मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

कांग्रेस विवाद समाधानका लागि महाधिवेशन केन्द्रित संयुक्त संयन्त्र बनाएर जान तयार छौँ : महामन्त्री पौडेल

बिहीबार, २४ वैशाख २०८३

नेपाली कांग्रेसको विवाद समाधानका लागि सहमति र संवादको वातावरण निर्माण गर्नुपर्छ भन्ने नेता हुन् महामन्त्री प्रदीप पौडेल । उनले नै पहिला सबैलाई मिलाएर १५औँ महाधिवेशन गर्नुपर्ने प्रस्ताव विशेष महाधिवेशनबाट आएको नेतृत्व र नेताहरू समक्ष राखेका थिए । त्यसले सार्थकता पाउने बाटोको सुरुवात भएको छ ।

इतर समूहका नेता निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र डा. शेखर कोइरालालाई सभापति गगन थापाले भेटेर विवाद मिलाउने प्रयास गरिरहेका छन् । यही परिस्थितिका बिच महामन्त्री पौडेललाई हामीले कांग्रेसको विवाद समाधान उन्मुख भएको हो भनेर प्रश्न गरेका छौँ ।

प्रस्तुत छ, कांग्रेसभित्रको विवादका बारेमा केन्द्रित रहेर महामन्त्री पौडेलसँग गरिएको अडियोसहितको संवादका सारसंक्षेप-

  • नेपाली कांग्रेसका सभापति गगन थापाले एक्लै एक पटक र उपसभापति विश्वप्रकाश शर्मासहित एक पटक गरेर दुई पटक निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटघाट गर्नुभयो । त्यो भेटघाटपछि पार्टीमा देखिएको विवाद अन्त्यको बाटोमा गएको हो ?

सभापतिज्यूले नै अग्रसरता देखाएर सबैलाई सँगै राख्ने, उहाँको नेतृत्वमा सबै सँगसँगै अगाडि बढ्ने स्थिति बनाउनका निम्ति पहल गरिरहनु भएको छ । दुई दिनमै दुई पटक भेटघाट भयो, तर अन्य अनौपचारिक रूपमा जोडिने कुरा धेरै पटक भएको छ । त्यसैले पार्टी सभापतिज्यूले सबैलाई समेटेर अधिवेशनमा लैजाने, पार्टीको यो दायराबाट कोही बाहिर जान नपर्ने स्थिति बनोस्, आफ्नो नेतृत्वमा सबैलाई समेट्ने अवस्था बन्न सकोस् भनेर उहाँले पहलकदमी लिनुभएको अवस्था छ ।

  • हामीले अब कांग्रेस विवाद निरूपणको बाटोमा गयो भनेर बुझ्दा हुन्छ ?

वैधानिक बाटोबाट के–के गर्न सकिन्छ भन्ने हेरेर सबैलाई समेट्नका लागि स्वाभाविक ढङ्गले प्रयत्न गरिरहेको छ कि छैन भन्ने कुरा गहिराइमा बुझ्नुपर्छ भन्ने लाग्छ । यो विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व हो । यसले विशेष महाधिवेशनको म्यान्डेटलाई कार्यान्वयन गर्न सक्नुपर्छ । विशेष महाधिवेशनको म्यान्डेटभन्दा बाहिर गएर कार्यान्वयन गर्ने अवस्था हुँदैन । त्यसैले विशेष महाधिवेशनको सीमा छ भन्ने कुरा अग्रज नेताहरूले पनि बुझिदिनुपर्छ । त्यो सीमाभित्र बसेर समेट्ने, सबैलाई सँगसँगै लैजाने, सबैलाई भूमिका दिने अवस्था बनाउन खोजिएको हो ।

बुझिने गरी भन्दा नियमित महाधिवेशन आउन एकदमै थोरै समय छ । हामीले गर्नुपर्ने धेरै काम छन् । अब यसमै अल्झिएर हुँदैन । सबैलाई समेटिएको स्थिति निर्माणका लागि पक्षधरताको आधारमा संरचनाभित्र प्रतिनिधित्व गर्ने अवस्था निर्माण गर्न हामीसँग धेरै समय नभएकाले हामीले यसलाई छिटो गर्न चाहन्छौँ । जस्तो, केन्द्रीय समितिमा जुन–जुन जिम्मेवारीहरू खाली छन्, ती जिम्मेवारीहरूमा समेट्ने, अधिवेशनमा केन्द्रित गरेर जुन–जुन उपसमिति संरचनाहरू निर्माण गरिन्छ, त्यसमा पनि समेट्ने । यस्ता अभ्यासहरू विगतका पनि भइरहेका छन् ।

पार्टीमा फरक मत हुन्छन्, गुटहरू हुन्छन्, विचार समूहहरू हुन्छन् । त्यसलाई समेट्ने विगतमा लामो समयदेखि अभ्यास गरेकै तरिका छँदैछ । सबैलाई समेटेर लिएर जाने अभ्यास जसरी निवर्तमान सभापतिजी वा त्योभन्दा अगाडिका सभापतिज्यूहरूले गर्नुहुन्थ्यो, त्यो अहिले पनि गर्न खोजिएको हो ।

  • पार्टीको क्रियाशील सदस्यता अद्यावधिकको विषयमा अहिले बाहिर रहेको समूहले ठुलो अब्जेक्सन जनाइरहेको छ । त्यो समाधान गर्ने बाटो के हुन सक्छ ?

लोकतन्त्रका निम्ति जीवन नै समर्पित गर्ने आदरणीय नेताहरूलाई पहिला अद्यावधिकमा अब्जेक्सन गर्न त मिल्दैन भन्न चाहन्छु । अद्यावधिक गरेर पुरानो सदस्यको डिटेल विवरण लिन खोजिएको हो । पार्टीलाई चाहिने विवरण लिन खोजिएको हो । अद्यावधिकले नयाँ मान्छेलाई सदस्य बनाउने होइन । आफूले चाहेको अनुसार एकलौटी सदस्य बनाउने होइन । यति कुरा आदरणीय नेताहरूले पक्कै पनि बुझ्नुहुन्छ ।

अद्यावधिक भनेको भइरहेका सदस्यहरूको थप विवरण पार्टीले लिन खोजेको, त्यसलाई डिजिटलाइज गर्न खोजेको, त्यसलाई प्रविधिको फ्रेमभित्र राख्न खोजेको हो । पहिलेका नवीकरण गरेका निवर्तमान समितिभित्र रहनुभएका आदरणीय नेताहरूले नै नवीकरण गराउनुभएको, त्यो बेलामा सदस्यता दिनुभएकाहरूलाई अद्यावधिक गर्न खोजेको हो । यसमा अब्जेक्सन गर्नुपर्ने केही कारण नै छैन ।

के पार्टीका सदस्यलाई डिजिटल सिस्टममा नजोड्न भन्न खोजिएको हो ? पार्टीका सदस्यहरूको केन्द्रसँगको अथवा कुनै पनि संरचनासँगको सम्बन्धलाई सजिलो बनाउन मिल्दैन भन्न खोजिएको हो ? पार्टीका सदस्यहरूलाई निर्वाचनको समयमा सामाजिक सञ्जालमा सजिलो गरी सक्रिय बनाउन मिल्दैन भन्न खोजिएको हो ? पार्टीका उम्मेदवारलाई जिताउनका निम्ति पार्टीका सदस्यहरूको सामाजिक सञ्जालभित्रको भूमिकालाई सक्रिय बनाउन मिल्दैन भन्न खोज्नुभएको हो कि ? त्यो त पक्कै होइन । त्यसैले अद्यावधिकमा अब्जेक्सन गर्ने भन्ने कुरा त अलि गम्भीर विषय हो ।

आजको दिनमा पार्टीलाई डिजिटलाइज गर्छु भन्दा त्यो गर्न मिल्दैन भन्ने कुरा उपयुक्त भएन । यत्रो अनुभवी अग्रज नेताहरूले यो कुरा बुझ्नुभएन भन्न पनि मिलेन । डिजिटल सिस्टममा पहिला सदस्यता लिइसकेका नेपाली कांग्रेसका सक्रिय सदस्यलाई सुरक्षित गर्न खोजेको हो । अद्यावधिक भनेको यत्ति हो । यसले चुनावमा कांग्रेसको उम्मेदवारलाई जिताउन मद्दत गर्छ । कांग्रेसको विचार प्रचारप्रसार गर्न मद्दत गर्छ । कांग्रेसका क्रियाशील सदस्यहरूलाई कांग्रेसको पक्षमा सक्रिय गर्न बनाउन मद्दत गर्छ । कांग्रेसको धारणा निर्माण गर्न तलका साथीहरूको पनि धारणा बुझ्न मद्दत गर्छ अनि कांग्रेसको अभियानमा तलका साथीहरूलाई सूचना दिन मद्दत गर्छ ।

यसले पार्टीलाई कतैबाट पनि अहित गर्दैन । कुनै पनि नेतालाई अहित गर्दैन । पार्टीको तल जराको साथीलाई भोलि चुनाव लडाउनुपर्छ, त्यो चुनाव लडाउँदा उसको खर्च कम होस्, उसको प्रचार ज्यादा होस्, उसले पार्टीको संयन्त्रका सबै मान्छेहरूलाई परिचालन गर्न सकोस् भनेर यो पार्टीको पक्षमा मात्रै भएको कुरामा अब्जेक्सन गर्नुभएको छ जस्तो मलाई लाग्दैन ।

उहाँहरूको भनाइ अद्यावधिक गर्दाखेरि सम्बन्धित वडामा पुग्नुपर्‍यो । विभिन्न पेसा व्यवसाय गरेका मान्छेहरूलाई बेमौसममा सम्बन्धित वडामै पुग्नलाई गाह्रो हुन्छ, त्यही भएर यो समयसापेक्ष छैन भन्ने छ ।

पहिलो कुरा पार्टीको यो एउटा अभियान हो । पार्टीको अभियानमा पार्टीकै सदस्य लाग्दैन भने को लाग्छ ? हामीले पार्टीको गाउँको साथी, पार्टीको गाउँको सभापति चुनाव हारेकोमा अलिकति निराश छ अनि वडाभन्दा बाहिर रहेको सदस्यले नआत्तिनुस्, यस्ता चुनाव कहिले जितिन्छ, कहिले हारिन्छ, हामी छौँ, तपाईं हामी सँगसँगै अगाडि बढ्नुपर्छ भनेर ढाडस दियो भने उसलाई उत्साह हुन्छ भनेर यो अभियान सञ्चालन गरेका हौँ । कोही साथी वडामा जानै सक्नुहुन्न, जानुहुन्न भने उहाँहरूलाई वडा सभापति मार्फत नवीकरण गर्ने व्यवस्था पनि गरेको छ, जान नपर्ने पनि बनाएको छ । फरक यत्ति हो, नवीकरण वडा सभापतिमार्फत गरिदिनुपर्‍यो भनेका छौँ । डिजिटल्ली अद्यावधिक पनि वडा सभापति मार्फत गरिदिनुस् भनेको हो ।

अद्यावधिक डिजिटल्ली गर्दा केन्द्रीय कार्यालयले सिधै नगरेर वडा सभापतिबाट गराउन खोजेको हो । हामीले यसो गरेर जमिनमा काम गरेको साथीलाई ‘रिकग्नाइज’ गर्न खोजेको हो । उसले त्यहाँ हरेक मान्छेका बारेमा चिन्नुपर्छ, जान्नुपर्छ । उसको जानकारीको आधारमा उसैले कांग्रेसका सदस्यहरूलाई भेरिफिकेसन गरोस् भनेर त्यो म्यान्डेट दिएको हो । वडाको सभापतिलाई बलियो बनाएको हो । वडामा सङ्गठन बलियो बनाउनका निम्ति उसलाई ‘रिकग्नाइज’ गरेको हो । वडामै जानुपर्छ भन्ने पनि छैन तर अनलाइन वडा सभापतिमार्फत गर्नुपर्छ भनेका हौँ ।

वडा सभापतिले जान्दै जान्दैन, उसको क्षमता अभिवृद्धि गर्नै पर्दैन भन्नुहुन्छ भने सिधै केन्द्रीय कार्यालयबाट पनि गराऔँला, तर डिजिटल क्षमता अभिवृद्धि गर्न कांग्रेसको नेतृत्वमा रहेका सबैले सबैको डिजिटल क्षमता अभिवृद्धि गर्न जरुरी छ । हामीले यो डिजिटल क्षमता अभिवृद्धिका लागि पनि गरेको हो । वडामा बस्ने साथीले अर्को नयाँ साथीलाई, नागरिकलाई डिजिटल्ली आफ्नो रेकर्डमा राख्न सकोस्, डिजिटल्ली साथीसँग सम्बन्ध बढाउन सकोस्, डिजिटल्ली सूचना प्रवाह गर्न सकोस् । केन्द्रीय कार्यालयमा डिजिटल सिस्टममात्रै राखेर भएन । वडाको साथी वडाको नेतालाई पनि डिजिटल फ्रेन्डली बनाउनुपर्‍यो ताकि उसले पनि त्यो डिजिटल फ्रेममा काम गर्न सक्ने आफ्नो समितिभित्र मान्छे राख्नुपर्‍यो, मेकानिजम निर्माण गर्नुपर्‍यो । पार्टीका हरेक साथीहरूको सदस्यहरूको पदाधिकारी र जिम्मेवारीमा रहनुभएका सबैको डिजिटल क्षमता अभिवृद्धि गर्न खोजेको हो । यसमा कसैको अहित छैन ।

  • अर्को समूहका नेताहरूले विशेष महाधिवेशनमा धेरै साथी बाहिर हुनुहुन्थ्यो, त्यही भएर केन्द्रीय कमिटीबाट पनि धेरै साथीहरू बाहिर हुनुहुन्छ, त्यसैले चुनाव निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित बनाउनका लागि साझा संयन्त्र बनाउने भन्ने हाम्रो प्रस्ताव छ भन्नुभएको छ । त्यो के सम्भव हुन्छ ?

साझा संयन्त्र भनेको सदस्यता व्यवस्थापन समिति हुन सक्छ । सदस्यता विवरण विवाद निवारण समिति हुन सक्छ । आवास समिति हुन सक्छ । अधिवेशनका निम्ति चाहिने कुन–कुन उपसमिति बन्छन्, ती सबै उपसमितिमा हामीले पक्षधरताको आधारमा एउटा समावेशी स्वरूप निर्माण गरेर जान्छौँ भनिरहेकै छौँ । संरचनाभित्र विशेष महाधिवेशनको म्यान्डेटले स्विकार्ने गरी सबै साथीहरूलाई हामी समेट्छौँ । केन्द्रीय समिति पक्षधरताको आधारमा सबै समेटिने स्थिति भएपछि त्यही भित्रबाट विभिन्न अब समितिहरू बनाउँछौँ । अब ती समिति भनेका सदस्यता व्यवस्थापन समिति, निर्वाचन समिति, सदस्यता विवाद निवारण समिति हुन सक्छन्, आवास समिति हुनसक्छ । यस्ता सबै समिति हामी मिलेर बनाउँछौँ, सहमतिमा बनाउँछौँ । त्यसले अधिवेशन निष्पक्ष गर्ने कुरामा सुनिश्चितता प्रदान गर्न सक्छ । पहिले भएको पनि त्यही हो, अहिले पनि हामी त्यो गर्छौं भनिरहेका छौँ । सहमति जुटाउने, मिल्ने विभिन्न उपाय छन् । त्यसलाई अपनाऔँ भनेर भनेको त हो ।

हिजो पनि निर्वाचनबाट जितेर आउने बित्तिकै तपाईंलाई भोट नहाल्ने अरु पनि हामी छौँ भनेर हामीले नै भनेको हो जित्नेहरूलाई । जित्नेले पनि ‘ल, मलाई भोट हाल्ने बाहेक अरु पनि साथीहरू छन्, उनीहरूलाई पनि समेट्नुपर्छ’ भनेर त्यही अनुसारको व्यवहार गर्नुहुन्थ्यो । आज पनि विशेष अधिवेशनमा बहुमत संलग्न हुनुभयो, सबै हुनुभएन । यसको मतलब केही बाहिर रहनुभयो । अब बाहिर रहनुभएकाहरूलाई पनि समावेश गर्ने, सँगै लाने हिजोको जस्तै उपाय छन्, त्यो उपाय अपनाएर जाऔँ ।

  • १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन, त्यसलाई मिलाएर जान तयार हुनुहुन्छ ?

त्यसको कुनै विकल्प छैन । १५औँ महाधिवेशनबाट हामीले पार्टी सङ्गठित भएको, एकीकृत भएको, व्यवस्थित भएको, पार्टी नयाँ ढङ्गबाट अगाडि बढ्न खोजेको मेसेज दिन सक्नुपर्छ । त्यसो भयो भने कांग्रेस रिभाइभ हुन्छ भन्ने कुराको आत्मविश्वास हामीले लिएर अगाडि बढ्नुपर्छ । यो समेट्नेभन्दा पनि मिलेर जाने कुरा गरेजस्तो हो, सबै सँगसँगै हिँड्ने स्थिति निर्माण गर्छौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया