सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रोस्टर तयार गर्नेबारे संस्कृति मन्त्रालयको स्पष्टीकरण : नियुक्ति प्रक्रियालाई राजनीतिक भागबण्डाबाट टाढा राखिनेछ

विचारधारा जे भए पनि सिर्जनात्मक योगदानलाई सम्मान गरिने
आइतबार, ०३ जेठ २०८३, १३ : ३३
आइतबार, ०३ जेठ २०८३

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका विभिन्न संस्थाहरूको सञ्चालक समितिहरूमा रहेका रिक्त पदहरूको पदपूर्ति प्रक्रियासँग सम्बन्धित रोस्टर (सूचीकरण) तयार गर्ने प्रयासबारे सार्वजनिक रूपमा विभिन्न जिज्ञासा, आशंका र धारणाहरू आएपछि मन्त्रालयले स्पष्टीकरण तथा जानकारी सार्वजनिक गरेको छ। 

मन्त्रालयले यो प्रक्रिया नियुक्तिका लागि आवेदन माग गरिएको नभई केवल रोस्टर वा सम्भावित व्यक्तिहरूको सूची निर्माण गर्ने संस्थागत अभ्यास मात्र भएको प्रष्ट पारेको हो। 

विश्वका धेरै देशहरूमा कला, साहित्य र संस्कृतिसम्बद्ध प्रतिष्ठानहरूमा सदस्य चयन गर्ने परम्परा सामान्य प्रशासनिक भर्तीभन्दा फरक हुने र सहकर्मी विद्वानहरूको सिफारिस एवं योगदानको मूल्याङ्कनका आधारमा प्राय चयनहरू गरिने मन्त्रालयले उल्लेख गरेको छ। योगदान, प्रतिष्ठा र सहकर्मीको मूल्याङ्कन नै धेरैजसो मुलुकमा हुने यस्ता नियुक्तिका प्रमुख आधार भएको र नेपालको आफ्नै इतिहासमा पनि यस्तो अभ्यास नयाँ नरहेको जानकारी दिइएको छ। 

नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना भएपछिको प्रारम्भिक चरणमा धेरै प्राज्ञहरू सरकारी विज्ञापनबाट नभई सिर्जनात्मक योगदानको पहिचानका आधारमा आमन्त्रण गरिएको इतिहास रहेको भन्दै राष्ट्रले प्रतिभालाई खोज्ने परम्परा पहिले पनि भएको र अझै पनि रहेको स्पष्ट पारिएको छ। मन्त्रालयका अनुसार धेरै सर्जक, अनुसन्धानकर्ता र संस्कृतिकर्मीहरू प्रचारभन्दा काममा विश्वास गर्ने भएकाले राज्यको दृष्टि सीमित हुन सक्छ भन्ने स्वीकार गर्दै नजरमा नपरेका यस्ता गुमनाम प्रतिभाहरू पहिचानमा आउन् भन्ने चाहनाले रोस्टर बनाउन खोजिएको हो। 

यो आवेदन नभएर सूचीकरण मात्र भएकाले आफ्नो मात्र नभई आफूभन्दा योग्य लागेका अन्य व्यक्तिहरूको नाम पनि सिफारिस गर्न सकिने र यसलाई प्रतिभा खोज्ने सामूहिक अभ्यास भनिएको छ। रोस्टर अनिवार्य मापदण्ड नभएकाले यसमा नपरेका व्यक्तिहरू पनि नियुक्त हुन सक्ने र यसले कुनै ढोका बन्द नगर्ने मन्त्रालयले जनाएको छ। 

पछिल्ला केही वर्षका नियुक्तिहरूमा प्राज्ञिक योगदान नभएका र सिर्जनात्मक वजन बनाएका तर दलको झण्डा बोकेकै कारणले मात्रै प्राज्ञ भएका केही व्यक्तिहरूको बारेमा असन्तुष्ट जनआवाज सुनिएको सन्दर्भ जोड्दै मन्त्रालयले यसपटक अन्तिम सिफारिस अलग्गै प्रक्रिया मार्फत हुने स्पष्ट पारेको छ। यसपटक विज्ञहरू सम्मिलित, अति गोप्य तर स्वतन्त्र मूल्याङ्कन समितिले सुझाएको सूचीबाट योगदान, योग्यता, इमान्दारी र कार्यक्षमताको आधारमा नियुक्तिको आमन्त्रण गरिने मन्त्रालयको भनाइ छ।

मन्त्रालयले यदि यसभन्दा सिर्जनात्मक, सम्मानजनक वा अझ राम्रो नियुक्ति प्रणाली भएमा प्रक्रियामा सुधार गर्न पूर्ण रूपमा तयार रहेको भन्दै सुझावका लागि ढोका खुला रहेको उल्लेख गरेको छ। यस पटकको नियुक्तिमा सर्जकको झुकाव कुन पार्टीतिर थियो भनेर खोजीनिती नगरी वहाँको सिर्जनशीलताका आधारमा राजनीतिक भागबण्डाबाट टाढा रहने प्रयास गरिने मन्त्रालयले स्पष्ट पारेको छ। 

विचारधारा जे भए पनि सिर्जनात्मक योगदानलाई सम्मान गरिने र राजनीतिलाई सिर्जनात्मक नियुक्तिको माध्यम बनाउने अभ्यासलाई निरन्तरता नदिइने प्रतिबद्धता जनाइएको छ। प्राज्ञ पद राष्ट्रको सम्मान भए पनि त्यहाँ पुगेर काम नै गर्नुपर्ने र योजनाबद्ध कामबिना प्राज्ञिक तथा सिर्जनात्मक विकास सम्भव नहुने भएकाले यस पटकको नियुक्तिका लागि स्पष्ट दृष्टि, योजना र संस्थागत क्षमतालाई पनि मुख्य आधार बनाइने मन्त्रालयले जानकारी गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप