शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

शून्य समय क्यामेरामा रेकर्ड गर्न मात्रै हो भने बन्द गरियोस् : सांसद खरेल

मङ्गलबार, ०५ जेठ २०८३, १२ : ५०
मङ्गलबार, ०५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले शून्य समयमा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाएका छन् ।
  • सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुम्बासीको जग्गा सम्बन्धी समस्या जस्ता विषयमा पटकपटक कुरा उठाउँदा पनि सरकारले सुनुवाइ नगरेको बताए ।
  • उनले शून्य समय केवल क्यामेरामा रेकर्ड गर्नका लागि मात्रै हो भने बन्द गरिनुपर्ने वा उठाइएका विषयमा तत्काल कार्यान्वयनको प्रक्रियामा लैजान माग गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले प्रतिनिधि सभाको ‘शून्य समय’ मा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले लगातार बेवास्ता गरेको भन्दै तीव्र आपत्ति जनाएका छन् । 

सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआउने हो भने शून्य समयको कुनै औचित्य नरहने उनको तर्क छ ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खरेलले तामाकोसी आयोजनाको छानबिन र भेडपुका सुकुम्बासीको जग्गा सम्बन्धी समस्या लगायतका गम्भीर विषयमा आफूले पटक–पटक कुरा उठाउँदा पनि सरकारले अहिलेसम्म कुनै सुनुवाइ नगरेको बताए । वर्षायाम सुरु हुन लाग्दा समेत पीडितका समस्या समाधान गर्नेतर्फ सरकारको ध्यान नगएकोमा उनले कडा असन्तुष्टि व्यक्त गरेका छन् । 

शून्य समयमा उठेका कुराहरू केवल क्यामेराले खिचेर रेकर्ड गर्नका लागि मात्रै हो कि वास्तवमा कार्यान्वयनमा ल्याउन पनि हो भन्दै उनले सरकारसामु प्रश्न गरे । उनले आक्रोश पोख्दै भने, ‘यदि क्यामेरामा रेकर्ड मात्र गर्ने र सुनुवाइ नगर्ने हो भने यो शून्य समय बन्द गरियोस् । होइन भने, यहाँ उठाइएका विषयहरूलाई सम्बोधन गर्न एक शक्तिशाली आयोग वा समिति गठन गरेर तत्काल कार्यान्वयनको प्रक्रियामा लगियोस् ।’

सदनमा सांसदहरूले उठाएका जायज मागप्रति सरकार अनुत्तरदायी बन्दा यसअघि रास्वपाकै अर्का सांसद हरि ढकालले ‘मौन धारण’ गरेर अनोठो तरिकाले विरोध जनाउनु परेको प्रसङ्ग खरेलले उल्लेख गरे । उनले संसद्‌मा पुनः त्यस्तो परिस्थिति सिर्जना हुन नदिन सरकारलाई समयमै सचेत गराएका छन् । 

जनसरोकारका मुद्दाहरूमा सरकारलाई जिम्मेवार र गम्भीर बन्न आग्रह गर्दै उनले सदनको गरिमा कायम राख्नका लागि सरकारको विशेष ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप