गायिका शाकिराले जितिन् मुद्दा : स्पेनको अदालतद्वारा ५ करोड ५० लाख युरो फिर्ता गर्न आदेश
सारांश
- स्पेनको एक अदालतले कर सम्बन्धी विवादमा गलत तरिकाले सङ्कलन गरिएको ५ करोड ५० लाख युरो फिर्ता गर्न आदेश दिएको छ।
- अदालतले कोलम्बियन गायिका शाकिरालाई कर ठगीको आरोपबाट सफाइ दिँदै ट्रेजरीलाई सो रकम ब्याजसहित फिर्ता गर्न आदेश दिएको छ।
- कर कार्यालयले यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने जनाएको छ।
मड्रिड । स्पेनको एक अदालतले त्यहाँको कर प्रशासनलाई प्रसिद्ध गायिका शाकिराबाट असुल गरिएको ५ करोड ५० लाख युरो फिर्ता गर्न आदेश दिएको छ।
कर सम्बन्धी विवादमा उक्त रकम गलत तरिकाले सङ्कलन गरिएको ठहर गर्दै राष्ट्रिय उच्च अदालतले कोलम्बियन गायिका शाकिरालाई कर ठगीको आरोपबाट सफाइ दिएको हो।
अदालतले ट्रेजरीलाई सो रकम ब्याजसहित शाकिरालाई फिर्ता गर्न आदेश दिएको छ। कर अधिकारीहरूले सन् २०११ मा शाकिराले स्पेनमा १८३ दिन बिताएको प्रमाणित गर्न नसकेपछि अदालतले यो फैसला सुनाएको हो। स्पेनमा व्यक्तिगत आयकर तिर्नका लागि त्यहाँको बासिन्दा हुन कम्तीमा १८३ दिन बसेको हुनुपर्ने कानुनी प्रावधान छ।
अदालतको यो फैसलापछि ४९ वर्षीया शाकिराले अदालतले अन्ततः सत्य तथ्य बाहिर ल्याएको बताएकी छिन्। उनले आफूले विगत आठ वर्षदेखि क्रूर सार्वजनिक निशाना, आफ्नो प्रतिष्ठा नष्ट गर्न रचिएका अभियानहरू र अनिँदो रातहरू भोगेको र जसले अन्ततः आफ्नो स्वास्थ्य र परिवारको भलाईमा असर पारेको उल्लेख गरेकी छिन्।
कर कार्यालयले फिर्ता गर्नुपर्ने रकममा करिब २ करोड ४० लाख युरो आयकर र अधिकारीहरूले ‘अति गम्भीर’ उल्लङ्घन भनी लगाएको झन्डै २ करोड ५० लाख युरो जरिवाना समावेश छ। यता कर एजेन्सीले भने यो फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने र अन्तिम फैसला नआएसम्म कुनै पनि रकम भुक्तानी नगर्ने जनाएको छ।
‘हिप्स डन्ट लाइ’ र ‘वेरएभर, वेनएभर’ जस्ता चर्चित गीतकी गायिका शाकिरा सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकपको आधिकारिक गीत ‘वाका वाका’को म्युजिक भिडियो सुटिङका क्रममा भेटिएपछि पूर्व बार्सिलोना तथा स्पेनका फुटबलर जेरार्ड पिकेसँग एक दशकभन्दा बढी समय सँगै बसेकी थिइन्।
उच्च अदालतले कर कार्यालयले सन् २०११ को आर्थिक वर्षका लागि स्पेन नै उनको कर निवास थियो भन्ने अनुमानमा आधारित रहेको, जुन तथ्य प्रमाणित हुन नसकेको बताएको छ। अदालतका अनुसार गायिकाले उक्त आर्थिक वर्षमा स्पेनमा १६३ दिन मात्र बिताएकी थिइन्, जुन कर प्रयोजनका लागि बासिन्दा मानिने न्यूनतम सीमाभन्दा २० दिन कम हो। यो मुद्दामा सन् २०११ पछिका वर्षहरू समावेश छैनन्।
स्पेनको कर एजेन्सीले शाकिरा विरुद्ध चलाएका धेरै मुद्दाहरूमध्ये यो एउटा मुद्दा हो। यसअघि सन् २०२३ मा उनीमाथि मुद्दा चल्न लागेकै समयमा सन् २०१२ देखि २०१४ सम्मको अवधि समेटिएको अर्को कर ठगी मुद्दा सल्टाउन उनी स्पेनका सरकारी वकिलहरूसँग सम्झौता गर्न सहमत भएकी थिइन्।
कुनै पनि गलत काम नगरेको दाबी गरे पनि सो सम्झौता अन्तर्गत शाकिराले छ वटा आरोपहरू स्वीकार गर्दै ७५ लाख युरो जरिवाना तिरेकी थिइन्। यदि उनी दोषी ठहरिएको भए सरकारी वकिलहरूले उनलाई आठ वर्षको जेल सजाय र २ करोड ३८ लाख युरो जरिवाना गराउन चाहेका थिए। त्यतिबेला उनले आफ्ना बच्चाहरूको हितलाई ध्यानमा राखेर सो मुद्दा सल्टाएको बताएकी थिइन्।
यसैगरी सन् २०२४ मा पनि एक स्पेनिस अदालतले पर्याप्त प्रमाणको अभावमा सन् २०१८ को कर भुक्तानी सम्बन्धी उनीमाथिको अनुसन्धान बन्द गरेको थियो। यो पछिल्लो फैसला यस्तो समयमा आएको छ, जब शाकिरा आगामी सेप्टेम्बरदेखि मड्रिडमा आफ्नो ‘विमेन डन्ट क्राई एनीमोर’ विश्व भ्रमणको समापन गर्ने तयारीमा छिन्।
गत हप्ता मात्र सार्वजनिक गरिएको घोषणा अनुसार उनले यसै समरमा हुने फिफा पुरुष विश्वकप फाइनलको हाफ-टाइम शोमा मडोना र बीटीएससँगै प्रस्तुति दिनेछिन्।
यसै महिनाको सुरुमा रियो दि जेनेरियोको कोपाकाबाना बीचमा आयोजित शाकिराको एक नि:शुल्क कन्सर्टमा २० लाख मानिसहरू सहभागी भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण