मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी आन्दोलित
सारांश
- निर्माण व्यवसायीहरूले अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउन नसकिएको भन्दै देशभरका सरकारी कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरेका छन् ।
- नेपाल निर्माण व्यवसायी महासङ्घले मूल्य समायोजन, म्याद थप र बजेट व्यवस्थापनको माग राख्दै आन्दोलन सुरु गरेको हो ।
- सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने महासङ्घले जनाएको छ ।
काठमाडौँ । अत्यधिक मूल्यवृद्धिका कारण निर्माण कार्य अघि बढाउन नसकिएको भन्दै देशभरका निर्माण व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना मागहरू पूरा गराउन आजदेखि सरकारी निकायहरूमा धर्ना र घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
महासङ्घका प्रवक्ता मंगलबहादुर शाहीले सरकारले व्यवसायीका समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर आन्दोलन सुरु गर्नुपरेको बताए । उनका अनुसार आज बिहान १० बजेदेखि देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा व्यवसायीहरूले धर्ना दिइरहेछन् । साथै, आज काठमाडौँमा सडक विभाग, सिँचाइ विभाग र सम्बन्धित मन्त्रालयहरूमा समेत धर्ना दिएका छन् ।
_wgxWSGlnKg.jpg)
प्रवक्ता शाहीले गत फेब्रुअरी २८ देखि सुरु भएको वैदेशिक युद्धका कारण निर्माण सामग्रीको मूल्य अनपेक्षित रूपमा बढेको उल्लेख गरे । इन्धन र निर्माण सामग्रीको भाउ बढे पनि सरकारले मूल्य समायोजन नगरेकाले देशभरका करिब ७ देखि ८ हजार ठेक्काको काम स्वतःस्फूर्त रूपमा बन्द भएको उनले जानकारी दिए । ‘अहिलेको मूल्यमा काम गर्न सक्ने अवस्था छैन, त्यसैले व्यवसायीहरूले काम ठप्प पारेर सरकारसँग गुहार मागेका हुन्,’ शाहीले भने ।
_fJ2gMHlfVp.jpg)
यस्ता छन् मुख्य मागहरू
आन्दोलनरत व्यवसायीहरूले मुख्य रूपमा तीन वटा माग अघि सारेका छन् ।
१. बढेको बजार भाउ अनुसार ठेक्काको मूल्य पनि समायोजन गरिनुपर्ने ।
२. काम रोकिएका आयोजनाहरूको म्याद थप गरी २०८४ असारसम्म काम गर्ने वातावरण मिलाउनुपर्ने ।
३.आगामी बजेटमा आयोजनाहरूको स्पष्ट बजेट शीर्षक र भुक्तानीको व्यवस्था गरिनुपर्ने ।
प्रवक्ता शाहीका अनुसार अन्य सबै क्षेत्र (यातायात, होटल, एयरलाइन्स) ले मूल्य बढाए पनि निर्माण क्षेत्र भने मारमा परेको छ । समयमै म्याद थप र बजेट व्यवस्थापन नभए धेरै आयोजनाहरू रुग्ण हुने र सरकारलाई थप आर्थिक भार पर्ने चेतावनी पनि उनले दिए ।
आन्दोलनकै बिचमा व्यवसायीहरूमाथि भइरहेको धरपकडप्रति पनि महासङ्घले आपत्ति जनाएको छ । अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने शाहीको भनाइ छ । उनले सरकारलाई व्यवसायीमैत्री वातावरण बनाउन र ‘नङ–मासु’को जस्तो सम्बन्ध कायम राख्न आग्रह गरे ।
सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलनका कार्यक्रमहरू जारी रहने महासङ्घले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
-
जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण