शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
पूर्वाधारमा काम

तिनाउमा ‘सिग्नेचर ब्रिज’ : चिनियाँ कम्पनीले पाउने लगभग निश्चित

प्राविधिक मूल्यांकन अन्तिम चरणमा
बुधबार, ३० वैशाख २०८३, १७ : ०९
बुधबार, ३० वैशाख २०८३

सारांश

  • रुपन्देहीको तिनाउ नदीमाथि निर्माण हुन लागेको अत्याधुनिक ‘सिग्नेचर ब्रिज’को ठेक्का चिनियाँ निर्माण कम्पनीले पाउने भएको छ ।
  • नेपाल सरकारको सडक विभागले आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा ६ वटा चिनियाँ कम्पनी तथा संयुक्त उपक्रम (जेभी) सहभागी भएका छन् ।
  • करिब २६६ मिटर लामो आधुनिक पुल निर्माणका लागि झन्डै २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडक खण्डमा पर्ने रुपन्देहीको तिनाउ नदीमाथि निर्माण हुन लागेको अत्याधुनिक‘सिग्नेचर ब्रिज’को ठेक्का चिनियाँ निर्माण कम्पनीले पाउने भएको छ । 

नेपाल सरकारको सडक विभागअन्तर्गत वैदेशिक सहायता महाशाखाले गत मंसिर अन्तिममा आह्वान गरेको अन्तर्राष्ट्रिय बोलपत्रमा ६ वटा चिनियाँ कम्पनी तथा संयुक्त उपक्रम (जेभी) सहभागी भएका छन् । सबै कम्पनी चिनियाँ भएकाले निर्माण जिम्मा चिनियाँ पक्षकै हातमा जाने देखिएको हो । 

बोलपत्र पेस गर्ने कम्पनीहरूमा चाइना फर्स्ट हाइवे इन्जिनियरिङ कम्पनी लिमिटेड, पोलिचाङ्दा इन्जिनियरिङ कम्पनीलिमिटेड, आनह इसिन्जियान होल्डिङ ग्रुप कम्पनी लिमिटेड, जीसीजीसीर र आरसीसी जेभी छन् ।

चिनिया जेडआईईसीसँग जेभीको नेपाली कम्पनी शर्मा–एएनके पनि बोलपत्र बुझाएका छन् । यस्तै सीआरईजीसीसँग नेपाली कम्पनी कालिकाले पनि जेभीको बोलपत्र बुझाएको सडक विभागको वैदेशिक सहायता महाशाखाका सिनियर इन्जिनियर सुरेश पौडेलले रातोपाटीलाई बताए । उनका अनुसार अहिले सहभागी कम्पनीहरूको प्राविधिक पक्षको मूल्यांकन अन्तिम चरणमा पुगेको छ । 

उनले भने, 'अब केही दिनभित्र प्राविधिक मूल्यांकन प्रतिवेदन विश्व बैंकमा पठाइन्छ, त्यसपछि आर्थिक प्रस्ताव खोलिनेछ र अन्तिम निर्णय प्रक्रिया अघि बढ्छ । 

उनका अनुसार सम्पूर्ण प्रक्रिया सम्पन्न हुन करिब तीन महिना लाग्ने अनुमान गरिएको छ । निर्माण कम्पनी छनोट भएपछि सम्झौता गरी कार्यान्वयनको जिम्मा बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालयलाई दिइनेछ ।

नेपाल सरकारले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी र तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना अघि बढाएको हो । नारायणी नदीमा भने निर्माण कार्य सुरु भइसकेको छ । त्यहाँ तुँदी कन्स्ट्रक्सन प्रालिले चार वर्षभित्र काम सम्पन्न गर्ने गरी १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढी रकममा ठेक्का सम्झौता गरिसकेको छ । 

तिनाउ नदीमा निर्माण हुने पुलका लागि सडक विभागले करिब २ अर्ब रुपैयाँ लागत अनुमानसहित टेन्डर आह्वान गरेको थियो । हाल रहेको पुललाई यथावत् राख्दै त्यसको उत्तर र दक्षिणतर्फ थप २–२ लेनका नयाँ पुल निर्माण गरिने योजना छ । 

करीब २६६ मिटर लामो हुने प्रस्तावित ‘सिग्नेचर ब्रिज’ आधुनिक, आकर्षक र कलात्मक डिजाइनमा निर्माण गरिने बताइएको छ । 

हाल बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम जारी छ । पुरानो तिनाउ पुल जीर्ण बन्दै जानु र बुटवल क्षेत्रमा सवारी चाप अत्यधिक बढ्दै जानुले नयाँ पुल निर्माणको आवश्यकता थप बढाएको हो । पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले बुटवलमा सवारी चाप बढ्दै गएकाले सडक विस्तारसँगैआधुनिक पुल निर्माण अपरिहार्य बनेको बताए । उनले ‘सिग्नेचर ब्रिज’ बुटवलको थप आकर्षण बन्न सक्ने उल्लेख गरे ।
बुटवल–गोरुसिङ्गे सडक आयोजनाका सूचना अधिकारी अशोक पौडेलका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति २३ प्रतिशत तथा वित्तीय प्रगति २२ प्रतिशत पुगेको छ । 

सिग्नेचर ब्रिज’ले पर्यटन तान्ने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको तिनाउमा निर्माण हुन लागेको ‘सिग्नेचर ब्रिज’लाई केवल सडक पूर्वाधारका रूपमा नभई पर्यटकीय आकर्षणको केन्द्रका रूपमा समेत विकास गर्ने योजना अघि सारिएको छ ।
हाल तिनाउमा रहेको पुरानो पुललाई यथावत् राखेर त्यसको उत्तर र दक्षिणतर्फ २–२ लेनका दुई नयाँ पुल निर्माण गरिनेछन् । करिब २६६ मिटर लामो आधुनिक पुल निर्माणका लागि झन्डै २ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । 

आयोजनामा संलग्न इन्जिनियर सुरेश पौडेलका अनुसार पुललाई सडक सतहभन्दा माथि उठाएर बुटवल र तिनाउ क्षेत्रको सौन्दर्य झल्किने गरी कलात्मक शैलीमा निर्माण गरिनेछ । 

उनका अनुसार ‘सिग्नेचर ब्रिज’ परम्परागत पुलभन्दा फरक, आकर्षक र आधुनिक संरचनाका रूपमा तयार हुनेछ । तिनाउ क्षेत्रमा ऐतिहासिक जीतगढी किल्ला, माथिल्लो भागमा रहेको फुलबारी तथा नुवाकोट क्षेत्रसँग पर्यटकीय सम्भावना जोडिएकाले नयाँ पुलले बुटवलमा थप पर्यटक भित्राउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष अर्जुन थापाले पुलकै आकर्षण हेर्न आउने पर्यटकलाई आसपासका पर्यटकीय गन्तव्यसम्म लैजान सकिने बताए । 

आयोजनाका निर्देशक पौडेलका अनुसार निर्माण व्यवसायीलाई पुलको डिजाइन तयार गर्न ७ महिनाको समय दिइनेछ । उनले अब करिब ३ महिनाभित्र ठेक्का प्रक्रिया टुंगिने र त्यसपछि ७ महिना डिजाइन तथा ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता हुने जानकारी रातोपाटीलाई दिए । 

हाल प्रयोगमा रहेको तिनाउ पुल २०३८ सालमा निर्माण गरिएको हो । पुरानो र साँघुरो बन्दै गएपछि नेपाली तथा विदेशी इन्जिनियरहरूको संयुक्त टोलीले आधुनिक ‘सिग्नेचर ब्रिज’को डिजाइन तयार गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका लुम्बिनी प्रदेश संयोजक हुन् । 

लेखकबाट थप