दिल्ली विस्फोटमा १० जनाविरुद्ध आरोप
नयाँ दिल्ली । भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआइए) ले सन् २०२५ मा दिल्लीमा भएको घातक कार बम विस्फोट प्रकरणमा १० जनाविरुद्ध औपचारिक आरोप दायर गरेको छ । ऐतिहासिक लालकिल्ला नजिकै भएको उक्त विस्फोटमा कम्तीमा ११ जनाको मृत्यु भएको थियो । अनुसन्धान एजेन्सीले अभियुक्तहरूलाई अल–कायदा प्रेरित समूहसँग सम्बन्धित रहेको दाबी गरेको छ ।
गत वर्ष नोभेम्बर १० मा दिल्लीको पुरानो क्षेत्रमा अत्यधिक भीडभाड हुने मेट्रो स्टेसन नजिक विस्फोट भएको थियो । राजधानीको संवेदनशील तथा पर्यटकीय क्षेत्रमै भएको विस्फोटले देशभर सुरक्षा चिन्ता बढाएको थियो ।
एनआईएका अनुसार घटनामा संलग्न भनिएका १० जनामध्ये एक जना कथित कार चालक मेडिकल डाक्टर उमर उन नबी पनि रहेका छन्, जो विस्फोटमै मारिएका थिए । जलेको अवस्थामा फेला परेको शवलाई डीएनए परीक्षणमार्फत पहिचान गरिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।
अधिकारीहरूका अनुसार नबीको मृत्यु भइसकेकाले उनीविरुद्धको मुद्दा स्वतः खारेज हुनेछ । बाँकी नौ जना भने अहिले हिरासतमा रहेका छन् । एनआईएले चार भारतीय राज्य तथा भारत प्रशासित काश्मीर क्षेत्रमा महिनौँसम्म अनुसन्धान गरेपछि बिहीबार नयाँदिल्लीस्थित अदालतमा सात हजार ५०० पृष्ठभन्दा लामो आरोपपत्र दर्ता गरेको हो ।
एजेन्सीले जारी गरेको वक्तव्यमा मुख्य अभियुक्त डा.उमर उन नबीसहित सबै १० जना ‘अन्सार गजवत–उल–हिन्द’ नामक समूहसँग आबद्ध रहेको दाबी गरिएको छ । उक्त समूहलाई भारतीय उपमहाद्वीपमा सक्रिय अल–कायदाको शाखा ‘अल–कायदा इन द इन्डियन सबकन्टिनेन्ट’ (एक्युआइएस) सँग जोडिएको बताइएको छ ।
विस्फोटमा मृत्यु हुनेको सङ्ख्याबारे सुरुआती चरणमा केही अन्योल देखिएको थियो । अस्पताल स्रोतहरूले १२ जनाको मृत्यु भएको बताएका थिए भने आधिकारिक रूपमा ११ जनाको मृत्यु पुष्टि गरिएको छ ।
एनआईएका अनुसार अभियुक्तहरू अवैध रूपमा प्रतिबन्धित हतियार खरिदमा समेत संलग्न थिए । उनीहरूले एसल्ट राइफलजस्ता हतियारहरू सङ्कलन गरेको र सुरक्षा निकायलाई लक्षित गरी रकेट तथा ड्रोनमार्फत इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) प्रयोग गर्ने योजना बनाएको आरोप लगाइएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरूले आरोपितमध्ये केही ‘कट्टरपन्थी सोचबाट प्रभावित चिकित्सा व्यवसायी’ रहेको बताएका छन् । आरोपपत्रअनुसार कम्तीमा पाँच जना डाक्टर रहेका छन्, जसमा धेरैजसो काश्मीर क्षेत्रका हुन् ।
काश्मीर क्षेत्र सन् १९४७ मा ब्रिटिस शासनबाट भारत स्वतन्त्र भएपछि भारत र पाकिस्तानबीच विभाजित रहँदै आएको छ । दुवै देशले यो हिमाली क्षेत्रमाथि पूर्ण दाबी गर्दै आएका छन् । त्यहाँ दशकौँदेखि विद्रोही गतिविधि र सुरक्षा कारबाही चल्दै आएको छ ।
भारतीय प्रशासनविरुद्ध सक्रिय विभिन्न सशस्त्र समूहसँग भएको द्वन्द्वमा हजारौँ सैनिक, लडाकू र सर्वसाधारणको ज्यान गइसकेको छ । पछिल्ला वर्षहरूमा विद्रोही गतिविधि उल्लेखनीय रूपमा कमजोर बनाइएको भारतको दाबी छ ।
भारत र पाकिस्तानले एकअर्कामाथि विभिन्न सशस्त्र समूहलाई समर्थन गरेको आरोप लगाउने गरेका छन् । संयुक्त राष्ट्रसङ्घद्वारा आतङ्कवादी सूचीमा राखिएका केही समूहलाई लिएर पनि दुई देशबिच लामो समयदेखि आरोप–प्रत्यारोप हुँदै आएको छ ।
यद्यपि भारतीय पक्षले यस घटनासँग जोडिएको अन्सार गजवत–उल–हिन्द समूहलाई प्रत्यक्ष रूपमा पाकिस्तान समर्थित समूहका रूपमा सार्वजनिक आरोप लगाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण