टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्ने क्रममा चक्कामा आगो
सारांश
- टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ ।
- इस्तानबुलबाट काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको हो ।
काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।
इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको विमानमा ल्याण्ड हुँदा सो घटना भएको हो ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो । ‘घटनामा सबै यात्रु सुरक्षित रहेका छन्,’ सिलवालले भने ।
अहिले रनवे बन्द गरेर विमानलाई ट्याक्सी-वे तर्फ लैजाने प्रयास भइरहेको उनले जानकारी दिए । यसपछि विमानको प्राविधिक जाँच गरिने पनि सिलवालले जानकारी दिए ।
विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । विमानमा संयुक्त राष्ट्र संघका कूटनीतिज्ञहरु समेत सवार रहेको एसपी सिलवालको भनाई छ ।
यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएको थियो । जसमा कुनै मानविय क्षति नभए पनि त्रिभुवन विमानस्थल ४ दिनसम्म बन्द हुन पुगेको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण