्षीय जगत् सुनार र उनको श्रीमती ७६ वर्षीय लक्ष्मी सुनारको माग सरकारले छिटो र उचित व्यवस्थापनको छ । २०५९ सालदेखि त्यहाँ बस्दै उनीहरू अहिले घर विहीन भएका छन् ।
बल्खु सुकुमबासी बस्तीबाट विस्थापित रोजिना खातुन अहिले २५ वर्षकी भइन् । सानै उमेरमा बुबा गुमाएकी उनको अहिले सम्म नागरिकता बन्न सकेको छैन । दुःख सुख गरी आमाले ११ कक्षासम्म पढाएको उनले बताइन् । पढाई बिचमै छाडी काम गरी आमाको सहर बन्ने सोच रहे पनि राम्रो काम पाउन नसकेको उनले बताइन्, नागरिकता पनि छैन मेरो, त्यसैले पनि काम पाउन मुस्किल भएको उनले भनिन् । कवाडीको काम गर्दै आएको उनको परिवार अहिले होल्डिङ सेन्टरमा घर र रोजगार विहीन भएका छन् ।

यसरी सुकुमबासी बस्तीबाट विस्थापित भएका धेरैजसो परिवारमा साना बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी सदस्य रहेकाछन् । केहीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका थिए भने कतिपय साना पसल वा ठेला व्यवसायमा निर्भर थिए। बस्ती हटाइएपछि उनीहरूको आयआर्जनसमेत पूर्ण रूपमा रोकिएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण