बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि डब्ल्यूएसएलाई

आइतबार, २७ वैशाख २०८३, ०९ : ५९
आइतबार, २७ वैशाख २०८३

सारांश

  • काठमाडौँमा सम्पन्न तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले जितेको छ।
  • डब्ल्यूएसएले आफ्ना तीनवटै खेलमा जित निकाल्दै ६ अंकसहित च्याम्पियन बन्न सफल भयो र १५ हजार रुपैयाँ नगद पुरस्कार हात पार्यो।
  • प्रतियोगितामा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब दोस्रो र स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल तेस्रो भयो।

काठमाडौँ । काठमाडौँमा सम्पन्न तेस्रो वडा कप महिला ह्विलचियर बास्केटबल प्रतियोगिताको उपाधि ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए) ले जितेको छ।

राष्ट्रिय अपाङ्ग महिला समाजले ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा आयोजना गरेको प्रतियोगितामा शनिबार डब्ल्यूएसएले आफ्ना तीनवटै खेलमा जित निकाल्दै ६ अंकसहित च्याम्पियन बन्न सफल भयो। उपाधि जितेसँगै टोलीले १५ हजार रुपैयाँ नगद पुरस्कार समेत हात पारेको छ।

डब्ल्यूएसएले लिग चरणका खेलमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लबलाई ४–२, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई २०–४ र बीआईएलाई १७–२ को फराकिलो अन्तरले पराजित गरेको थियो। प्रतियोगितामा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब दोस्रो स्थानमा रहँदै १० हजार रुपैयाँ प्राप्त गर्‍यो। उसले तीन खेलमध्ये दुई खेल जितेर ५ अङ्क जोडेको थियो। 

यस्तै, तीन खेलमा एक जित निकाल्दै ४ अङ्क जोडेको स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल (एससिआइएनएन) तेस्रो भयो र पाँच हजार रुपैयाँ पुरस्कार पायो। प्रतियोगितामा सहभागी चौथो टोली बीआईए भने तीनवटै खेलमा पराजित भयो।

प्रतियोगिताका प्राविधिक प्रमुख प्रेमसुन्दर होनाका अनुसार विजयी टोलीलाई दुई र पराजित टोलीलाई एक अङ्क दिने नियम राखिएको थियो। व्यक्तिगत विधातर्फ डब्ल्यूएसएकी ज्योति अर्याल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भइन् भने २४ स्कोर गरेकी हिउँकला साउद सर्वाधिक स्कोरकर्ताका रूपमा सम्मानित भइन्। दुवैले जनही एक हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।

समापन कार्यक्रममा काठमाडौँ महानगरपालिका–३० का वडाध्यक्ष दलबहादुर कार्की, नेपाल बास्केटबल सङ्घका अध्यक्ष भीमसिंह गुरुङ र राष्ट्रिय अपाङ्ग महिला समाजकी अध्यक्ष देवी आचार्यले पुरस्कार वितरण गरे। कार्यक्रममा सक्षम नेपालका अध्यक्ष बिरुकमल श्रेष्ठले स्पाइनल कर्ड इन्जुरी भएका महिला खेलाडीलाई ३० थान डाइपर समेत सहयोग गरे। प्रतियोगिता सम्पन्न गर्न काठमाडौँ महानगरपालिका–३० ले विशेष आर्थिक तथा भौतिक सहयोग पुर्‍याएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप