बेलायतको स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारको मिश्रित नतिजा, एकै दम्पती काउन्सिलर निर्वाचित
सारांश
- बेलायतको स्थानीय निर्वाचनमा डेढ दर्जन नेपाली मूलका उम्मेदवार प्रतिस्पर्धामा थिए, जसमध्ये केही निर्वाचित भएका छन् भने केही पराजित भएका छन्।
- लन्डनको रोयल बरो अफ ग्रीनवीचबाट लेबर पार्टीका जीत रानाभाट र उनकी पत्नी गौमाया गुरुङ रानाभाट काउन्सिलरमा निर्वाचित भएका छन्।
- यस निर्वाचनमा रिफर्म यूकेले उल्लेख्य अग्रता कायम गरेको छ भने लेबर पार्टीलाई धक्का लागेको छ।
लन्डन । बेलायतमा भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारहरू प्रतिस्पर्धामा थिए। प्रारम्भिक नतिजा अनुसार, केही उम्मेदवारहरूले सफलता पाएका छन् भने केही पराजित भएका छन्।
यस पटकको निर्वाचनमा नेपाली समुदायबाट एउटा विशेष घटना देखिएको छ। लन्डनको रोयल बरो अफ ग्रीनवीच अन्तर्गत प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट लेबर पार्टीका उम्मेदवार जीत रानाभाट १ हजार ६ सय १० मत प्राप्त गरी काउन्सिलरमा निर्वाचित भएका छन्। रानाभाट यसअघि सन् २०२२ मा पहिलो पटक काउन्सिलरमा निर्वाचित भएका थिए र उनले सोही बरोको मेयर र उपमेयरको पद पनि सम्हालिसकेका छन्।
त्यसैगरी, उनकी पत्नी गौमाया गुरुङ रानाभाट पनि सोही बरोको एबिउड वार्डबाट पहिलो पटक काउन्सिलरमा निर्वाचित भएकी छन्। रानाभाट दम्पती दुवै जना लेबर पार्टीका उम्मेदवार हुन्। यसैगरी, अल्डरसटको रश्मोर बरो अन्तर्गत म्यानर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका जीव नारायण बेल्वासे दोस्रो पटक काउन्सिलरमा निर्वाचित भएका छन्। बेल्वासे लामो समयदेखि बेलायतको नेपाली समुदायमा सक्रिय छन् र उनी ग्रेटर रश्मोर नेपलिज कम्युनिटीका पूर्व अध्यक्ष पनि हुन्। रश्मोरकै वेलिङटन वार्डबाट लेबर पार्टीका उम्मेदवार पूर्व गोर्खा उत्तरबहादुर गुरुङ पनि काउन्सिलरमा निर्वाचित भएका छन्।
यसैगरी, रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी प्रतिक्षा गुरुङ पहिलोपटक काउन्सिलर निर्वाचित भएकी छन् । लन्डन बरो अफ बार्नेटको एड्जवेरबरी वार्डबाट कञ्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ तेस्रोपटक काउन्सिलर निर्वाचित भएका छन् । यसपटकको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली मूलका केही उम्मेदवार भने पराजित भएका छन् । रश्मोरको वेलिङटन वार्डमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका डा विशाल गुरुङ दोस्रो प्रयासमा पनि सफल हुन सकेनन् । उनी बेलायतको नेपाली समुदायमा युवा सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।
बेजिङस्टोकमा लेबर पार्टीबाट काउन्सिलर पदमा प्रतिस्पर्धा गरेका पूर्व डीएसपी शिवजी श्रेष्ठ पनि पराजित भएका छन् ।
त्यस्तै, लन्डनको ग्रीनवीच बरोमा जेरेमी कोर्बिन नेतृत्वको योर पार्टीको समर्थनमा उम्मेदवारी दिएका नरेन्द्र कंडेल र टम अधिकारी पनि पराजित भएका छन् । कंडेल प्लमस्टेड एन्ड ग्लिन्डन वार्डबाट उम्मेदवार थिए भने अधिकारी वुल्लीचबाट उम्मेदवार बनेका थिए । लन्डनको हन्सलो बरोको फेल्थाम नर्थमा कञ्जरभेटिभ पार्टीबाट उम्मेदवार बनेका इन्द्रहांग लिम्बू पनि पराजित भएका छन् । स्वीन्डनमा कञ्जरभेटिभ पार्टीकै उम्मेदवार ज्ञानप्रसाद गुरुङको काउन्सिलर बन्ने सपना पनि अधुरै रह्यो । नेपाली मूलका केही उम्मेदवारको अन्तिम नतिजा भने आउन बाँकी रहेको बताइएको छ ।
यसपटक बेलायतको स्थानीय निर्वाचनमा रिफर्म यूकेले उल्लेख्य अग्रता कायम गरेको छ । सत्तारुढ लेबर पार्टीलाई भने अपेक्षाकृत धक्का लागेको देखिएको छ । इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सका १३६ स्थानीय काउन्सिलका ५ हजार १४ सिटका लागि भएको निर्वाचनको पछिल्लो नतिजाअनुसार रिफर्म यूके सत्तारुढ लेबर पार्टीभन्दा करिब ५ सय सिटले अगाडि देखिएको छ ।
स्कटल्याण्ड र वेल्समा भने नतिजा आउने क्रम सुस्त रहेको छ । स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले बेलायतको राष्ट्रिय राजनीतिमा समेत नयाँ बहस सुरु गराएको छ । रिफर्म यूकेको उदय, लेबर पार्टीको कमजोर प्रदर्शन र कञ्जरभेटिभ पार्टीमाथिको निरन्तर दबाबबीच यो निर्वाचन बेलायती राजनीतिक परिदृश्यका लागि अर्थपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण