बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गरिबको घर भत्काउने काम निन्दनीय, सुकुमबासीको तत्काल उचित व्यवस्थापन गर: सांसद बोगटी

मङ्गलबार, २९ वैशाख २०८३, १३ : ५९
मङ्गलबार, २९ वैशाख २०८३

सारांश

  • सांसद यज्ञबहादुर बोगटीले सरकारले सुकुमबासी र गरिबमाथि अमानवीय व्यवहार गरेको भन्दै तत्काल उचित बसोबासको व्यवस्था गर्न माग गरेका छन्।
  • उनले सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा डोजर चलाएर गरिबका घरहरू भत्काएको कार्य निन्दनीय भएको बताएका छन्।
  • सांसद बोगटीले मुलुकमा बढ्दै गएको महँगीप्रति पनि सरकारको ध्यानाकर्षण गराउँदै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद यज्ञबहादुर बोगटीले घरबारविहीन अवस्थामा रहेका सुकुमबासीहरूको तत्काल उचित बसोबासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। 

मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद बोगटीले सरकारले सुकुमबासी र गरिबमाथि अमानवीय व्यवहार देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

सरकार आफैँले सुकुमबासी बस्ती हटाउने क्रममा डोजर चलाएर गरिबका घरहरू भत्काएको उल्लेख गर्दै उनले यस्ता कार्य तत्काल रोक्न सरकारलाई सचेत गराएका छन्। मुलुकमा अहिले पनि दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोवासी गरी जम्मा ११ लाख २९ हजार ५१७ परिवारको समस्या ज्यूँका त्यूँ रहेको तथ्याङ्क प्रस्तुत गर्दै उनले सरकारले समस्या समाधान गर्नुको साटो उल्टै उनीहरूलाई घरबारविहीन बनाएको आरोप लगाएका छन्।

बैठकमा आफ्नो धारणा राख्दै सांसद बोगटीले भने, ‘अहिले पनि दलित, भूमिहीन सुकुमबासी अव्यवस्थित बसोवासी जम्मा ११ लाख २९ हजार ५१७ को समस्या ज्यूँका त्यूँ छ। यो सरकारले यस्ता समस्या समाधान गर्नुभन्दा गरिबको घर भत्काउने जो काम गरेको छ, यो एकदमै निन्दनीय घटना छ। यस्ता कामहरू सरकारले रोक्नुपर्छ। र, ती भत्काइएका र घरबारविहीन भएकाहरूको घरवासको व्यवस्थापन तत्काल गर्न सरकारसँग जोडदार माग गर्न चाहन्छु।’

सुकुमबासी समस्याका साथै सांसद बोगटीले मुलुकमा बढ्दै गएको महँगीप्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन्। गरिब जनता महँगीको चर्को मारमा परिरहेकाले यस विषयलाई गम्भीरतापूर्वक लिँदै नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारले ढिलाइ गर्न नहुने उनले बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप