सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन

सोमबार, २५ जेठ २०८३, २० : ४०
सोमबार, २५ जेठ २०८३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन आगामी जेठ २९ गते हुने भएको छ ।

अहिले विधानमा रहेको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विषय विवाद भएको थियो । धेरैले वरिष्ठ उपाध्यक्ष हटाएर सिधै अध्यक्षको चुनाव गर्नुपर्ने माग गरिरहेका छन् । त्यस्तै इप्पानको कार्यसमितिका आउन समेत कठिन प्रावधान राखिएको गुनासो थियो। 

तर उक्त अडानबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार उत्तम लामा ब्लोनले सहमति जनाएसँगै अहिले यो विवाद अन्त्य भएको छ। 

इप्पानका अनुसार तत्कालका लागि विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने छन् । तर अर्को अधिवेशनमा भने उक्त व्यवस्था हटाएर निर्वाचन लड्नु पर्ने व्यवस्था गरिएको इप्पानले जनाएको छ ।

वरिष्ठ उपाध्यक्षका उम्मेदवार लामाले लामो विवाद भन्दा पनि समाधान गरेर जानु पर्ने भन्दै अडानबाट पछि हटेको बताए। उनले अब यो कार्यकालमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने तर अर्को कार्यकालमा लागि प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने विषयमा सहमति भएसँगै अब इप्पानमा कुनै विवाद नरहेको बताए।

उनले भने,‘ इप्पानमा अब विधानको विवाद अन्त्य भएको छ । अध्यक्ष बाहेक सबै पदमा निर्वाचन मार्फत हुन्छ । अर्को कार्यकालको लागि अध्यक्षमा पनि निर्वाचन हुने गरी विधान संशोधन गरिएको छ।’

इप्पानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः तीन वर्षे कार्यकालका लागि अध्यक्ष बन्दैछन्।

सोमवार इप्पानका अध्यक्ष गणेश कार्कीले संस्थाको विधानका विषयमा अनावश्यक हावा फैलाएको भन्दै भर्त्सना गरेका छन्। अधिवेशनको केही दिन अघि मात्रै उपमहासचिव प्रकाश दुलालले सार्वजनिक रूपमै इप्पानको विधान गायब भएको र विधान विपरीत साधारणसभा आयोजना गर्न लागिएको आरोप लगाएका थिए। 

यसको जवाफमा अध्यक्ष कार्कीले एक विज्ञप्ति जारी गर्दै दुलालका आरोपहरूलाई अर्गल र कपोलकल्पित भन्दै त्यसको खण्डन गरेका हुन्।

उनले विधान मस्यौदाबारे सरोकारवाला (छलफलका क्रममा औपचारिक रूपमा १५ जना) ले दिएका सुझावसहितको भानुभक्त पोखरेल संयोजकत्वको समितिको प्रतिवेदन इप्पान सचिवालयमै सुरक्षित रहेको कार्कीले प्रस्ट पारेका छन्। 

इप्पानले  गत जेठ २५ गते सम्पन्न २०३ औँ कार्यसमिति बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विद्यमान व्यवस्थालाई अन्त्य गर्ने निर्णय गरेको छ । 

अब विधान संशोधन भएपश्चात् कार्यसमितिमा एक कार्यकाल काम गरिसकेका योग्य व्यक्तिले अध्यक्षमा उम्मेदवारी दिन पाउने र अन्य सबै पदमा खुला रूपमा प्रतिस्पर्धा गर्न पाउने गरी साधारणसभामा प्रस्ताव लैजाने निर्णय भएको अध्यक्ष कार्कीले जानकारी दिए । 

महासङ्घ बन्न नसकेपछि पुरानै विधान अनुसार अधिवेशन

विज्ञप्तिमा इप्पानलाई महासङ्घमा रूपान्तरण गर्ने विषयको पृष्ठभूमि पनि खुलाइएको छ । २०८० जेठ ३२ गते सम्पन्न २१औँ साधारणसभाले भानुभक्त पोखरेलको संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुनर्लेखन समिति गठन गरेको थियो। 

उक्त समितिले इप्पानलाई महासङ्घ बनाउने मस्यौदा पेस गरेपछि २०८२ असार ३१ को २३औँ साधारणसभाले त्यसको कार्यान्वयनको अख्तियारी अध्यक्षलाई दिएको थियो । 

तर, तत्काल संस्थालाई महासङ्घ बनाउन नसकिने परिस्थिति बनेपछि गत वैशाख ४ गते सम्पन्न २००औँ कार्यसमिति बैठकले इप्पानको विधान २०७८ अनुसार नै २४औँ साधारणसभा तथा आठौँ अधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। 

हाल ७०० भन्दा बढी कम्पनी सदस्य रहेको इप्पानको साधारणसभा र अधिवेशनलाई वैधानिक रूपमा सम्पन्न गर्न गत जेठ ९ र १० गते नै सार्वजनिक सूचना प्रकाशित गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप