बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय
समाचार

नख्खु जेलबाट सञ्जय साहको प्रधानमन्त्री बालेनलाई पत्र

‘म निर्दोष छु, फसाउने न्यायाधीशलाई कारबाही होस्’
बुधबार, ३० वैशाख २०८३, ११ : ५४
बुधबार, ३० वैशाख २०८३

सारांश

  • १२ वर्षदेखि जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह (टकला) ले आफू निर्दोष रहेको दाबी गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पत्र लेखेका छन् ।
  • साहले आफूविरुद्ध लागेका भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण एवं ज्यानसम्बन्धी मुद्दाहरू आधारहीन रहेको र बुबाको नाममा रहेको जग्गालाई समेत भ्रष्टाचार गरेर आर्जन गरेको भनी मुद्दा चलाइएको दाबी गरेका छन् ।
  • उनले पोलिग्राफ रिपोर्टले निर्दोष देखाए पनि अदालतले हेर्दै नहेरी जन्मकैदको फैसला गरेको भन्दै न्यायाधीशहरूमाथि कारबाहीको माग गरेका छन् ।

काठमाडौँ । १२ वर्षदेखि जेलमा रहेका पूर्वराज्यमन्त्री सञ्जयकुमार साह (टकला)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई पत्र पठाएका छन् ।

जनकपुरमा भएको बमकाण्डका मुख्य योजनाकार भनिएका साहले आफू निर्दोष रहेको र त्यसको बारेमा सत्यतथ्य जाँच गराई दोषीमाथि कारबाही गर्न माग गर्दै प्रधानमन्त्री बालेनलाई पत्र लेखेका छन् । नख्खु कारागारमा रहेका साहले कारागार कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै आफ्नो मुद्दामाथि अदालतबाट तत्काल निष्पक्ष सुनुवाइ हुने व्यवस्था मिलाइदिन माग गरेका हुन् ।

निवेदनमा साहले आफूविरुद्ध लागेका भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण एवं ज्यानसम्बन्धी मुद्दाहरू आधारहीन रहेको दाबी गरेका छन् । आफ्नो बुबाको नाममा रहेको र आफू नाबालक छँदै खरिद गरिएको जग्गालाई समेत भ्रष्टाचार गरेर आर्जन गरेको भनी अख्तियार र सम्पत्ति शुद्धीकरण विभागले मुद्दा चलाएको साहको दाबी छ । 

उनले आफ्ना बुबाले पैतृक सम्पत्तिका रूपमा प्राप्त गरेका र आफू नाबालक हुँदा नै खरिद गरिएको तत्कालीन गाविस कपिलेश्वर वडाको जग्गाहरू अहिले जनकपुर उपमहानगरपालिका वडा नम्बर १६ मा परेको निवेदनमा उल्लेख गरेका छन् ।

‘पोलिग्राफ’को रिपोर्टले निर्दोष देखाए पनि अदालतका न्यायाधीशले त्यसलाई हेर्दै नहेरी जन्मकैदको फैसला गरेको भन्दै उनले हाल सो मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरेका छन् ।

आफ्ना बुबा साधु साह सुडीको नाममा रहेको तत्कालीन गाविस लोहनाको जग्गा पनि खरिद गरेर बुबाकै नाममा राखेको दाबी गर्दै अख्तियारले मुद्दा दायर गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘मेरो जन्म हुनुभन्दा पहिलेका जग्गाहरू मैले खरिद गरी बुबाको नाममा राखी सम्पत्ति शुद्धीकरण गरेको भनी मुद्दा दायर गरिएको छ ।’

आफ्नो व्यापारिक फर्मको ७ वर्षको कुल कारोबारलाई नै अकुत सम्पत्ति मानेर बिगो कायम गरिएको, तर सो रकम कुनै पनि समयमा निक्षेपका रूपमा मौज्दात नरहेको उनले दाबी गरेका छन् । त्यसैगरी, उनले ज्यानसम्बन्धी मुद्दामा आफ्नो ‘पोलिग्राफ जाँच’ हुँदा निर्दोष देखिएको, तर सो रिपोर्ट अदालतमा नबुझाई आफूलाई जन्मकैदको फैसला सुनाइएको पत्रमा लेखेका छन् । जसले आफूमाथि आरोप लगाएका छन्, उनीहरूको पनि ‘पोलिग्राफ जाँच’ हुनुपर्ने माग सञ्जय साहले गरेका छन् ।

‘पोलिग्राफ’को रिपोर्टले निर्दोष देखाए पनि अदालतका न्यायाधीशले त्यसलाई हेर्दै नहेरी जन्मकैदको फैसला गरेको भन्दै उनले हाल सो मुद्दा लामो समयदेखि सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको उल्लेख गरेका छन् ।

साहले आफूलाई बदनियतपूर्वक दोषी ठहर गर्ने तत्कालीन विशेष अदालत र उच्च अदालत जनकपुरका न्यायाधीशहरूको नामै किटेर उनीहरूमाथि कारबाहीको माग गरेका छन् । 

उनले विशेष अदालतका न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सारु तथा उच्च अदालत जनकपुरका न्यायाधीशहरू प्रमोदकुमार श्रेष्ठ वैद्य र डालकुमार खड्काले प्रमाणको वास्ता नगरी फैसला गरेको आरोप लगाएका छन् ।

अदालतहरूमा चर्चित मानिसहरूलाई दोषी ठहर गरिदिँदा आफू इमानदार देखिने मानसिकता न्यायाधीशहरूमा देखिएको आरोप लगाउँदै उनले आफ्नो मुद्दा सर्वोच्च अदालतमा वर्षौँदेखि विचाराधीन अवस्थामा रहेको र कानुनअनुसार ६ महिनाभित्र हुनुपर्ने सुनुवाइ विभिन्न बहानामा अगाडि नबढाइएको गुनासो गरेका छन् । 

उनले आफू २०६४ र २०७० सालको संसदीय निर्वाचनमा जनकपुरबाट निर्वाचित जनप्रतिनिधि भएको स्मरण गराउँदै राज्य संयन्त्रको दुरुपयोग गरी आफूमाथि अन्याय गरिएको दाबी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप