बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

देशभर ‘मूल्य पारदर्शिता सप्ताह’ सुरु, वस्तुमा एमआरपी र लेबल अनिवार्य

सोमबार, २८ वैशाख २०८३, १७ : २९
सोमबार, २८ वैशाख २०८३

सारांश

  • सरकारले देशभर वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’ मनाउने भएको छ।
  • यस सप्ताहको उद्देश्य उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्नु हो।
  • अब उत्पादक तथा पैठारीकर्ताहरूले वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी), गुणस्तर, सामग्री र लेबल स्पष्ट रूपमा खुलाउनुपर्नेछ।

काठमाडौँ । सरकारले देशभर वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म ‘मूल्य पारदर्शिता सप्ताह’  मनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साेमबार एक सूचना जारी गर्दै आजदेखि यो सप्ताह सुरु गरेको जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएको व्यवस्थाबमोजिम बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको विभागले जनाएको छ । सप्ताह अवधिभर र त्यसपछि पनि बजारलाई व्यवस्थित बनाउन विभागले विशेष सक्रियता देखाउने भएको छ ।

विभागका अनुसार अब सम्पूर्ण उत्पादक तथा पैठारीकर्ता (इम्पोर्टर) हरूले आफूले उत्पादन वा आयात गरी बिक्री वितरण गर्ने वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी), गुणस्तर, इन्ग्रेडिएन्ट (सामग्री)र लेबल लगायतका विवरणहरू स्पष्ट रूपमा खुलाउनुपर्नेछ । 

यी विवरणहरू सुनिश्चित नगरी बिक्री वितरण नगर्न विभागले सबै सरोकारवालाहरूलाई सचेत गराएको छ ।

बजारमा स्वच्छ प्रतिस्पर्धा कायम गर्न र उपभोक्तालाई ठगिबाट बचाउन यो अभियान चालिएको विभागको भनाइ छ । विभागले यस मूल्य पारदर्शिता सप्ताहलाई सफल बनाउन निजी क्षेत्र र सम्बन्धित सबै निकायहरूलाई पूर्ण सहयोग गर्न अपिल समेत गरेको छ।

सूचनामा भनिएको छ, ‘बजारमा वस्तुको मूल्यमा पारदर्शिता कायम गरी उपभोक्ताको हित संरक्षण गर्न यो सप्ताह मनाउन लागिएको हो, यसमा सबैको साथ र सहयोगको अपेक्षा गर्दछौँ ।’

apurti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप