साडी पसलेले जुराइदिएको राजा महेन्द्रको फ्रान्सका राष्ट्रपतिसँगको त्यो भेट
सारांश
- फिरन्ते लेखक ददि सापकोटाले फ्रान्समा बसेर नेपालसँग सम्बन्धित विदेशीहरूको कथा समेटेर 'त्यो नेपाल' नामक पुस्तक लेखेका छन्, जुन हालै फ्रेन्च भाषामा अनुवाद भएको छ।
- सापकोटाले अन्नपूर्ण हिमाल आरोहण गर्ने मौरिस हर्जोग, राजा महेन्द्रलाई फ्रान्सेली राष्ट्रपतिसँग भेट गराउने साडी पसले मिस्टर एरिगुआ, र राजा वीरेन्द्रलाई कृषि तथा हेलिकोप्टर सिकाउने जर्ज लभरेक जस्ता व्यक्तिहरूको बारेमा पुस्तकमा उल्लेख गरेका छन्।
- पुस्तकले फ्रान्स र नेपालबीचको सम्बन्ध, पर्यटन विकासको आधार, र नेपाली भाषा तथा संस्कृतिमा विदेशीहरूको रुचि जस्ता विषयहरूलाई उजागर गर्दछ।
फिरन्ते लेखक ददि सापकोटा एकै पटक काठमाडौँका गल्लीमा झुल्किन्छन्, केही दिनमै फेरि पेरिस पुगिसकेका हुन्छन् । दुई दशकभन्दा लामो समयदेखि फ्रान्सलाई कर्मथलो बनाएका उनी युरोपियन मुलुकहरू चहारिरहन्छन् । नेपालसँग कुनै न कुनै साइनो जोडिएका विदेशी भेट्यो कि उनले पछ्याउँदै कथा बुनिहाल्छन् । पहिले–पहिले अखबार र अनलाइनमा लेखिरहने सापकोटाले परदेशमा बसेरै ‘दुखेको युरोप’, ‘त्यो नेपाल’जस्ता किताबको सिर्जना गरे ।
ददिले नेपाललाई माया गर्ने थुप्रै फ्रान्सेलीहरू भेटे । कोही ८० पटक नेपाल घुमिसकेका, काठमाडौँदेखि दाङ र विराटनगर पैदलै घुमेका, पहिलो पटक अन्नपूर्ण र सगरमाथा चढेका, राजा वीरेन्द्रलाई हेलिकोप्टर चलाउन सिकाउनेदेखि फ्रेन्च भाषा सिकाउनेहरू । तिनै पात्रका कथा बुन्दै उनले ‘त्यो नेपाल’ पुस्तक लेखे, जुन हालै मात्र फ्रेन्च भाषामा अनुवाद भएर आएको छ । वन्यजन्तु र पशुपन्छीहरूमाथि खुब रुचि राख्ने सापकोटाका जीवगाथा, ज्ञानीका, पन्छी जगत्, वनको वैभव लगायतका किताबहरू प्रकाशित छन् । नेपाल आएको मौकामा ददि सापकोटासँग नरेन्द्र रौलेले गरेको कुराकानी :
- ‘त्यो नेपाल’ किताब सन् २०११/१२ तिरै मेरो हात परेको थियो । हालै फ्रेन्च भाषामा अनुवाद भएर आएको छ । यस पुस्तकमा २९ जना फ्रान्सेलीको कथा छ, रोचक बयान छ । यो किताब कसरी जन्मियो ?
सन् २००२ मा फ्रान्स पुगेपछि दूतावासबाट नेपाली कार्यक्रममा मलाई निम्तो आयो । उहाँहरूलाई म पत्रकार भन्ने थाहा रहेछ । त्यहाँ भएका अरूलाई पनि थाहा रहेछ । पत्रकारिताबारे कुराकानी हुँदा ‘ओहो ! तपाईं त लेख्ने मान्छे । यहाँ मौरिस हर्जोग, एरिक भ्याली पनि हुनुहुन्छ । राजालाई पढाउने मास्टर पनि हुनुहुन्छ नि, तपाईंलाई थाहा छ ?’ भनेर केही पात्रहरूको बारेमा मलाई सुनाउनुभयो । त्यो कुराले मलाई दिमागमा हिर्कायो । सके त किताबै लेखे राम्रो हुन्थ्यो होला । नसके पनि ती मान्छेका कथाहरू कुनै पत्र–पत्रिकामा, अखबारमा चाहिँ लेख्न पाए रोचक हुन्थ्यो जस्तो लाग्यो । त्यसपछि को–को छन् भनेर पात्र खोज्न थालेँ । खोज्दा–खोज्दै किताब लेख्न सुरु गरेको हो ।
‘त्यो नेपाल’मा रोचक पात्रहरू समेटिएका छन्, जसमध्ये मौरिस हर्जोग एक हुन् । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा मौरिस र लुइस लचेनलले पहिलो पटक सफल आरोहण गरेपछि फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूदेखि नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरलाई भेटिसकेका ती ऐतिहासिक पात्र कसरी भेट्नुभयो ? त्यो अनुभव सुनौँ न ।
जुन दिन पेरिसको कार्यक्रममा अन्नपूर्ण हिमाल चढ्ने पहिलो व्यक्ति मौरिस हर्जोग यतै हुनुहुन्छ भनियो, त्यसपछि मैले खोज्ने कोसिस गरेँ । भेटाउन चाहिँ गाह्रो भयो । तर गुगलमा राम्रोसँग खोजेपछि उहाँ पेरिसनजिकै न्युई सुर सेने भन्ने ठाउँमा बस्नुहुन्छ भन्ने थाहा पाएँ । उहाँको ठेगाना पत्ता लगाएपछि उहाँलाई हातैले चिठी लेखेर पठाएँ । ‘म यस्तो खालको मान्छे हुँ, म तपाईंलाई भेट्न चाहन्छु, म एउटा नेपाली हुँ’ भन्ने बेहोराको पत्र पठाएँ ।
उहाँले सेक्रेटरीलाई फोन गर्न लगाउनुभएछ । उहाँले के भन्नुभयो भने, ‘तपाईंको इमेल मौरिस हर्जोग महाशयले पाउनुभएको छ । तपाईंलाई उपयुक्त समयमा उहाँले भेट्नुहुन्छ’ भनेर खबर गर्नुभयो । एकदम खुसी लाग्यो । मैले त्यसरी भेट्छु जस्तो पनि लागेको थिएन । उहाँले घरमा भेट्न बोलाउनुभयो । म र श्रीमती अनुराधा दुवैजना गयौँ । उहाँको घरमा पुग्दा ‘तपाईंहरू को हो, कसरी आउनुभयो ?’ भनेर एकदम चासो राख्नुभयो । हामीले भन्यौँ, 'तपाईंसित कुरा गर्न चाहन्छौँ, भेट्न चाहन्छौँ । तपाईंको अनुभव हामी किताबमा लेख्न चाहन्छौँ ।'
मेरो किताबमा तपाईंको बारेमा लेख्न चाहन्छु भनेपछि उहाँले समय दिनुभयो । हामी फेरि गयौँ । अन्नपूर्ण हिमाल आरोहण गर्दाको इतिहास, उहाँको जिन्दगी, अहिले के गर्नुभएको छ ? सबै विषयमा खुलेर इन्टरभ्यु दिनुभयो ।
मैले इन्टरभ्यु लिएको केही समय पछाडि उहाँले ‘मो रहने शन्स आखे लान्नपुर्ण’ भन्ने एउटा किताब लेख्नुभएको छ । त्यो भनेको ‘अन्नपूर्ण हिमाल आरोहण गरिसकेपछि मैले पुनर्जीवन पाएँ’ भन्ने हो । त्यो किताब मलाई उहाँले हस्ताक्षर गरेर दिनुभएको छ । त्यो किताब पढ्दै जाँदाखेरि एक ठाउँमा म रोकिएँ । 'अन्नपूर्ण संरक्षण क्षेत्रको लेतेमा मर्न मन लागेको थियो,' भनेर लेख्नुभएको छ । त्यो किताब पनि नेपालीले छाप्नुपर्ने हो । तर अहिलेसम्म कोसिस पनि भएको छैन । कसैलाई थाहा पनि छैन होला । तर मसँग त्यो किताब छ । फ्रेन्च भाषामै छ ।
- मौरिस हर्जोगको किताब ‘अन्नपूर्ण’ बाइबलभन्दा बढी बिकेको पुस्तक भनिन्छ । उहाँ आफैँले भन्नुभएको थियो ?
हो । हिमाल, नेपालसम्बन्धी त्यो किताब नसुन्ने त कोही पनि हुँदैन । एकदम हाइली रिकमेन्डेड किताब हो उहाँको । त्यो धेरै भाषामा पनि छ । त्यही सिलसिलामा अन्नपूर्ण हिमाल चढेपछि लेखेको किताब अमेरिकामा छ महिनासम्म बाइबलभन्दा बढी बिक्री भएको प्रसङ्ग उहाँले सुनाउनुभयो । त्यो किताबबारे नेपालीले चासो राखेनन् भनेर उहाँले अलिकति खल्लो महसुस पनि गर्नुभएको थियो । त्यसपछि मैले नीरज भाइलाई त्यो किताब नेपालीमा छाप्नुपर्छ भनेँ । मैले त्यति भनेपछि ‘पुलको काम गर्नुपर्यो’ भन्नुभयो । त्यसलाई इजाजत लिएर मौरिस हर्जोगको त्यो किताब पनि आयो । तर, दुःखको कुरा के भने उहाँ बितिसकेपछि बल्ल त्यो किताब आयो । मैले उहाँलाई तपाईंको अन्नपूर्ण किताब हामी छाप्ने कोसिस गर्छौँ भनेको थिएँ ।
- ‘त्यो नेपाल’ पुस्तकमा अरू पनि निकै रोचक पात्रहरू छन् । यसमा राजा वीरेन्द्रलाई फ्रेन्च भाषा सिकाउनेदेखि हेलिकोप्टर सिकाउने व्यक्तिका कथाहरू पनि छन् । यति मात्रै होइन, वीरेन्द्र युवराज छँदा फ्रान्सका कृषि फार्महरूमा केही सिक्दै गरेको, कुखुरा भुत्ल्याउँदै गरेका प्रसङ्गहरू पनि छन् । ती पात्रलाई कसरी भेट्नुभयो ?
कतिपय देशको सम्बन्ध साधारण मानिसहरूले पनि बनाउँदा रहेछन् । पुलको काम गर्दा रहेछन् । राजा महेन्द्र वा राजपरिवारका सदस्यहरू युरोप जाने चलन रहेछ पहिला । फ्रान्सको फेन्सिकन भन्ने एकदम प्रसिद्ध साडी किन्न जाने रहेछन् । त्यो साडीको पसलमा एकजना ‘मिस्टर एरिगुआ’ भन्ने रहेछन् पेरिसमा । उहाँको पसल म्याडेलीन भन्ने ठाउँमा रहेछ ।
त्यो साडी किन्न जाँदा राजपरिवारको मान्छेसँग त्यो ‘एरिगुआ’ भन्ने पसललेसँग भेट भएछ । नेपालमा विदेशी आउँदैनन्, विदेशीहरूलाई भिसा पनि दिइन्न भन्ने कुरा भएछ । राजा महेन्द्रले निम्तो गरेर बोलाएको मान्छेलाई नै, ‘तपाईं काठमाडौँदेखि मुग्लिनसम्म मात्रै जानु, पोखरासम्म जानु’ भनेर हातले लेखेर भिसा दिने चलन थियो । त्यति कडा रहेछ त्यो बेलामा । मैले ती भिसाहरूको फोटोहरू पनि राखेको छु । साडी किन्ने सिलसिलामा थाहा भयो, ‘एरिगुआ’ भन्ने व्यक्ति राष्ट्रपति चार्ल द गोलसँग चिनजान रहेछ । एकदम राम्रो रहेछ उहाँहरूको सम्बन्ध । ‘एरिगुआ’ ले लगेर राजा महेन्द्रलाई राष्ट्रपति चार्ल द गोलसँग भेटाइदिनुभएछ ।
सामान्य साडी व्यापारी त हुन्, ठूलो त केही होइन । राजा महेन्द्रले मान्छे ठ्याक्कै चिनीहाल्ने, अझ विदेशीहरूलाई त को मान्छेलाई समाउनुपर्छ, के भन्नुपर्छ भन्ने कुरा छिटो पत्ता लगाईहाल्ने । उहाँले राष्ट्रपतिसँग सम्बन्ध बनाइहाल्नुभयो । त्यो बेलामा विश्वमा चार्ल द गोललाई एकदम तगडा र शक्तिशाली राष्ट्रपति मानिन्थ्यो ।
राजा महेन्द्र र फ्रान्सका राष्ट्रपतिको दोस्ती भयो । राजा महेन्द्रले फ्रान्सका कृषि फार्महरू, सिँचाइ, पर्यटनको विकास हेर्नुभयो, घुम्नुभयो । त्यही बेला लग्जेम्बर्ग पनि जानुभएको रहेछ । मैले राजा महेन्द्र लग्जेम्बर्गमा गएर बसेको ठाउँ पनि पत्ता लगाएँ । सारा देशहरू घुम्दाखेरिमा सबैभन्दा बढी प्रभावित उहाँ फ्रान्ससँगै हुनुभयो ।
उहाँले राष्ट्रपतिलाई भन्नुभएको रहेछ, ‘चार्ल द गोल, तपाईंको देशमा यति धेरै पर्यटकहरू आउँछन्, यति धेरै आम्दानी हुँदो रहेछ । के गर्नुपर्छ होला त नेपालको लागि पनि ? हामीलाई पनि अलिकति सहयोग गरिदिनुहोस् ।’
राजा महेन्द्रले चार्ल द गोललाई त्यति भनेपछि उहाँ त व्यस्त मान्छे, त्यो बेलामा जर्ज लभरेक भन्ने व्यक्ति ‘पेरिस पर्यटन विभाग’ मा हुनुहुँदो रहेछ । तगडा मान्छे । जर्ज लभरेकलाई ‘ल तिमी चाहिँ नेपाल जाऊ र नेपालको पर्यटन विकास कसरी गर्न सकिन्छ, त्यसको खाका कोरिदेऊ, सुझाव देऊ, के–के गर्नुपर्छ, गरिदेऊ’ भनेर तोकिदिनुभयो, खटाइदिनुभयो । त्यसपछि राजा महेन्द्रको जर्ज लभरेकसँग सम्बन्ध भयो । अनि उहाँ नेपाल आउनुभयो ।
नेपाल आएर उहाँले एउटा पर्यटनको नीति बनाइदिनुभयो । त्यो नीति बनाउँदा नगरकोट, धुलिखेल, चितवन, कर्णालीमा होटल खोल्नुपर्छ भनेर उहाँले जे–जे सुझाव लेखेर दिनुभयो, त्यही सुझावका आधारमा पोखरालगायत विभिन्न ठाउँमा होटलहरू खोलिए । त्यो बेलामा सरकारले नै होटल खोलेको थियो ।
नेपालको पर्यटनको विकास कहाँ–कहाँ भयो भन्दा तिनै फ्रेन्चले जहाँ–जहाँ लेखेर दिए त्यहीँ केन्द्रित छ । यसरी नेपाल र फ्रान्सको पर्यटन विकासको आधार तयार भयो । एउटा साडी पसलेबाट सुरु भएको सम्बन्धले कत्रो काम गरेछ ! महेन्द्रले आफू राजा भए पनि उनले देशका लागि कति गरेका रहेछन् भन्ने छर्लङ्ग हुन्छ ।
- यसमा राजा वीरेन्द्रको प्रसङ्ग पनि जोड्नुपर्यो ।
हो, मैले तपाईंलाई भन्न बिर्सें । महेन्द्रले फ्रान्समा कृषि, पर्यटन सबै हेर्नुभयो । राजा आफैँले सबै काम गर्न भ्याउने कुरा त भएन । त्यसपछि महेन्द्रले के गर्नुभयो भने, जो मान्छे पर्यटनको खाका कोर्न नेपाल आए, तिनैसँग ‘मेरो छोरोलाई यहाँको कृषि, पशुपालनसम्बन्धी सिकाउनुपर्यो, देखाउनुपर्यो, पढाउनुपर्यो’ भनेर भन्नुभएछ ।
जर्ज लभरेकले फ्रान्सस्थित आफन्तको घर नर्मेडी भन्ने ठाउँमा कृषि फार्ममा राखिदिनुभयो, वीरेन्द्रलाई । वीरेन्द्र कस्तो लगनशील हुनुहुँदो रहेछ भने ती फ्रेन्चले सुनाएअनुसार कुखुरा पनि भुत्ल्याएर बस्ने ! तर, राजकुमार हो भनेर कसैलाई थाहा नदिइकन ।
त्यसरी वीरेन्द्रले फ्रान्सको कृषि फार्ममा सिकेर फर्केपछि थुप्रै नीति ल्याउनुभएको थियो । त्यही फ्रान्सको देखेर हो । ती हेलेन लभरेकलाई ‘राजा वीरेन्द्रले हामीलाई पनि कृषिको विकास गर्न मन लागेको छ, तिमीहरूको देशमा जस्तै, के गर्नुपर्छ ? म सिक्छु पनि, मलाई सिकाउनु’ भन्नुभएको थियो रे । त्यो सरलता थियो उहाँमा । युवराज भए पनि त्यसरी कृषि फार्महरूमा गएर सिक्नुभयो । पछि वीरेन्द्रको निधन भइसकेपछि ती फ्रेन्चमा पीडा थियो, उनी लामो समयसम्म तनावमा थिए ।
- मौरिस हर्जोगको एउटा प्रसङ्ग छुट्यो । जब उहाँले अन्नपूर्ण हिमाल चढ्नुभयो, त्यसपछि फ्रान्स राष्ट्रपतिले उहाँलाई ८ वर्षसम्म युवा तथा खेलकुद मन्त्री बनाउनुभयो । पछि गएर सांसद र मेयर पनि बन्नुभयो । राष्ट्रपतिले कति महत्त्व दिनुभएको है !
विश्वमा ८ हजार मिटर अग्ला हिमाल चढ्न सकिन्छ भनेर खासै विश्वास गरेको थिएन संसारले । किनभने त्यो बेलामा अहिले जस्तो गुगल त थिएन । इन्टरनेट सिस्टम थिएन, कसरी थाहा पाउने ? अलिअलि पत्र–पत्रिकाको आधारमा कसैले पढ्यो भने थाहा पाउने हो । त्यो विश्वास सायद हिमाल चढ्छु भनेर कोसिस गर्नेलाई पनि थिएन ।
मौरिसले अन्नपूर्ण चढ्नुभन्दा पहिल्यै सगरमाथाको तेस्रो कि चौथो आधार शिविरसम्म लुकेर गएर ओर्लेका डेनिससँग मैले इन्टरभ्यु गरेको छु । उहाँले मलाई भन्नुभएको थियो, ‘खासै त्यो बेलामा पनि चढ्छु भनेर कोसिस त गर्ने हो तर चढ्न सकिन्छ भनेर विश्वास धेरैलाई छैन ।’ हिमाल चढ्न सक्छु भनेर जाने मान्छेलाई त विश्वास थियो होला, तर संसारले पत्याउने पक्षमा थिएन त्यो बेला ।
त्यस्तो बेला मौरिस हर्जोगले ८ हजार मिटर अग्लो हिमाल चढेको खबर फैलिएपछि संसारभरि एकखालको हुरीबतास आयो । संसारभरि एकैचोटि खबर फैलियो । इन्टरनेट भएको भए त १ मिनेटमा फैलिन्थ्यो । संसारभरि ‘कसरी सम्भव छ ?’ भन्ने खालको चर्चा भयो रे । संसारमा फ्रान्सको नाम एकैचोटि फैलियो । ३, ४ हजार मिटर अग्लो हिमाल पुग्दाखेरि खसेर मर्ने बेला अहिले जस्तो प्राविधिक उपकरणहरू पनि थिएनन् । त्यस्तो विकास भएको थिएन । त्यो बेलामा झन् गाह्रो थियो ।
फ्रान्सेलीको बहादुर परिचय स्थापित भयो । संसारभरि प्रतिष्ठा, इज्जत बन्यो । त्यसलाई फ्रान्सले ठूलो गौरवको रूपमा लिने नै भयो । अहिले पनि लिन्छ । हामीले ८ हजार मिटर अग्लो, संसारको छानामा विजय प्राप्त गर्यौँ भन्ने खालको नारा फ्रान्सले बढायो । फ्रान्सको इज्जत भयंकर माथि गयो । त्यसपछि फ्रान्सले उच्च हिमालमा जाने हेलिकोप्टरहरू बनायो । मौरिसको सम्बन्ध हिमाल चढ्नुसँग मात्रै छैन । उनले उच्च हिमालमा चढ्ने प्रविधिहरूको विकास गरे, हिमाल चढ्ने जुत्ता, लुगा, टोपी, अक्सिजन सिलिन्डर बनाए ।
विश्वभरि फ्रान्सेलीहरूको ‘वाह–वाह’ भयो । यत्रो काम गरेपछि राष्ट्रपति चार्ल द गोलले मौरिस हर्जोगलाई बोलाएर ‘तपाईं चाहिँ खेलकुदमन्त्री हुनु र फ्रान्सेली युवा–युवतीहरूलाई ठाउँ–ठाउँमा गएर यो वीरताको गाथा कहनु, सगरमाथा आरोहणबारे सिकाउनु, भन्नु, सुनाउनु’ भनेछन् ।
फ्रान्सेलीले पहिलोचोटि चढेको मकालु हिमाल पनि हो । त्यसैले मौरिसले फ्रान्समा अन्नपूर्ण र मकालु दुईवटा ठूलठूला भवन बनाएका छन्, सामुनी भन्ने ठाउँमा । जहाँ उनी पछि मेयर भएका थिए । त्यहाँ दुइटा ठूलठूला भवन बनाए । दुइटा आँखा जुधाजुध गरेजस्तो देखिने बनाएका छन् । त्यसमा विभिन्न अफिसहरू छन् ।
- मौरिस हर्जोगले अन्नपूर्ण हिमाल चढेर आइसकेपछि नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले सम्मान गर्नुभयो, तक्मा लाइदिनुभयो । त्यो प्रसङ्ग पनि सुनाउनुभयो कि ?
‘तपाईंले हाम्रो देश र हाम्रो पनि इज्जत राख्नुभयो’ भनेर मोहन शमशेरले उनलाई सम्मान गर्नुभयो । राणाहरूलाई सायद थाहा थियो होला, त्यो चर्चाले हामीलाई पनि एकखालको चर्चित बनाउँछ संसारमा । दुई देशको सम्बन्ध विकास गर्न सहयोग गर्छ कि भन्ने थियो होला राणाहरूमा ।
राणा प्रधानमन्त्रीले हाम्रो देशको इज्जत राखिदिनुभयो भनेर मलाई बोलाउनुभयो भनेका थिए । गोर्खा क्रस पाउने पहिलो व्यक्ति उनी नै हुन् । सायद अरूले पाएको पनि छैन भन्थे उनी ।
- ‘त्यो नेपाल’ पुस्तकको अन्त्यमा ‘नेपाली भाषाको चरम अनुराग’ अध्यायमा मारी क्रिस्चिन काबाको कथा छ । उहाँले नेपाली भाषा सिक्न एकदमै मिहिनेत गरेको प्रसङ्ग छ । उहाँलाई कसरी भेट्नुभयो ?
फ्रान्समा एउटा युनिभर्सिटी छ, पहिला त्यसलाई दोफिन युनिभर्सिटी भनेर भनिन्थ्यो । त्यहाँ नेपाली भाषा पढाउने एउटा सेक्सन थियो । अहिले पनि छ । अहिले त्यसलाई इनलको भन्छन् । त्यसको प्रमुख हुनुहुन्थ्यो उहाँ । पहिला विद्यार्थी हुनुहुन्थ्यो ।
क्रिस्चिन काबाले जोसँग पढ्नुभयो, ती शिक्षकले ‘ल, तपाईंले यस्तो मेहेनत गर्नुभयो । यति राम्रो नेपाली भाषा सिक्नुभयो । अब म चाहिँ छोड्छु यहाँबाट । तपाईंले क्यारी अन गर्नु’ भन्नुभएछ । धेरै समय उहाँले नेपाली भाषा सिक्नुभयो । उहाँले फ्रान्सेली–नेपाली भाषाको डिक्सनरी पनि लेख्नुभएको छ । उहाँका लोककथाका किताबहरू पनि प्रकाशित छन् । उहाँले अन्य नेपालसम्बन्धी किताबहरू पनि टन्नै लेख्नुभएको छ । उहाँ फ्रान्समै हुनुहुन्छ ।
- ‘त्यो नेपाल’ पुस्तकमा समेटिएका निकै रोचक र ऐतिहासिक पात्रहरू छन्, तिनले नेपाली भाषा, नेपालका हिमाल, यहाँको पर्यटन र संस्कृतिलाई माया गरे । नेपालले कसरी उहाँहरूको योगदानलाई सम्मान गर्न सक्छ ?
विशेषगरी शासक, प्रशासकहरूले यो किताब पढ्नुपर्ने हो । नेपालले चिन्नैपर्ने पात्रहरू यसमा हुनुहुन्छ । उहाँहरूलाई भेट्न कति कठिन भयो, त्यो कुरै नगरौँ । मैले २९ जना मात्रै होइन, भेट्न त धेरैलाई भेटेँ । अझै लेख्न बाँकी नै छ । १७ जना जतिको पनि इन्टरभ्यु लिएर राखेको छु ।
- २९ जनामध्ये यो किताबमा समेटिएका पात्रहरू अहिले कतिजना जीवित हुनुहुन्छ ? कतिजना बित्नुभयो ?
ठ्याक्कै सङ्ख्या त मलाई थाहा छैन । अन्नपूर्ण चढ्ने मौरिस हर्जोग, फर्सि द नोएल, उहाँहरू दुवैजना अहिले हुनुहुन्न । मिरे हेल्फेर भन्ने व्यक्तिले गायक झलकमान गन्धर्वका पाइला पछ्याउँदै काठमाडौँदेखि पाल्पा, दाङ, पोखरा पैदलै जानुभयो । बाटुलेचौरमा गएर झलकमान गन्धर्वका गीतहरू रेकर्ड गर्नुभयो । उहाँ पनि अहिले हुनुहुन्न ।
- तपाईं फ्रान्समा अहिले के गर्नुहुन्छ ? लेख्ने, पढ्ने मात्रै हो कि अन्य पेसा ?
लेख्ने, पढ्ने काम नै गर्छु । अब भिडियोतिर रुचि छ । मलाई जीवजन्तु, चरामा बढी रुचि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
-
पोखरा लेकसाइड नजिकै दुर्घटना, एक युवकको मृत्यु
-
राहदानी छपाइमा १० अर्ब १३ करोडको भ्रष्टाचारः कसलाई कति बिगो मागदाबी ?
-
अन्योलमै बित्यो दिन, न सुरु भयो बन्दसत्र न प्रकाशन भयो नामावली (तस्बिरहरू)
-
भरतपुरले ल्यायो ५ अर्ब ५१ करोडको बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण