जब ‘इकोलस’ अवतारमा कमेडी शोमा देखिए मेक्सम..
सारांश
- मेक्सम गौडेलले 'कमेडी नाइट्स विथ च्याम्पियन'मा निकोलस भुसालको 'इकोलस' पात्रको नक्कल गरेका छन्।
- मेक्समको इकोलस अवतारको चौतर्फी प्रशंसा भएको छ र यसका क्लिप तथा तस्बिरहरू भाइरल भएका छन्।
- मेक्समले कलाकारिताको सुरुवात स्याङ्जाबाट गरेका हुन् र उनी फिल्ममा हिरो बन्न चाहन्छन्।
काठमाडौं । निलो कोट, काँधमा हरेराम लेखेको गलबन्दी, एउटा विशिष्ट शैलीको हाँसो– यो पहिचान हो ‘निकोलस भुसाल’को ।
निकोलस भुसालको हुबहु नक्कल पात्र हो ‘इकोलस’, जसमा प्रस्तुत हुने कलाकार हुन् मेक्सम गौडेल । जब ‘कमेडी नाइट्स विथ च्याम्पियन’को पछिल्लो शृङ्खलामा मेक्सम ‘हामी गर्न सक्छौँ’ संवादसहित ‘इकोलस’ अवतारमा देखिएका छन् ।
निकोलसको हुबहु अवतार र मिमिक्री प्रस्तुत गरेको भन्दै उनको चौतर्फी प्रशंसा भइरहेको छ । फेसबुकदेख टिकटकसम्म उनको प्रस्तुतिका क्लिप र तस्बिर भाइरल छन् ।
जेनजी अभियन्ता निकोलस विशिष्ट हाँसो, फरक बोल्ने शैली र हरेक कुरा ४ प्रकारबाट वर्णन गर्ने बानीका कारण चर्चित छन् । उनको यो शैली नै मेक्समले ‘इकोलस’को रूपमा व्यङ्ग्यात्मक ढाँचामा प्रस्तुत गरेका थिए ।
शो अगाडि प्रोमो सार्वजनिक भएको थियो, जसमा उनको इकोलस गेटअपको सानो प्रस्तुति थियो । त्यसकै आधारमा उक्त शृङ्खलालाई दर्शकले प्रतीक्षा गरिरहेका थिए । उक्त शृङ्खला प्रसारण भएपछि मेक्समलाई दर्शकको माया र प्रतिक्रियाको बाढी नै लागेको छ ।
मेक्समको ‘इकोलस’ अवतार रहेको शोमा निकोलस आफैँ गेस्ट बनेर सहभागी थिए । ‘मैले ब्याकस्टेजमा गेटअपमै नभएको बेला उहाँसँग सामान्य हालखबर साटेको थिएँ’, मेक्सम भन्छन्, ‘तर जब म इकोलस बनेर मञ्चमा उत्रिएँ, उहाँ छक्क पर्नुभयो । उहाँले आफ्नो क्यारेक्टरलाई यति गहिराइमा पुगेर कसैले उतार्ला भन्ने सोच्नुभएको रहेनछ ।’
मेक्समको यो क्यारिकेचर यति प्रभावशाली बन्यो कि कतिपयले त मेक्समको प्रस्तुति हेरेपछि मात्र वास्तविक निकोलस भुसाललाई चिन्न थाले ।
‘निकोलसजी आफैँले मलाई भन्नुभयो । धेरैले मलाई भेट्दा पहिले तपाईंको क्यारेक्टर (इकोलस) हेरेरमात्र मलाई चिनेको बताउँछन्’, मेक्समले निकोलसको शब्द दोहोर्याए । निकोलसले आफ्नो कामको प्रशंसा समेत गरेको उनको भनाइ छ ।

मेक्सममा ‘इकोलस’ पात्रको सोच पहिलो पटक निकोलस भुसालको माइतीघरको भिडियो भाइरल भएपछि आएको थियो । त्यो समय उनले सुरुमा हाँसोमात्र नक्कल गरेका थिएँ, जसलाई साथीहरूले निकै मन पराएर तारिफ गरेको उनको भनाइ छ । त्यसपछि स्वर, हिँडाइ र हातको हाउभाउमा मेहनत गरेको उनले बताए ।
‘त्यतिबेला देशमा पार्टी दर्ता र चुनावी माहौल थियो । त्यो समय एउटा परिस्थिति परिकल्पना गरे,’ निकोलस भुसाल र दुर्गा प्रसाईंको भेट भयो भने के होला ?’, उनले भने, ‘सुमन कोइरालालाई दुर्गा प्रसाईंको अवतारमा उतार्दै दिएको ‘प्रसाईं र इकोलस’को प्रस्तुतिले सामाजिक सञ्जालमा तहल्का मच्चायो ।’
अहिलेको चरित्रमा ‘चार कुरा’ भन्ने चर्चित थेगो र अलि चर्को स्वरलाई पनि समेटेको बताएका मेक्सम यो एउटा क्यारेक्टरबाट पहिलेभन्दा बढी चर्चा मिलेको बताउँछन् । यो क्यारेक्टर तयार गर्न करिब डेढ महिना समय लागेको उनको भनाइ छ ।
मेक्सम केवल निकोलसको नक्कलमा मात्र सीमित छैनन् । उनले अग्रज कलाकारहरू राजाराम पौडेल र प्रकाश घिमिरेको पनि सशक्त क्यारिकेचर गर्दै आएका छन् । शोमा उनले समाजको प्रतिनिधित्व गर्ने ‘बुराज’ सिरिजदेखि लिएर महिला पात्र ‘विष्णुमाया गौडेल’ (गौडेलनी माइजु) सम्मको क्यारेक्टर निर्वाह गरेका छन् ।
शोमा सधैँ युनिक (अनौठो) र कसैले नगरेको क्यारेक्टर गर्न रुचाउने मेक्समको गत वर्षको तीज विशेष कार्यक्रममा प्रस्तुत ‘गौडेलनी माइजु’ अवतार पनि धेरै चर्चित छ । महिलाको गेटअपसहित प्रस्तुत भएको उनको अवतारमा त धेरैले उनलाई चिन्नै सकेनन् । शारीरिक बनावट, फेसियल एक्सप्रेसन र हिँडाइलाई पात्र अनुसार ढाल्न सक्ने उनको खुबीको सधैँ प्रशंसा समेत हुँदै आएको छ ।
सानैदेखि कमेडी
मेक्सममा कलाकारिताको बिउ स्याङ्जाको माटोमा सानैमा रोपिएको थियो । कक्षा ६ मा पढ्दा उनले पहिलो पटक कलाकार शिवहरि पौडेलको एउटा प्यारोडी गीतमा नृत्य गरेका थिए । जुँगा–दारीका रूपमा रङ दलेर गरिएको त्यो नृत्यले उनलाई शिक्षकबाट पुरस्कार मात्र दिलाएन, कलाकार बन्ने भोक पनि जगाइदियो ।
त्यसपछि उनी विभिन्न प्यारोडी र क्यारिकेचरबाट साथीभाइ हँसाउन थाले । एकपटक साथीहरूको उत्साहटमा शिक्षकहरूको क्यारिकेचर गर्दै शिक्षकले भेटेको उनले बताए ।
‘साथीहरूले धेरै कर गरेपछि शिक्षक गोपाल पौडेलको नक्कल गर्दागर्दै सर ढोकामा आएको पत्तै पाइनँ’, उनले भने ‘म त अब रामधुलाई खाने भएँ भनेर डराएको थिएँ, तर सरले उल्टै प्रोत्साहन गर्नुभयो ।’
त्यसपछि हौसिएका उनी हरिवंश आचार्यको ‘हरिबहादुर’को नक्कल गर्दै रेडियो आँधीखोलाको बाल कार्यक्रमदेखि वालिङ टेलिभिजनसम्म छाउन पुगे ।
कलाकारितामा जम्नुअघि उनी स्याङ्जामा एउटा बीमा कम्पनीको ब्राञ्च म्यानेजर (शाखा प्रबन्धक) का रूपमा पनि कार्यरत थिए । एकातिर सुरक्षित भविष्य र राम्रो तलबको जागिर थियो भने अर्कोतिर कलाकार बन्ने अधुरो सपना ।
जब ‘कमेडी च्याम्पियन सिजन–१’ को घोषणा भयो, मेक्समले जागिरकै ड्रेसमा अडिसन भिडियो पठाए र छनोट भए । शोका लागि फोन आएपछि उनी जागिरबाट राजीनामा दिएर काठमाडौँ हानिए ।

‘म कहाँसम्म पुग्छु थाहा थिएन, तर काठमाडौँबाट फोन आयो भन्नेबित्तिकै म यति उत्साहित भएँ कि राजीनामा पत्र बुझाइहालेँ’, उनले भने, ‘त्यो बेला गल्ती गरेँ कि भन्ने थियो । अहिलेचाहिँ सही निर्णय गरेछु भन्ने लाग्छ ।’
मेक्समका लागि कमेडी केवल हँसाउने माध्यममात्र होइन, उनी यसलाई एउटा ‘औषधि’ मान्छन् । ‘मान्छेको बोरिङ जिन्दगी र तनावबाट मुक्ति पाउने एउटा अस्त्र नै कमेडी हो’, उनले भने, ‘स्याङ्जाली लवजमा भन्नुपर्दा खित्का छोड्ने वातावरण बनाउनु नै कमेडी हो ।’
पछिल्लो समय कमेडी क्षेत्रले ठुलो फट्को मारेको उनले अनुभव गरेका छन् । विदेशका स्टेज शोदेखि फिल्मसम्म कमेडियनहरूको उपस्थिति बढ्दै गएकोमा उनी खुसी छन् । ‘अहिले त यसैलाई ढुक्कसँग करियर बनाउन सकिनेमा अवस्था छ,’ उनले भने ।
हिरो बन्ने सपना
कमेडी मञ्चबाट सबैलाई हँसाउने मेक्समको सपना केवल हँसाउनुमा मात्र सीमित छैन । उनी ठुलो पर्दा (फिल्म) मा हिरोको रूपमा पनि चिनिन चाहन्छन् । त्यसैका लागि केही अगाडि ‘फेरि रेशम फिरीरी’बाट फिल्म डेब्यु गरेका उनले दोस्रो फिल्म ‘मालती मङ्गले’मा अभिनय गरिसकेका छन् ।

गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको फिल्ममा उनी ‘हरि’ नामको पात्रमा देखिएका छन्, जो फिल्मका हिरो विजय बरालको मिल्ने साथी हो । फिल्म अभिनयबाट राम्रो प्रतिक्रिया पाइरहेको उनले बताए ।
‘मेरो लागि फिल्म भनेको सबै कलाको जड हो,’ मेक्समले भने, ‘साहित्य, सङ्गीत, नृत्य र अभिनय सबै मिसिने ठाउँ नै फिल्म हो ।’
आफूलाई अहिले हिरो नै हुनुपर्छ भन्ने नलागेको बताउने उनी कथाले मागेको र दर्शकले सम्झिरहने सशक्त चरित्र निर्वाह गर्न सधैँ तयार रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण