प्लेअफको दौडमा रहेको बेंगलुरु र साख जोगाउन सङ्घर्षरत लखनउ आमनेसामने
लखनउ । आईपीएलमा आज रोयल च्यालेन्जर्स बेंगलुरुले लखनउ सुपर जायन्ट्सको सामना गर्दै छ। खेल लखनउस्थित इकाना स्टेडियममा साँझ ७:४५ बजेदेखि खेलिनेछ।
बेंगलुरुले अघिल्लो खेलमा गुजरात टाइटन्ससँग ४ विकेटको हार बेहोरेको थियो। रजत पाटीदारको कप्तानीमा रहेको टोली यो खेल जितेर प्लेअफको दौडमा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ।
उता लगातार ६ हारपछि अङ्क तालिकाको पुछारमा पुगेको लखनउ सुपर जायन्ट्सका लागि यो भिडन्त साख जोगाउने अवसर हुनेछ।
- इकानामा बेंगलुरुलाई हराउन सकेको छैन लखनउले
अहिलेसम्म यी दुई टोलीबिच आईपीएलमा ७ भिडन्त भएका छन्। लखनउ सुपर जायन्ट्सले २ र रोयल च्यालेन्जर्स बेंगलुरुले ५ खेल जितेका छन्। यस सिजनमा दुवैबिच यो दोस्रो भिडन्त हो।

बेंगलुरुमा खेलिएको पहिलो खेलमा बेंगलुरुले लखनउलाई ५ विकेटले हराएको थियो। अघिल्लो सिजनमा दुवैबिच एउटा खेल भएको थियो, जुन बेंगलुरुले जितेको थियो। दुवै टोली इकानामा दुई पटक भिडेका छन् र दुवै पटक बेंगलुरुले बाजी मारेको छ।
- तेस्रो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरु
बेंगलुरु १२ अङ्कसहित अङ्क तालिकाको दोस्रो स्थानमा छ। यद्यपि, अन्य दुई टोलीको पनि १२–१२ अङ्क छ। गुजरात टाइटन्ससँगको हारपछि बेंगलुरुको नेट रनरेट प्रभावित भएको छ, जसलाई टोलीले सुधार्ने प्रयास गर्नेछ।
अर्कोतर्फ, लखनउ सुपर जायन्ट्सका लागि प्रतियोगिता लगभग सकिइसकेको छ। तापनि ऋषभ पन्तको कप्तानीमा रहेको टोलीले बेंगलुरुको खेल बिगार्न सक्छ।
- पछिल्ला ६ खेलदेखि जितविहीन लखनउ
लखनउ सुपर जायन्ट्सका लागि यो सिजन निराशाजनक रहेको छ। मिचेल मार्स, एडन मार्करम र निकोलस पुरन लगातार सङ्घर्ष गरिरहेका छन्।
कप्तान ऋषभ पन्तको लयमाथि पनि प्रश्न उठेको छ। ब्याटिङ क्रममा लगातार परिवर्तन गर्ने रणनीति टोलीका लागि महँगो साबित भएको छ।

अब उनीहरूले भुवनेश्वर कुमार र जोस हेजलउडजस्ता अनुभवी बलरहरूको सामना गर्नुपर्नेछ, जसले दिल्ली क्यापिटल्सलाई ७५ रनमै समेटेका थिए।
लखनउ सुपर जायन्ट्सका लागि बलिङतर्फ प्रिन्स यादव (१३ विकेट) र मोहसिन खान (१० विकेट) मात्र सफल देखिएका छन्। मोहम्मद शामीको खराब लय र डेथ ओभरमा रन रोक्न नसक्नु टोलीको सबैभन्दा ठूलो कमजोरी बनेको छ।
- विराट कोहली लयमा, तर साल्ट घाइते
यस सिजनमा बेंगलुरुको ब्याटिङ आक्रामक रहेको छ। विराट कोहली ३७९ रनसहित टोलीका सर्वाधिक रन बनाउने खेलाडी हुन्।
अघिल्लो खेलमा टोलीको ब्याटिङ धर्मराएको थियो। स्कोर ७९/२ बाट ९६/६ पुग्यो र पूरै टोली १५५ रनमा समेटियो। टोलीका लागि ओपनर फिल साल्टको औँलाको चोट ठूलो झट्का हो।
उनको अनुपस्थितिमा ज्याकव बेथेलमाथि विराट कोहलीसँग मिलेर उत्कृष्ट सुरुआत दिलाउने जिम्मेवारी हुनेछ। कप्तान रजत पाटीदार र देवदत्त पडिक्कलबाट पनि मध्यक्रममा ठूलो स्कोरको अपेक्षा गरिएको छ।
यसैबिच, रोयल च्यालेन्जर्स बेंगलुरुसँग अनुभवी बलिङ आक्रमण छ। भुवनेश्वर कुमार नयाँ बलबाट विकेट लिइरहेका छन् भने जोस हेजलउडको सटिक स्पेलले ब्याटरलाई बाँधेर राख्छ। स्पिनतर्फ क्रुणाल पाण्ड्या ९ विकेट लिएर प्रभावशाली देखिएका छन्।

जसमा हुनेछ नजर
- विराट कोहली
कठिन पिच र ठुलो आउटफिल्ड त्यस्तो ठाउँ हो जहाँ विराट कोहली निकै मूल्यवान् साबित हुन सक्छन्। उनी पछि परेका छन् भन्ने होइन।
यस वर्ष उनको स्ट्राइक रेट सञ्जु सामसनको जस्तै छ, र उनी ओरेन्ज क्याप होल्डरभन्दा मात्र ६६ रनले पछाडि छन्। तर कम स्कोर बन्ने खेलमा उनी साँच्चै चम्किन सक्छन्।

- ऋषभ पन्त
ऋषभ पन्तले लखनउका लागि अर्को निराशाजनक सिजन बिताइरहेका छन्। उनको ब्याटिङ, किपिङ वा मैदानको कुराकानीभन्दा टोली मालिकसँगको संवादले बढी चर्चा पाएको छ। उनले अब आफ्नो तेस्रो नम्बरको स्थान पनि गुमाएका छन्। के उनले आफूलाई लयमा फर्काउने बाटो भेट्टाउलान् त?
इकानामा अहिलेसम्म २६ खेल सम्पन्न
लखनउस्थित इकाना स्टेडियमको पिचमा स्पिनरहरूलाई मद्दत मिल्ने अपेक्षा गरिएको छ। यहाँ अहिलेसम्म कुल २६ आईपीएल खेल खेलिएका छन्। पहिले ब्याटिङ गर्ने टोलीले १० र रन पछ्याउने टोलीले १४ खेलमा जित हात पारेका छन्। एउटा खेल नतिजाविहीन रह्यो भने एउटा खेलको छिनोफानो सुपर ओभरमा भएको थियो।
यहाँ आईपीएलको सबैभन्दा ठुलो स्कोर कोलकाता नाइट राइडर्सको नाममा छ। उसले २०२४ मा लखनउविरुद्ध २३५/६ रन बनाएको थियो।
त्यस्तै, सबैभन्दा सानो स्कोर लखनउ सुपर जायन्ट्सको नाममा दर्ता छ। सन् २०२३ मा बेंगलुरुविरुद्ध खेल्दा उनीहरू मात्र १०८ रनमा समेटिएका थिए।

लखनउमा वर्षाको सम्भावना
लखनउमा आज आंशिक रूपमा बदली हुनेछ। दिउँसो वा साँझपख हल्का वर्षा वा मेघगर्जनसहित छिटपुट पानी पर्ने २५ प्रतिशत सम्भावना छ। अधिकतम तापक्रम ३१ देखि ३४ डिग्री र न्यूनतम तापक्रम २२ देखि २७ डिग्री सेल्सियसको बिचमा रहने अनुमान छ।
- टोली समाचार
ज्याकव बेथेलले निरन्तरता पाउने
लखनउको पछिल्लो संयोजनमा जोस इङ्ग्लिस ओपनर र पुरन तेस्रो नम्बरमा थिए, जसले पन्त र एडन मार्करमलाई तल्लो क्रममा धकेलेको थियो।
उनीहरूले उत्कृष्ट सुरुआत गर्दै ८ ओभरमै १२३/१ को स्थिति बनाएका थिए, तर फेरि मध्यक्रम धर्मराउँदा अन्तिम स्कोर २२८ मात्र पुग्न सक्यो। लखनउले आफूसँग जे छ, त्यसैमा काम गर्नुपर्नेछ। यसको अर्थ यही संयोजनलाई केही समय निरन्तरता दिनु हुन सक्छ।
लखनउ सुपर जायन्ट्स (सम्भावित): १. मिचेल मार्स, २. जोस इङ्ग्लिस, ३. निकोलस पुरन, ४. ऋषभ पन्त (कप्तान/विकेटकिपर), ५. एडन मार्करम, ६. अक्षत रघुवंशी, ७. हिम्मत सिंह, ८. मोहम्मद शामी, ९. मोहसिन खान, १०. आवेश खान, ११. प्रिन्स यादव, १२. एम. सिद्धार्थ।
साल्टको चोटका कारण अनिश्चितता बढेपछि ज्याकव बेथेलले शीर्ष क्रममा राम्रो अवसर पाउने देखिएको छ। अघिल्लो खेलमा गुजरात टाइटन्सविरुद्ध लगातार विकेट गुमाउँदा बेंगलुरु दबाबमा परेको थियो र आफ्नो ‘इम्प्याक्ट प्लेयर’ रणनीति परिवर्तन गर्न बाध्य भएको थियो। रसिक सलामको सट्टा वेङ्कटेश अय्यरलाई खेलमा ल्याइएको थियो, तर हरेक खेलमा यस्तो हुन्छ भन्ने अपेक्षा गर्न सकिँदैन।
रोयल च्यालेन्जर्स बेंगलुरु (सम्भावित): १. विराट कोहली, २. ज्याकव बेथेल, ३. देवदत्त पडिक्कल, ४. रजत पाटीदार (कप्तान), ५. जितेश शर्मा (विकेटकिपर), ६. टिम डेभिड, ७. रोमारियो सेफर्ड, ८. क्रुणाल पाण्ड्या, ९. भुवनेश्वर कुमार, १०. जोस हेजलउड, ११. सुयश शर्मा, १२. रसिक सलाम।
तथ्याङ्क र रोचक जानकारी
- मोहसिन खानले यस आईपीएलमा तीनवटा विकेट–मेडन ओभर फ्याँकेका छन्, तर यो रेकर्ड भने होइन। आश्चर्यजनक रूपमा, धवल कुलकर्णीले सन् २०१६ मा चारवटा त्यस्ता ओभर फ्याँकेका थिए।
- भुवनेश्वर कुमारले अघिल्लो भिडन्तमा उनलाई सस्तैमा आउट गरेका हुन सक्छन्, तर यस वर्षको आईपीएलमा सर्वाधिक विकेट लिने बलरविरुद्ध पन्तको आँकडा अझै बलियो छ: ५६ बल, १२१ रन, दुई पटक आउट।
- सुपर ओभरको एक हारसहित १३ जित र २० हारको रेकर्ड भएको लखनउको आफ्नो घरेलु मैदानमा जित–हारको अनुपात वर्तमान टोलीहरूमध्ये सबैभन्दा खराब छ। गुजरात लायन्स, डेक्कन चार्जर्स र पुने वारियर्सको मात्र घरेलु मैदानको प्रदर्शन योभन्दा खराब थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण