शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

नीति तथा कार्यक्रमले नागरिकमा उत्साह होइन, निराशा पैदा गर्‍यो : सांसद सुनार

बिहीबार, ३१ वैशाख २०८३, १४ : ३३
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • सांसद भुवनबहादुर सुनारले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन रहेको टिप्पणी गरेका छन्।
  • उनले सरकारको योजनाले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको बताएका हुन् ।
  • समग्र नीति तथा कार्यक्रमले नागरिकमा उत्साह पैदा गर्न नसकेको र उत्पीडित समुदायमा कुनै आशा जगाउन नसकेको उनको भनाइ छ।

काठमाडौँ । सांसद भुवनबहादुर सुनारले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिशाहीन रहेको टिप्पणी गरेका छन्। 

राष्ट्रिय सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारको योजनाले मुलुकको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने स्पष्ट खाका दिन नसकेको बताएका हुन् ।

सांसद सुनारले नीति तथा कार्यक्रमले आगामी पाँच वर्षको मार्गचित्र प्रस्तुत गर्न सक्नुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गरे। सरकारले प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्नु सकारात्मक भए पनि समग्र नीति तथा कार्यक्रमले नागरिकमा उत्साह पैदा गर्न नसकेको उनको भनाइ छ। 

बैठकमा बोल्दै उनले भने, ‘सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलुकको अर्थतन्त्र कता लैजान खोजिएको हो ? स्पष्ट छैन। पहिलो वर्षदेखि पाँचौँ वर्षसम्म के गर्ने भन्नेबारे स्पष्ट खाका हुनुपर्थ्यो त्यस्तो केही पनि देखिँदैन।’

उनले सरकारको नीति तथा कार्यक्रम धेरै महत्त्वाकाङ्क्षी नहुनु सकारात्मक भए पनि यसले नागरिकलाई निराश बनाएको टिप्पणी गरे। आगामी आर्थिक वर्षको कार्यक्रम विगतको भन्दा पनि अस्वस्थ रहेको दाबी गर्दै उनले जनताको तहसम्म पुग्ने कुनै खाका नदेखिएको बताए। 

उनले थपे, ‘यसले जनतामा कुनै पनि उत्साह पैदा गर्न सकेको छैन। नागरिकको तहसम्म पुग्नका लागि यसले कुनै खाका बनाएको देखिँदैन। त्यसैले जेठ १५ को बजेट पनि यसैको पेरिफेरीमा त आउने होला नि।’

यसैगरी सांसद सुनारले प्रस्तुत नीति तथा कार्यक्रमले उत्पीडित समुदायमा कुनै आशा जगाउन नसकेको समेत टिप्पणी गरे। सरकारले ल्याएको कार्यक्रम कर्मकाण्डी मात्र भएको र यसले देशको आर्थिक सङ्कट समाधानको ठोस दिशा लिन नसकेको उनको आरोप छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप