शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

खेलकुद अब अर्थतन्त्रको आधारः विद्यालयबाटै प्रतिभा खोजिने, खेलाडीलाई सामाजिक सुरक्षाको ग्यारेन्टी

सोमबार, २८ वैशाख २०८३, १८ : ३९
सोमबार, २८ वैशाख २०८३

सारांश

  • सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकास, व्यावसायीकरण र खेलाडीको वृत्तिविकासलाई उच्च प्राथमिकतामा राखेको छ ।
  • खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रको अभिन्न अङ्गका रूपमा विकास गर्ने सरकारको योजना छ ।
  • सरकारले विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्ने, खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गर्ने र खेलकुदलाई 'खेल गन्तव्य'का रूपमा विकास गर्ने नीति लिएको छ ।

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकास, व्यावसायीकरण र खेलाडीको वृत्तिविकासलाई उच्च प्राथमिकतामा राखेको छ । 

सोमबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदलाई राष्ट्रिय एकता, स्वास्थ्य, पर्यटन र अर्थतन्त्रको अभिन्न अङ्गका रूपमा विकास गर्ने सरकारको योजना सार्वजनिक गरेका हुन् । 

खेलकुदको जगलाई सुदृढ बनाउन सरकारले विद्यालय तहदेखि नै खेल प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ ।

यसबाट तल्लो तहदेखि नै दक्ष खेलाडी उत्पादनमा सहयोग पुग्ने सरकारको विश्वास छ । 

खेलकुद क्षेत्रलाई आर्थिक वृद्धिको आधारका रूपमा विकास गर्न यसको व्यवसायीकरणमा जोड दिइने राष्ट्रपति पौडेलले बताए । खेलकुद पूर्वाधारको निर्माण र खेल गतिविधिमा निजी क्षेत्रको लगानी तथा सहभागितालाई प्रोत्साहन गर्ने नीति समेत सरकारले अख्तियार गरेको छ । 

राष्ट्रको गौरव बढाउने खेलाडीहरूको भविष्यलाई सुरक्षित गर्न उनीहरूका लागि सामाजिक सुरक्षा सुनिश्चित गरिने कार्यक्रममा उल्लेख छ । यसले खेलाडीहरूलाई खेल जीवनमा ढुक्क भएर लाग्न थप प्रेरणा प्रदान गर्ने लक्ष्य राखिएको छ । 

खेलकुदलाई स्वास्थ्य पर्यटन र राष्ट्रिय अर्थतन्त्रसँग जोड्दै नेपाललाई 'खेल गन्तव्य'का रूपमा विकास गर्ने रणनीतिक योजना सरकारले अघि सारेको छ । युवा शक्तिलाई खेलकुदका माध्यमबाट राष्ट्र निर्माणमा परिचालन गर्ने र अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान सुदृढ बनाउने संकल्प समेत सरकारले व्यक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप