शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोजप्रसादको ‘अठोट’

शनिबार, २६ वैशाख २०८३, १४ : ३८
शनिबार, २६ वैशाख २०८३

सारांश

  • भोजप्रसाद श्रेष्ठको संस्मरणात्मक पुस्तक ‘अठोट’ले उहाँको सङ्कल्प, सपना र सङ्घर्षको यात्रालाई समेटेको छ ।
  • पुस्तकमा श्रेष्ठले आफ्नो अतीत, वर्तमानका गतिविधि र भविष्यका सपनाहरूलाई ५४ वटा शीर्षकमा प्रस्तुत गरेका छन् ।
  • राजनीति, शिक्षक, व्यापारी, उद्यमी र मन्त्रीका रूपमा भोजप्रसादले गरेका कार्य र अनुभवहरूको सविस्तार वर्णन पुस्तकमा छ ।

भोजप्रसाद श्रेष्ठलिखित पुस्तक ‘अठोट’ उनको सङ्कल्प, सपना र सङ्घर्षको यात्रा हो । उक्त संस्मरणात्मक पुस्तकमा उनले आफ्नो अतीत मात्र होइन, वर्तमानका गतिविधि र भविष्यका सपनाहरू समेत समाहित गरेका छन् । ५४ वटा शीर्षक राखेर आफ्नो अठोट प्रकट गरेका छन् ।

भोजप्रसादले आफ्ना अनुभव र अनुभूतिलाई पुस्तकमा दुरुस्त उतारेका छन् । उनी राजनीतिकर्मी हुन् । अहिले लेखक बनेर हामीमाझ ‘अठोट’ पस्किएका छन् । पाल्पाको रामपुरमा जन्मिएका भोजप्रसादले किशोर वयदेखि समाजमा प्रचलित विभेदहरूका विरुद्धमा आवाज उठाउँदै न्याय र समताका पक्षमा वकालत गरे । विकृतिविरुद्धमा धावा बोले ।

पञ्चायती व्यवस्थाका विरुद्धमा साथीहरूसँग मिलेर प्रजातन्त्र प्राप्तिका लागि सङ्घर्ष गरे । गणतन्त्र ल्याउन उनले गरेको नेतृत्व प्रशंसनीय छ ।

प्राथमिक तहमा शिक्षकको लापरबाहीका कारण सोचेजस्तो नतिजा नआउँदा उनले रामपुरको विद्यालय बदलेर चितवन पढ्न गएको कुराले चसक्क मन छुन्छ । एसएलसीपछि गाउँकै विद्यालयमा उनी शिक्षक बने । त्यो उनको रहर मात्र थिएन, पारिवारिक बाध्यता पनि थियो ।

तानसेनमा प्रवीणता प्रमाणपत्र तह पढ्दै गर्दा उनी व्यापारी बने । त्यो उनको घरायसी आवश्यकता थियो । साथी, परिवार र समाजले उनलाई राजनीतितिर ढल्कायो । त्यो उनको भित्री मनको चाहना पनि थियो । सानैदेखि टाठाबाठा र जुझारु भोजप्रसादलाई राजनीतिक वातावरण परिवारले नै दिएको थियो ।

लाहुरे भए पनि उनका बाबा पञ्चायतकालीन वडाध्यक्ष बनिसकेका थिए । घरमा आउने अनेकथरीका मान्छेहरूसँग उनको हिमचिम र व्यवहारले राजनीतिमा तानेको कुरा पुस्तक पढ्दा थाहा लाग्छ ।

उद्यमी बन्ने आफ्नो रहरलाई बुटवल झरेपछि बाल्टी उद्योग खोलेर पूरा गरे । राजनीतिमा समाहित भएकै कारण कहिले आन्दोलनमा हिँड्नुपर्ने, कहिले पार्टीका बैठकहरूमा जुट्नुपर्ने भएकाले घरपरिवारबाट पाएको साथ मात्र काफी नभएपछि उनी साहुजीबाट नेता बने ।

पार्टीले उनलाई ०५१ सालमा सुकुम्बासी समस्या समाधान आयोग, रूपन्देहीको अध्यक्ष बनायो । भूमिहीन सुकुम्बासीहरूलाई छोटो जिम्मेवारीका बेलामा रातोदिन काम गरेर लालपुर्जा वितरण गरे । उनको काम सेतो घोडासरि थियो । यो कुरा उनको ‘अठोट’ पुस्तकमा पढ्न पाइन्छ ।

०५४ सालको स्थानीय निकायको निर्वाचनमा उनी साबिक बुटवल नगरपालिकाको नगरप्रमुख बने । उनले दैनिक १८ घण्टासमेत खटिएर बुटवल नगरलाई देशकै नमुना नगरपालिका बनाएर पुरस्कृत हुने अवसर जुटाए ।

समन्वय, सहकार्य र सहयात्रा गर्न रुचाउने उनले सरोकारवाला सबैसँग हातेमालो गरी अघि बढेको कुरा पुस्तकमा उल्लेख गरेका छन् । बुटवलको विकासमा उनको योगदान अतुलनीय छ । कसरी बुटवलको विकास सम्भव भयो भन्ने कुरा बुझ्न उनको ‘अठोट’ पुस्तक पढ्नैपर्ने हुन्छ ।

भोजप्रसादले बुटवलको औद्योगिक विकास, पर्यटन प्रवर्द्धन, शैक्षिक हब बनाउन गरेको प्रयास, स्वास्थ्य क्षेत्रमा सोचेको सपना एवं गरेका अभ्यासको नालीबेली बुझ्दै जाँदा आज भनिएको बस्नयोग्य बुटवल सहर त्यसै बनेको पक्कै होइन । पुस्तक अध्ययनबाट यही सन्देश प्राप्त हुन्छ ।

पुस्तकमा उनले आफू नगरप्रमुख हुँदा खेलेको भूमिका र परेका अप्ठ्याराका बारेमा बेलीविस्तार लगाएका छन् । पुस्तक जीवनभोगाइको सपाट बयान मात्र होइन, बरु एक स्वप्नद्रष्टाको दूरदृष्टि हो भन्न सकिन्छ । उनी योग शिक्षक बने । कुनै बेला उनी विपश्यनामा लीन भए । बौद्ध दर्शनमा ध्यानकेन्द्रित गर्दै अघि बढेका उनले सांसारिक मोह, माया र स्नेहलाई आफ्नै ढङ्गले परिभाषित गरेका छन् ।

०७४ देखि हालसम्म लुम्बिनी प्रदेश सभाका सदस्य रहेका उनी, कोरोनाकालमा ९९ दिन स्वास्थ्यमन्त्री बने । आफैँ कोरोनापीडित भएका उनले त्यति बेला स्वास्थ्य क्षेत्रमा गरेका उल्लेखनीय कार्यहरूलाई पुस्तकमा लिपिबद्ध गरेका छन् । भूमिकापछिको उनको भूमिका प्रशंसनीय भेटिन्छ । उक्त समयको कारुणिक कथा पढ्दा चलचित्र हेरेजस्तै लाग्छ ।

कठिन समयमा थोरै दिनका कर्महरू महान् हुँदा रहेछन् भन्न सकिन्छ । भोजप्रसादले उक्त समयमा गरेको सक्दो प्रयासले कतिपयलाई कोरोनाको मुखबाट छुटाएर ल्याएको हुनुपर्छ । जोखिम मोलेर अघि बढेका कुराहरू पढ्दा अनौठो लाग्छ ।

लुम्बिनी प्रदेशको स्थायी राजधानी बुटवललाई कायम गर्न नसक्दाको पीडा उनले पुस्तकमा पोखेका मात्र छैनन्, बरु आफ्नो प्रयास काफी हुन नसकेकोमा बुटवलवासीसँग क्षमा पनि मागेका छन् । आत्मालोचित हुँदा उनलाई कुनै पीडा छैन । बरु आत्मगौरवका साथ पुस्तकमा सबै कुरा बयान गरेका छन् ।

नेतृत्वलाई खुला चुनौती दिएका छन् । आफूले गरेका कामप्रति गौरव गरेका छन् । गर्न नसकेका कामप्रति क्षमायाचना गरेका छन् । यो नै भोजप्रसादको खास गुण र क्षमता रहेछ । यिनै कुराहरू पुस्तकमा सुन्दर तर भावुक तरिकाले बयान गरेका छन् ।

चीन, भारत, अमेरिका, बेलायत, जर्मनी, दक्षिण कोरिया, इरानलगायतका देश घुमेर नथाकेका उनले आफ्नै रारा तालको सुन्दर बयान गरेका छन् । देशविदेशका उद्यानहरू घुम्दै अनुभव बटुलेका भोजप्रसादले जीविकोपार्जनका लागि उद्यानको प्रवर्द्धनमा जोड दिएका छन् ।

वन, वातावरण र जैविक विविधता संरक्षण र संवर्द्धनमा पहल गर्दै आइरहेका उनले प्रकृतिलाई जीवन, जगत्, संस्कृति र प्रविधिसँग जोड्ने सपना बुनेका छन् । स्नातकसम्म अध्ययन गरेका उनले आफ्नो पुस्तकमा बाल्यकाल, किशोरावस्था, विवाह, समाज, विद्यार्थीकाल र शिक्षक हुँदाका दिनहरूलाई बान्की मिलाएर लेखेका छन् ।

पुस्तकमा उनले आफू नगरप्रमुख, सांसद, मन्त्री हुँदाका खासखास कुराहरूलाई स्वाभाविक रूपमा व्याख्या गरेका छन् । पुस्तक पढिरहँदा अक्षरहरू बरालिएका छैनन् । शब्दहरूले कसैलाई बाण हानेका छैनन् । वाक्यहरू आफ्नै लयमा बगेका छन् । पुस्तक पढिरहँदा राजनीतिकर्मी पनि सजिलै लेखक बन्न सक्ने हैसियत राख्दा रहेछन् जस्तो लाग्छ ।

तर, त्यति सजिलो भने लेखक बन्न छैन । लेखनमा विषयवस्तु मात्र होइन, लेखनकला, त्यसको क्रमबद्धता, मीठा सपना, साहित्यिक शब्दहरूको मिलान र पाठकको मन खिच्न सक्ने खुबी आवश्यक पर्ने रहेछ । यो कुरा भोजप्रसादले राम्रोसँग बुझेका रहेछन् ।

बुटवलमा भर्खरै विमोचित ‘अठोट’ पुस्तकले भोजप्रसादको परिचयलाई फराकिलो बनाइदिएको छ । लेखकको पगरी गुथाएको छ । आफ्ना भावनाहरूलाई पुस्तकमा प्रस्तुत गर्ने अवसर दिएको छ ।

उनले पुस्तकमार्फत देशदुनियाँसँग विगतका आफ्ना सङ्घर्षशील यात्रालाई बिसाउने चौतारो पाएका छन् । वर्तमानका भोगाइलाई पस्किने मौका मिलेको छ उनलाई । भविष्यका सपनालाई सुनाउने समय प्राप्त गरेका छन् उनले पुस्तकमार्फत ।

पुस्तकको अन्तिममा समाहित कविताले भोजप्रसादको अठोटलाई बलियो बनाइदिएको छ । कवितामा उनी पोखिन्छन् र भन्छन्–

तर पनि,

अविचलित यात्रामा अठोट बोकेर हिँडिरहेकै छु

सङ्कल्प, सपना र सङ्घर्षको यात्रामा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दलबहादुर गुरुङ
दलबहादुर गुरुङ
लेखकबाट थप